महिला र पुरुषमा यस्ता हुन सक्छन् बाँझोपनको सङ्केत
महिलाहरूमा बाँझोपन तब हुन्छ जब अण्डा सही समयमा रिलिज हुँदैन वा फलोपियन ट्युब ब्लक हुन्छ। एंडोमेट्रियोसिस वा फाइब्रॉइड्स पनि कारण बन्न सक्छन्।
पुरुषहरूमा कम शुक्राणु सङ्ख्या (लो स्पर्म काउन्ट) वा कमजोर शुक्राणु कारण हुन सक्छ। टेस्टिकल्सको आकारमा परिवर्तन पनि ठूलो कारण हो।
दुवैमा उमेर बढ्नु, धूम्रपान, मदिरा सेवन, तनाव, अस्वस्थ खानपान र संक्रमणले जोखिम बढाउँछ।
यहाँ महिला र पुरुष दुवैमा देखिन सक्ने सङ्केत बारे चर्चा गरिएको छ ।
महिलाहरूमा बाँझोपनका सङ्केत
महिलाहरूमा बाँझोपनका लक्षणहरू प्रायः महिनावारी वा हर्मोनसँग सम्बन्धित हुन्छन्। यदि तपाईं बच्चा योजना बनाउँदै हुनुहुन्छ भने यी कुराहरूमा ध्यान दिनुहोस्। कहिलेकाहीँ साना समस्या जस्तो देखिए पनि पछाडि ठूलो कारण लुकेको हुन सक्छ ।
अनियमित महिनावारी : महिनावारीको चक्र सामान्यतया २८ दिनको हुन्छ, तर केही दिन अगाडि–पछि हुनु स्वाभाविक हो। यदि महिनावारी यति अनियमित हुन्छ कि अनुमान गर्न सकिँदैन भने हर्मोन असन्तुलन हुन सक्छ। PCOS जस्ता अवस्थाहरूमा अण्डा (एग्स) ठीकसँग बन्न सक्दैनन्, जसले गर्भधारण गर्न कठिन बनाउँछ। यदि तपाईंको चक्र ३५ दिनभन्दा बढी वा २१ दिनभन्दा कम छ भने डाक्टरसँग सल्लाह गर्नुहोस्।
महिनावारी नहुनु : यदि गर्भवती नभए पनि महिनौँसम्म महिनावारी नआए तनाव, तौलमा अचानक परिवर्तन वा अत्यधिक व्यायाम कारण हुन सक्छ। यो ओभुलेसन नहुनुको सङ्केत हो, अर्थात् अण्डा बन्न छाडेको अवस्था। यस्तो अवस्थामा फर्टिलिटी प्रभावित हुन्छ।
दुखाइयुक्त महिनावारी : महिनावारीमा धेरै पीडा वा अत्यधिक रगत बग्नु एंडोमेट्रियोसिसको लक्षण हुन सक्छ। यसमा गर्भाशयको आवरण बाहिर बढ्छ, जसले गर्भधारण रोक्न सक्छ।
सम्भोगका बेला पीडा : सम्भोगमा पीडा हुनु सामान्य होइन। यो एंडोमेट्रियोसिस, फाइब्रॉइड्स वा संक्रमणको सङ्केत हुन सक्छ। यी अवस्थाले शुक्राणु (स्पर्म) लाई अण्डासम्म पुग्न रोक्छन्। यदि प्रत्येक पटक असहजता महसुस हुन्छ भने डाक्टरसँग भेट्नुहोस्।
हर्मोनल परिवर्तनहरू : हर्मोनको उतार–चढावका कारण छालामा दाना (पिम्पल्स), कपाल झर्ने, तौल बढ्ने वा यौन इच्छा घट्ने जस्ता लक्षण देखिन्छन्। कहिलेकाहीँ अचानक तातो महसुस (हट फ्ल्यास) वा योनिमार्ग सुख्खा हुने पनि हुन सक्छ। यी सबै ओभरीको समस्याका सङ्केत हुन्।
पुरुषहरूमा बाँझोपनका सङ्केत
पुरुषहरूमा बाहिरी लक्षणहरू प्रायः कम देखिन्छन्, तर यौन स्वास्थ्यसँग सम्बन्धित परिवर्तनहरू चेतावनीका सङ्केत हुन सक्छन्। स्पर्मको गुणस्तर वा सङ्ख्या घट्दा समस्या आउँछ।
हर्मोनल परिवर्तन : टेस्टोस्टेरोनको मात्रा घट्दा यौन इच्छा कम हुन्छ। अचानक कपाल झर्ने पनि यसको लक्षण हुन सक्छ। यदि अत्यधिक थकान वा मूड स्विङ हुन्छ भने जाँच गर्नुहोस्।
यौन दुर्बलता : सम्भोगका बेला इरेक्शन नआउनु वा लामो समयसम्म नटिक्नु हर्मोन असन्तुलन, तनाव वा केही रोगका कारण हुन सक्छ।
स्खलनमा समस्या : स्खलनमा समस्या आउनु वा शुक्राणुको मात्रा अत्यधिक कम हुनु पनि सङ्केत हुन सक्छ। केही अवस्थामा “रेट्रोग्रेड इजेकुलेशन” हुन्छ, जसमा शुक्राणु मूत्राशय (ब्लाडर) भित्र जान्छ।
टेस्टिकल्समा परिवर्तन : टेस्टिकल्समा दुखाइ, सुजन वा गाठा आउनु संक्रमण वा वैरिकोसीलको लक्षण हुन सक्छ। आकारमा परिवर्तन पनि बाँझोपनको सङ्केत हुन सक्छ।
मोटोपन (ओभरवेट) : अधिक तौलले हर्मोन असन्तुलन ल्याउँछ, जसले शुक्राणु सङ्ख्या घटाउँछ। महिलाहरूझैँ पुरुषहरूमा पनि मोटोपनले फर्टिलिटी घटाउँछ।
(दैनिक भास्करबाट)
हेल्थपाटी
तपाईँको अभिमत