भक्तपुरमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु
११ औँ दिनमा डिस्चार्ज
भक्तपुर, ३० असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सुरु भएसँगै केन्द्रमा गरिएको कलेजो प्रत्यारोपण सफल भएपछि काठमाडौं महानगरपालिका–२५ असन निवासी गंगा श्रेष्ठ स्वस्थ भएर डिस्चार्ज गरिएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा.कल्पना कुमारी श्रेष्ठका अनुसार असार १९ गते गंगा श्रेष्ठको सफल कलेजो प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि उहाँलाई ११औँ दिन अर्थात् असार २९ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो।
श्रेष्ठलाई उहाँका देवर सञ्जय श्रेष्ठले आफ्नै कलेजोको दान गर्नुभएको थियो। अङ्गदाता सञ्जय प्रत्यारोपणपछि स्वास्थ्य अवस्था राम्रो रहेकाले असार २५ गते छैटौँ दिनमै डिस्चार्ज हुनुभएको थियो ।
हाल अङ्गदाता र प्रत्यारोपित दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको केन्द्रले जनाएको छ।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहका अनुसार प्रत्यारोपणपछिको स्वास्थ्य परीक्षणका सबै सूचक सामान्य देखिएकाले बिरामीलाई घर पठाइएको हो। उहाँको नियमित स्वास्थ्य निगरानी भने निरन्तर जारी रहनेछ।
कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमै गुणस्तरीय र जटिल प्रत्यारोपण सेवा उपलब्ध गराउने उद्देश्यअनुसार केन्द्रले सेवा विस्तार गरिरहेको बताउनुभयो। उहाँका अनुसार यसअघि केही प्राविधिक तथा जनशक्ति व्यवस्थापनका कारण रोकिएको सेवा अहिले पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
उहाँले भन्नुभयो,“नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रत्यारोपण सेवा न्यूनतम शुल्कमा उपलब्ध गराउनु केन्द्रको मुख्य लक्ष्य हो। बिरामी विदेश जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ।”
केन्द्रमा हाल कलेजो प्रत्यारोपण १५ देखि २० लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ, जुन दक्षिण एसियाका धेरै मुलुकको तुलनामा निकै कम लागत भएको केन्द्रको दाबी छ।
यसपटकको प्रत्यारोपणमा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहको नेतृत्वमा शल्यचिकित्सक, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, नर्सिङ, शल्यकक्ष व्यवस्थापन, पोषण, फिजियोथेरापी तथा समन्वय शाखाका विशेषज्ञसहित ठूलो बहुविषयगत टोली परिचालित भएको थियो।
कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहको नेतृत्वमा भएको उक्त प्रत्यारोपण कार्यमा केन्द्रका विभिन्न विभागका विज्ञ तथा स्वास्थ्यकर्मीहरूको ठूलो टोली सहभागी थियो।
प्रत्यारोपण टोलीमा शल्य चिकित्सकहरू डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा रुजेन बज्राचार्य, डा मिलन श्रेष्ठ र डा.अमित यादव सहभागी हुनुहुन्थ्यो । एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट विभागीय प्रमुख डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, रेखा श्रेष्ठ, डा.शिवसुन्दर राजचल, डा.सन्देश खाउजु र डा. रिती फुँयाल खटिनुभएको थियो ।
त्यसैगरी, रेडियोलोजी विभागबाट प्रमुख डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जी एलीन र इन्दु घिमिरे, कार्डियोलोजी विभागबाट प्रमुख डा. प्रवेश न्यौपाने र डा. सचिन लामिछाने, प्याथोलोजी विभागबाट प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे र ल्याब इन्चार्ज विन्दिरा जोशी तथा ग्यास्ट्रोइन्टेरोलोजी विभागबाट प्रमुख डा. कर्ण राजवंशी र डा. शेखर पौड्याल सहभागी हुनुहुन्थ्यो ।
निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना केसी, बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति केसी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, सीता मैयाँ अवाल, अर्पना सेन र जयन्ती ताम्राकारले नर्सिङ सेवा प्रदान गर्नुभएको थियो ।
ओटी व्यवस्थापनतर्फ अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेशराम कोजु सक्रिय थिए । यस्तै डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिस्ट शोनी शिख्वालको प्रत्यक्ष संलग्नता थियो। व्यवस्थापकीय जिम्मेवारी उपसचिव रामप्रसाद आचार्य, जयकुमार कटुवाल र शाखा अधिकृत हरिहर पोखरेलले गर्नुभएको थियो । यस्तै, प्रत्यारोपणको कोअर्डिनेसन (समन्वय) डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु र पूजा खड्काले गर्नुभएको थियो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवाको नेतृत्व गर्दै आएको छ। केन्द्रका अनुसार हालसम्म यहाँ १,६०६ वटा मिर्गौला प्रत्यारोपण र ३६ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। पछिल्लो सफल शल्यक्रियासँगै कलेजो प्रत्यारोपणको संख्या ३६ पुगेको हो।
हेल्थपाटी
तपाईँको अभिमत