मधुमेहको प्रभावकारी व्यवस्थापन कसरी गर्ने ?
मधुमेहको प्रभावकारी व्यवस्थापनका लागि सन्तुलित आहार, नियमित व्यायाम र आवश्यक चिकित्सकीय हस्तक्षेप अपरिहार्य छन्। आहारमा, भातको मात्रा सीमित गरी ब्राउन राइस वा उसिना चामललाई प्राथमिकता दिने र धेरै कार्बसहितका आलुजस्ता खानेकुरा मिसाएर वा कम मात्रामा खाने। मोटोपन निम्त्याउने उच्च क्यालोरीयुक्त, कम पौष्टिक तत्व भएका चिनी र गुलिया खानेकुराहरूबाट बच्नुपर्छ। व्यायाम र तौल घटाउने कार्यलाई निरन्तरता दिनुपर्छ। चिकित्सकीय रूपमा, टाइप १ मधुमेहका बिरामीलाई जीवनभर इन्सुलिन चाहिन्छ, जबकि टाइप २ मधुमेहमा नियमित औषधि, सुगर चेकजाँच र मिर्गौला समस्या वा औषधिको नियन्त्रण बाहिर गएमा इन्सुलिन आवश्यक पर्न सक्छ।
मधुमेह नियन्त्रणका लागि सन्तुलित आहार, व्यायाम र उपचार पद्धति
मधुमेह (Diabetes Mellitus/मधुमेह) लाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नका लागि जीवनशैलीमा परिवर्तन (Life Style Modification) ल्याउनु अति आवश्यक छ। मधुमेहको उपचार, नियन्त्रण र रोकथामको पहिलो नम्बरको विधि भनेकै खानपान नियन्त्रण, नियमित व्यायाम र तौल सन्तुलन गर्नु हो। मधुमेह प्रभावकारी रूपमा व्यवस्थापन गर्ने केही उपायहरू यहाँ प्रस्तुत गरिएको छ :
सन्तुलित आहार (Dietary Control)
मधुमेह व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण भूमिका खानपानको रहन्छ। मधुमेहका बिरामीले खानेकुराको मात्रालाई सधैँ मोडरेसन (Moderation) मा राख्नुपर्छ। खानपानमा कार्बोहाइड्रेटको व्यवस्थापन गर्न जरुरी छ ।
भातको मात्रा: पकाएको भात (ताकेको भात) को मात्रा आफ्नो हातले यसो गर्दा जति आउँछ, एउटा खानामा कार्बोहाइड्रेटको मात्रा त्यतिमै सीमित गर्नुपर्छ।
उत्तम विकल्प: सकेसम्म सेतो भात (White Rice) को सट्टा ब्राउन राइस (Brown Rice), उसिना चामल (Parboiled Rice) वा पार्पल राइस (Purple Rice) को छनोट गर्नु राम्रो हुन्छ। यदि सेतो भात नै खान मन लागेमा त्यसको मात्रा घटाउनु पर्छ।
पेट भर्ने तरिका: कार्बोहाइड्रेटको मात्रा सीमित गरेपछि बाँकी पेट भर्नका लागि दाल, तरकारी, गेडागुडी (लेग्युम) र सलाद बढाएर खानुपर्छ।
ग्लाइसेमिक इन्डेक्स (Glycemic Index - GI): मधुमेहका बिरामीले कम ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरालाई प्राथमिकता दिनुपर्छ। प्रायजसो फलफूलहरू (साप, खर्बुजा, एकदमै पाकेको केरा जस्ता उच्च GI भएका फलफूलहरू बाहेक) कम वा मध्यम GI मा पर्ने भएकाले केही मात्रामा दिनदिनै खान मिल्छ। फाइबरयुक्त कार्बोहाइड्रेट, सातु, भुससहितको पिठो (ब्राउन आटाहरु), कोदो, फापर, मकै, च्याखला, र ढिडोलाई जटिल कार्बोहाइड्रेट (Complex Carb) मानिन्छ, जुन बिस्तारै पच्ने र रगतमा चिनीको मात्रा एकैचोटि बढेर जान नदिने भएकाले उत्तम मानिन्छ।
बच्नुपर्ने खानेकुरा: चिनी, मिठाई, कोक, फेन्टा, स्प्राइट, जुस जस्ता चिनी हालेका खानेकुराहरू (सिम्पल कार्ब) सकेसम्म नखाने वा एकदमै कम गर्ने भनिन्छ। आलु पनि चिनीसँगसँगै उच्च ग्लाइसेमिक इन्डेक्स भएको खानेकुरामा गनिन्छ। यदि आलु खाने हो भने भातको मात्रा घटाउनु पर्छ, जसले गर्दा कुल कार्बोहाइड्रेटको मात्रा उही रहोस्।
पोषण विशेषज्ञको सल्लाह: डाइटेसियनलाई भेटेर आफ्नो उचाइ र तौल अनुसार क्यालोरीको आवश्यकता हिसाब गराई कुन खाने कुरा कति ग्राममा खाने भनेर सल्लाह लिँदा राम्रो हुन्छ।
व्यायाम र तौल नियन्त्रण (Exercise and Weight Management)
नियमित व्यायाम मधुमेह नियन्त्रणका लागि महत्वपूर्ण छ।
मोटोपनको जोखिम: अत्यधिक खानाको उपलब्धता (फुड एबन्डेन्स) र व्यायामको एकदमै कमी (लो एक्सरसाइज) ले मोटोपन (Obesity) निम्त्याउँछ, र मोटोपन टाइप २ मधुमेहसँग प्रत्यक्ष जोडिएको छ।
सन्तुलित तौल: डाइबिटिजको जोखिममा रहेका वा मधुमेह भइसकेका सबै व्यक्तिले खाना नियन्त्रण गरी व्यायामको माध्यमबाट तौल घटाउनु वा सन्तुलनमा राख्नु आवश्यक छ। शारीरिक रूपमा धेरै काम गर्ने व्यक्तिलाई बढी कार्बोहाइड्रेट चाहिन्छ, तर बसेर (सेडेन्ट्री लाइफस्टाइल) काम गर्नेहरूले भातको मात्रा घटाउनु पर्छ।
चिकित्सकीय उपचार र व्यवस्थापन (Medical Intervention and Management)
मधुमेह नियन्त्रण गर्नका लागि नियमित औषधि खाने, सुगर चेक गरिरहने र डाक्टरको रेगुलर फलोअपमा जाने गर्नुपर्छ।
टाइप १ मधुमेह (Type 1 Diabetes): टाइप १ मधुमेहमा इन्सुलिनको पूर्ण कमी (Absolute Deficiency of Insulin) हुने भएकाले, यसका बिरामीहरूलाई सुरुदेखि नै जीवनभर इन्सुलिन (Lifelong Insulin) आवश्यक पर्दछ। यसमा औषधिको प्रयोग गरिँदैन।
टाइप २ मधुमेह (Type 2 Diabetes): औषधि: यो सामान्यतः वंशानुगत, मोटोपन र खराब जीवनशैलीको कारणले लाग्छ। यसको उपचारमा सुरुमा मुखबाट खाने औषधिहरू प्रयोग गरिन्छ। त्यसको असर नहुने अवस्था आएपछि मात्र इन्सुलिन (सुइको माध्यमबाट दिइने) प्रयोग गरिन्छ ।
टाइप २ मधुमेहका बिरामीलाई कुन वेला इन्सुलिन दिने ?
टाइप २ मधुमेहमा पनि इन्सुलिन आवश्यक पर्न सक्छ । इन्सुलिन दिनुपर्ने केही अवस्थाहरू यहाँ प्रस्तुत गरिएका छन् :
◦ यदि बिरामी एकदमै उच्च सुगरको मात्रा लिएर आएको छ (जस्तै खाली पेटको ब्लड सुगर २५० भन्दा माथि वा एचबीए१सी १० भन्दा माथि)।
◦ कुनै शल्यक्रिया वा हस्पिटल भर्ना हुँदा केही समयको लागि औषधि बन्द गरेर इन्सुलिन चलाउनु पर्ने अवस्थामा।
◦ मिर्गौलाको समस्या (Kidney Complication) जस्ता दीर्घकालीन जटिलताहरू देखिएमा, जहाँ अन्य औषधिहरू चलाउन मिल्दैन।
◦ लामो समयसम्म औषधि खाँदा पनि सुगर नियन्त्रण नभएमा।
मधुमेह एक दीर्घकालीन (Chronic) रोग हो, जसले लामो समयमा मानसिक समस्या (डिप्रेसन, एन्जाइटी) ल्याउन सक्छ। मधुमेहका बिरामीले औषधि, सुगर चेकजाँच र इन्सुलिन लिने कार्यलाई आफ्नो दैनिक जीवनको एक हिस्सा मान्नुपर्छ (जसरी भात खाने र पानी पिउने कार्यलाई सामान्य मानिन्छ), जसले मानसिक तनाव कम गर्न सहयोग गर्छ। औषधि, चेकजाँच र इन्सुलिनमा लाग्ने खर्च (फाइनान्सियल बर्डन) पनि मधुमेह व्यवस्थापनको एक चुनौती हो।
(मधुमेह तथा थाइराइड रोग एवम् हर्मोन विशेषज्ञ डा. सुबी खरेलसँग गरिएको कुराकानीमा आधारित)
हेल्थपाटी 
तपाईँको अभिमत