अल्जाइमर्स : जसले मष्तिष्कमा विस्तारै क्षति गराउँछ
आज सेप्टेम्बर २१ ‘डिमेन्सियाका बारेमा कुरा गरौँ’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विश्व अल्जाइमर्स दिवस मनाइँदै छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले प्रत्येक वर्ष सेप्टेम्बर महिनालाई ‘वर्ल्ड अल्जाइमर्स मन्थ’ का रूपमा विभिन्न जनचेतनामुलक कार्यक्रम मनाउने गर्दछ ।
अल्जाइमर्स बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो । स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जँचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो छ ।
अन्तर्राष्ट्रिय रूपमा विशेषगरी अमेरिकी तथ्यांकअनुसार मानिसहरूको मृत्युको कारकका रूपमा रहेका प्रमुख १० रोगमध्ये अल्जाइमर्स छैटौं स्थानमा पर्छ । अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । हरेक तीनजना स्मरण शक्तिसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ । त्यसैगरी ६५ वर्षमाथिका ५ दशमलव ४ प्रतिशत जनसंख्यामा यो रोग पाइन्छ ।
नेपालमा अल्जाइमर्सका बारेमा आम नागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरूमा समेत चेतना अत्यन्त न्यून छ, जसका कारण स्मरण शक्तिसँग सम्बन्धित यो समस्या केवल मानसिक रोगको रूपमा मात्र बुझिँदै आएको पाइन्छ ।
अल्जाइमर्स रोग एउटा दीर्घरोग हो, जसले मष्तिष्कमा विस्तारै क्षय गराउने गर्दछ । जसका कारण बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, समस्या समाधान गर्ने क्षमता र विस्तारै बोली र भाषामा पनि समस्या आउने गर्छ । बुढ्यौलीसँगै मष्तिष्कमा विभिन्न रसायनमध्ये ‘एसिटाइल कोलिन’ भन्ने रसायनको कमीले स्नायुहरूमा हुने क्षतिका कारण यो रोग लाग्ने गर्छ ।
अल्जाइमर्स रोगको मुख्य जोखिमका रूपमा मानिसको बढ्दो उमेर नै रहेको छ । ६५ वर्षको उमेरपछि यो रोग लाग्न सक्ने जोखिम हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले बढ्दै जान्छ । विभिन्न अध्ययनले देखाएअनुसार आणुवांशिकता (जेनेटिक्स) का साथसाथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटहरूले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्नसक्ने जोखिम बढाइरहेका हुन्छन् ।
सुरुआती अवस्थामा यस रोगमा बिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानका नाम बिर्संदै जाने, चीजबीजका नाम बिर्संदै जाने र तत्काल गरेका कामसमेत बिर्सने लगायतका लक्षण देखिन्छन् । त्यसपछि क्रमिक रूपमा बोली र भाषाको प्रयोगमा असहजता महसुस हुने, पहिले सहज रूपमा गरिआएका काम गर्ने तरिकासमेत भुल्दै जाने (एप्रेक्सिया), योजना बनाउने र निर्णय लिने क्षमतामा कमजोरी देखिँदै जाने र दैनिक जीवनका सबै पक्षमा असहजता र अस्पष्टता बढ्दै जाने हुन्छ ।
जब रोग बढ्दै र अन्तिम अवस्थामा पुग्छ तब अल्जाइमर्सका बिरामीले आफन्त र निकटका मानिसहरूलाई समेत विस्तारै चिन्न नसक्ने, आफ्नो वरिपरिका गतिविधिसँग समेत मतलब नहुने, विभिन्न मानसिक समस्या जस्तै चिन्ताको रोग (डिप्रेसन), शंकाको रोग (डिल्युजन र हेलुसिनेसन) देखिने, दिसापिसाब बारेको चेतनासमेत हराउँदै जाने हुन्छ र कपडामै दिसापिसाब छुट्ने समेत हुन्छ । साबिकको खाने शैलीमा अस्वाभाविक बदलाव आउने हुन्छ ।
समय बित्दै जाँदा बिरामीले खाना खाने तरिकासमेत बिर्सने गर्दछन् । जसका कारण बिरामी मात्र नभएर बिरामीको हेरचाह गर्ने निकटका व्यक्ति पनि समस्यामा पर्ने गर्दछन् । सबैभन्दा महत्वपूर्ण र बुझ्नैपर्ने कुरा के छ भने स्मरण शक्ति तथा क्षमतामा ह्रास आउने मस्तिष्कका विभिन्न किसिमका सर्ने र नसर्ने प्रकृतिका अन्य रोगमा पनि यस्तै लक्षण देखिने भएकाले विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु जरुरी हुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत