स्मार्ट लकडाउन : सवारीमा जोर बिजोरदेखि पसल खोल्नेसम्म !

काठमाडौं । कोभिड –१९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा वैशाख १६ देखि शुरु भएको निषेधाज्ञा असार ७ गतेसम्म जारी रहन्छ । असार ८ गतेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेपछि लामो समयदेखि निषेधाज्ञाले काम तथा व्यवसाय बन्द हुँदा जनजीवन आत्तिरहेको अवस्थामा स्मार्ट लकडाउनबारे जनचासो बढेको छ ।
स्मार्ट लकडाउनमा के गर्न पाइन्छ के गर्न पाइँदैन भन्ने विषयमा जनचासो अत्यधिक छ तर विज्ञहरु स्मार्ट लकडाउनको अवधारणाबारे आफूहरु अनविज्ञ रहेको बताउनुहुन्छ । सिसिएमसीले स्मार्ट लकडाउन गर्ने निर्णय गरेपछि हामीले यसबारे जनस्वास्थ्य विज्ञहरुलाई सोध्यौं तर विज्ञहरु भन्छन् संसारमै नभएको स्मार्ट लकडाउनबारे आफूहरुलाई ज्ञान छैन ।
जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले स्मार्ट लकडाउन संसारमै स्थापित भएको परिभाषाभित्र नपरेकाले ठ्याक्कै यो व्यवस्थामा केके हुन्छ, आफूलाई थाहा नभएको बताउनुभयो । यद्यपी उहाँले भीड कम गर्न सरकार आफैंले यस्तो अवधारणा बनाएको र यसमा के के व्यवस्था हुने सरकारले भनेपछि मात्रै थाहा हुने बताउनुभयो ।
सिसिएमसीमा स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्वसमेत गर्नुभएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह स्मार्ट लकडाउन भीड कम गरी जनजीवन सहज बनाउन ल्याइएको अवधारणा रहेको बताउनुहुन्छ ।
उहाँका अनुसार जनस्वास्थ्यका मापदण्ड (एसएमएस) लाई कडाइका साथ पालना गरी दैनिक कार्यहरु सञ्चालन गर्ने अवधारणा स्मार्ट लकडाउन हो ।
जसमा भीड कम गर्न तथा निषेधाज्ञालाई केही खुकुलो बनाउन विभिन्न उपायहरु अबलम्वन गरिन्छ । जस्तै, सवारी साधनमा जोर बिजोर प्रणलाी लागू गर्ने, संक्रमण भएको स्थान मात्रै सील गर्ने, कम भीड हुने व्यवसाय सञ्चालन गर्ने दिइने लगायतको तयारी छ । विद्यालय, पार्टी प्यालेस, सिनेमा हल, स्विमिङ पुल लगायत भीड हुने स्थानहरु सार्वजनिक स्थान भने खुल्ने छैनन् ।
तपाईँको अभिमत