कानून विपरीत जेनजी घाइतेलाई एमबीबीएस सिट, चौतर्फी विरोध
चिकित्सा शिक्षा आयोगले कानून विपरित निर्णय गर्दै एमबीबीएस अध्ययनका लागि अतिरिक्त एक सिट छुट्याएको छ ।
बुधबार बसेको आयोगको २४ औँ पूर्ण बैठकले एक जना जेनजी घाइतेका लागि भन्दै चिकित्सा शिक्षा ऐन-२०७५ विपरीत एमबीबीएस अध्ययन गर्न दिने निर्णय गरेको हो ।
बैठकले जेनजी आन्दोलनकी घाइते भनिएकी एकता शाहलाई चिकित्सा शिक्षा ऐन-२०७५ विपरीत एमबीबीएस अध्ययन गर्न दिने सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णयलाई अनुमोदन गरेको हो।
सुनसरीस्थित बर्जू गाउँपालिका-६ घर भएकी शाह भक्तपुर बस्दै आउनुभएको छ । उहाँ भदौ २३ गतेको जेनजी आन्दोलनमा सहभागी हुँदा खुट्टामा गोली लागि घाइते हुनुभएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार शिक्षण संस्थामा सिट संख्या निर्धारण गर्ने अधिकार आयोगलाई मात्रै छ । ऐनको दफा १७ मा आयोगले प्रत्येक वर्ष तोकिएबमोजिम मापदण्डका आधारमा विश्वविद्यालय, प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका लागि निश्चित सिट संख्या तोक्नेछ व्यवस्था गरिएको छ।
त्यसैगरी दफा १७ को उपदफा (३) मा ‘विश्वविद्यालय, प्रतिष्ठान वा अन्य शिक्षण संस्थाले प्रवेश परीक्षाबाट छनोट भएका विद्यार्थीलाई म्याचिङ प्रणालीअनुरूप भर्ना गर्नुपर्ने’ उल्लेख छ ।
शैक्षिक सत्र २०८२- ८३ का लागि साउन २९ गते साउनमा आयोगले २ हजार ६३५ सिट विभिन्न शिक्षण संस्थामा बाँडफाँट गरिसकेको छ । आयोगको यो निर्णयको चौतर्फी विरोध भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत