निषेधाज्ञाले संक्रमण रोक्न सकेन, तेस्रो लहर आए कसरी झेल्ने ?
महामारीप्रति सरकार गैरजिम्मेवार
काठमाडौं । नेपाल अहिले कोरोना भाइरस(कोभिड–१९) संक्रमणको दोस्रो लहरले थलिएको छ । दोस्रो लहरले भारत आक्रान्त हुनेबित्तकै नेपाल पनि उच्च जोखिममा देखिएको थियो । नेपालमा पनि दोस्रो लहरले भयावह अवस्था ल्याउन सक्ने चेतावनी विज्ञ तथा कोरोना उपचारमा संलग्न चिकित्सकहरुले दिइरहेका थिए ।
तर यस विषयमा न सरकारको ध्यान जान सक्यो, न जनताले नै बेलैमा सतर्कता अपनाउन सके। खुल्ला सिमाना रहेको छिमेकी मुलुक भारतलाई आक्रान्त बनाएको करिब १ महिनापछि मात्रै नेपालमा महामारीको दोस्रो लहर सुरु हुँदा पनि त्यस अनुसारको तयारी सरकारले गरेन ।
निषेधाज्ञाले संक्रमणलाई राम्रोसँग रोक्न नसकेको तथ्यांकले प्रष्टै देखाउँछ ।
संक्रमणले उग्ररुप लिन थालेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सरकारल निषेधाज्ञा जारी गर्यो । सुरुमा एकसाताका लागि लगाइएको निषेधाज्ञा तेस्रो सातासम्म जारी छ । त्यो कहिले अन्त्य हुन्छ भन्ने पनि अनिश्चित बनिरहेको छ । संक्रमणको चेन ब्रेक गर्न भन्दै लगाइको निषेधाज्ञा तेस्रो सातामा चलिरहँदा संक्रमण उस्तै छ । मृत्यु हुनेको संख्या उकालो लागिरहेकै छ ।
बुधबार निषेधाज्ञाको २१औँ दिनमा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भयो । संक्रमण पनि खासै घट्न सकेको छैन । यो निकै चिन्ताको विषय भएको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताइरहेका छन् ।
त्यसमा पनि भारतमा देखिएको कोरोनाको डबल र ट्रिपल म्यूटेन्टलगायत नयाँनयाँ प्रजाति फेला पर्दा अवस्था साम्य हुने नभइ थप जटिलतातिर जाने संकेत देखाइरहेको छ । यो नयाँ प्रजाति बढी संक्रामक रहेकाले घरबाट बाहिरसमेत ननिस्कन स्वास्थ्य मन्त्रालयले अपिल गरिरहेको छ ।
निषेधाज्ञाले संक्रमणलाई राम्रोसँग रोक्न नसकेको तथ्यांकले प्रष्टै देखाउँछ । काठमाडौं उपत्यका लगायत उच्च संक्रमण देखिएका स्थानमा निषेधाज्ञा लगाएको तेस्रो दिन बैशाख १८ गते पीसीआर परीक्षण गरिएको मध्ये ३९.६१ प्रतिशतको पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यो दर बढ्दै बढ्दै वैशाख २७ गतेसम्म आइपुग्दा ५१.७८ प्रतिशत पुग्यो । यो दर महामारी सुरु भएदेखिकै उच्च थियो । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको विववरण अनुसार पीसीआर गरिएकामध्ये ३८ प्रतिशतलाई पोजेटिभ देखिएको छ ।
निषेधाज्ञा या लकडाउनले भन्दापनि भाइरस सर्नसक्ने अवधिले संक्रमणको अवस्थालाई फरक पार्ने विज्ञहरु बताउँछन् । भाइरसको सर्ने अवधि १० देखि १४ दिनको देखिएकाले संक्रमण उच्च बिन्दुमा पुगेर झर्ने क्रममा रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीको भनाइ छ।
बन्द भन्दापनि सबैले स्वास्थ्यका मापदण्ड पालना गरेर परिवारसँग बस्दा पनि सचेत हुनु जरुरी रहेको डा. मरासिनीले बताउनुभयो । अब पनि बन्द रोजे जनता भोकले मर्ने भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित जनजीवन चलायमान बनाउनु पर्नेमा उहाँको जोड छ ।
निषेधाज्ञाको पूर्णपालना नहुँदा पनि संक्रमण नघटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण पौडेल बताउनुहुन्छ ।
निषेधाज्ञा कहिलेसम्मका लागि हो ? कसरी यो महामारीबाट देशले मुक्ति पाउँछ ?
उहाँका अनुसार निषेधाज्ञा ५९ प्रतिशत मात्र पालना भएकाे देखिएको छ । अरुलाई देखाउनका लागि, प्रहरीको आँखा छल्नका लागि भन्दा पनि आफैँ जोखिनका लागि भन्ने सोचेर स्वइच्छाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु अहिलेको मूल आवश्यकता रहेको डा. पौडेलको भनाइ छ ।
निषेधाज्ञा भएपनि सहरमा बाहिर निस्किँदा भीडभाड नै देखिन्छ । मुख्य सडकहरुमा निजी गाडी र मोटरसाइकलहरु बाक्लै गुडेका देखिन्छ । विभिन्न बहानामा मान्छेहरु हिडिरहेको भीडभाड गर्ने क्रम यथावत रहेको उहाँले बताउनभयो ।
मास्क लगाउनु, भौतिक दूरीलाई पालना गर्नु जस्ता सुरक्षाको पालना आफ्ना लागि नभएर अरुका लागि गर्नुपरे जस्तो ठान्नेहरुको संख्या पनि ठूलै रहेको उहाँहरुको भनाई छ ।
महामारीप्रति सरकार गैरजिम्मेवार
महामारीले देशलाई अस्तव्यस्त बनाएको १६ महिना भइसक्दा यसको क्षतिलाई कम गर्ने र उचित निकास दिने काममा सरकार एक हिसाबले असफल देखियो । तयारीका लागि लामो समय उपलब्ध हुँदा पनि जिम्मेवार ठाउँमा बस्नेहरुले बेलैमा चासो नदिँदा, अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर ज्यान गुमाउनेहरु धेरै भए । करिब ६/७ हजार संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्न पर्दा नै नेपालको स्वास्थ्य प्रणालीले धान्न सकेन ।
स्वास्थ्य मन्त्रलयकै सुझावलाई प्रधानमन्त्री आफैँले बेवास्ता गर्नुभयो । भीड बटुलेर उद्घाटन, रथयात्रा जस्ता कार्यमा उहाँ मस्त हुनभयो । सरकारमै रहेकाहरुले सभा, जुलस, भेला गरिरहे ।
संक्रमणको उच्च जोखिम देखिएका भीडभाडयुक्त क्षेत्र तथा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले बेलैमा सचेत गराएपनि माथिल्लो तहबाट त्यसमा चासो दिने काम भएन ।
अवस्था निकै जटिल भएपछि मात्रै सरकारले अर्थतन्त्रलाई तहसनहस गराउने बन्द र निषेधाज्ञालाई रोज्यो । निषेधाज्ञा लगाएर पनि संक्रमण रोक्न, संक्रमितको उपचारमा सरकारको ध्यान जान सकेन । निषेधाज्ञा लगाएर सरकारको मुख्य नेतृत्व राजनीतिक दाउपेचतिरै अल्झियो । मन्त्री प्रधानमन्त्री, तथा जिम्मेवार व्यक्तिहरु स्वास्थ्य मापदण्ड उल्लंघन गर्न उद्धत देखिए।
समयमै खोप ल्याएर क्षतिलाई रोक्ने काममा समेत सरकार असफल भयो । अब यो निषेधाज्ञा कहिलेसम्मका लागि हो ? कसरी यो महामारीबाट देशले मुक्ति पाउँछ ? भारतमा तेस्रो लहरको चर्चा छ । अहिले नै यो दुगर्ती छ । तेस्रो लहर आएमा त्यसलाई कसरी झेल्ने ? यिनै प्रश्नहरुले अहिले आम नेपालीलाई पिरोलिरहेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत