गुप्तांगलाई जीवाणुरहित बनाउनु पर्दैन र हुँदैन पनि
झन्डै एक महिनाअघि एक पत्रकारले मलाई फोन गरिन् र सोधिन्, ‘मेरो गुप्तांगमा चिलाउँछ, रातो छ के गर्ने होला ? कुन स्त्रीरोग विशेषज्ञकहाँ जाने होला ?’ मैले उनको जीवनशैलीको बारेमा सोधेँ । उनी धेरै चिनी हालेको पेयपदार्थ र पत्रु खाना त दिनदिनै खाने रहिछन् । त्यसैगरी उनी अनेक किसिमका साबुन र क्रिमले गुप्तांग सफा गर्दिरहिछिन्।
मैले उनलाई सल्लाह दिएँ, ‘पहिले त चिनी र पत्रु खाना खान छोड। अनेक थरिका साबुन प्रयोग नगर। साथै चिलाउने समस्या कम गर्न तीतेपाती वा नुन उमालेर मनतातो भएपछि चौडा मुख भएको लुगा धुने बाटामा थचक्क बस्नू । बिहानबेलुका यसो गरेपछि चिलाउन र दुख्न कम हुन्छ । यदि दुई दिनपछि सहज भएन भने कहाँ जचाउने भनेर सल्लाह दिऊँला।’
दुई दिनपछि उनले खुसी भएर भनिन्, ‘मेरो समस्या त नुनपानीले नै चट भयो, यसको बारेमा लेख्नुपर्छ कि क्या हो ?’
यस्तो समस्या धेरै युवतीहरूलाई हुने भए पनि उनीहरू अरुलाई भन्न लाज मान्छन् ।
अहिले भारतबाट प्रसारण हुने टेलिभिजनमा ‘महिलाहरुको लागि विशेष’ भनेर उनका गोप्य अंगहरू सफा गर्नका निम्ति केही मलमहरूको विज्ञापन आउँछ ।
वास्तवमा कुनै पनि साबुन, मलम आदिको प्रयोग गरेर ‘गुप्तांगलाई जीवाणुरहित’ बनाउनुपर्दैन, हुँदैन । सेतो पानी बग्नु महिलाको समस्या हो, सेतो पानी बगे शरीर कमजोर हुन्छ भन्ने भ्रमपूर्ण विचार धेरैले पालेको पाइन्छ । तर वास्तवमा प्रजनन अंगबाट नगन्हाउने सेतो पानी बग्नु प्राकृतिक कुरा हो । यसले प्राकृतिक रुपले नै प्रजनन अंग सफा राख्छ ।
यदि पीपजस्तो बग्न थाल्यो, गन्हाउने माछाजस्तो पानी बग्न थाल्यो, धेरै चिलायो भनेचाहिँ कुनै संक्रमण भयो कि भनेर सम्झनु र उपचार गर्नुपर्छ । सामान्य सेतो पानी बग्दा केही डराउनुपर्दैन।
महिनावारीको बेलामा यदि शारीरिक सरसफाइ भएन भने नराम्रो गन्ध आउन सक्छ । त्यसबाट बच्न पर्याप्त मात्रामा सफा पानीको प्रयोग गरेर जननेन्द्रिय पखाल्नुपर्छ । जननेन्द्रियलाई पानीले पखालेपछि नरम कपडाले पुछेर सुख्खा राख्नुपर्छ । भिजेको ठाउँमा ढुसी संक्रमण हुनसक्छ ।
यस्तो बेलामा र अन्य समयमा पनि गुप्तांगमा विभिन्न प्रकारका स्प्रे, बास्ना आउने वस्तु (डियोडोरेन्ट) आदि छर्कन हुँदैन। यस्ता वस्तुले शरीरको प्राकृतिक रसायनहरूलाई बिगार्छ । स्वस्थ र सफा राख्ने नाममा अनेक थरीका पाउडरहरूको प्रयोग गर्नु पनि उचित हुन्न।
कसै–कसैको महिनावारी सुरु हुनुभन्दा अघि सेतो स्राव बढी हुन्छ, यो सामान्य हो। कतिपय महिलाहरूले भित्री वस्त्रहरू फोहोर र सफा नगरी लगाउँदाचाहिँ संक्रमण हुनसक्छ। यसका लागि सरसफाइमा बढी ध्यान दिनुपर्छ। तर महिलाको स्वास्थ्यमा नै असर पर्ने गरी अनेक थरीका ‘इन्टिमेट वास’ अर्थात् गोप्य अंगलाई सफा गर्नुपर्ने भनेर आउने वस्तु प्रयोग गर्न जरुरी हुँदैन ।
(डा.उप्रेतीको फेसबुकबाट)
डा. अरुणा उप्रेती
तपाईँको अभिमत