एनएमएको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण
भरतपुर । नेपाल मेडिकल एसोसिएसन ९एनएमए० को नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरिएको छ। भरतपुरमा जारी अल नेपाल मेडिकल कन्फ्रेन्स ९एनेमेकन–२०२६० अन्तर्गत आइतबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा पद हस्तान्तरण गरिएको हो।
वैशाखमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडीसहित नयाँ कार्यसमिति निर्वाचित भएको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले एनएमएले नेपालको जनस्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। चिकित्सक र बिरामी दुवैको हित सुनिश्चित हुने गरी तीनै तहका सरकारले आवश्यक नीतिगत वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।
नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजालले उपचार सेवामा प्रस्ताव गरिएको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो। उक्त व्यवस्थाले बिरामीमाथि थप आर्थिक भार पर्ने बताउँदै उहाँले चिकित्सकीय पेसालाई विशिष्टीकृत पेसाका रूपमा मान्यता दिनुपर्ने र चिकित्सकका सेवा–सुविधामा सुधार गर्नुपर्ने बताउनुभयो।
निवर्तमान अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सकका पेशागत समस्या र जनस्वास्थ्यका मुद्दाप्रति सरकार पर्याप्त संवेदनशील हुन नसकेको बताउनुभयो। चिकित्सकहरूको श्रम र योगदानको उचित मूल्याङ्कन हुनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा एनएमएका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीलाई चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। त्यसैगरी ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ चिकित्सकद्वय डा. मदनकुमार पिया र डा. ऋषिकुमार अधिकारी सम्मानित हुनुभयो।
यस्तै, ‘जेएनएमए–खड्गनन्दा मेडिकल रिसर्च अवार्ड’ डा. मेघा कोइरालालाई प्रदान गरिएको छ भने ‘एनएमए सज्जनश्याम ट्रस्ट अवार्ड’बाट डा. उमाकान्त तिवारी र डा. प्रणाम जैरू सम्मानित हुनुभएको छ।
समारोहमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्व, एनएमएका पूर्वअध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
हेल्थपाटी
तपाईँको अभिमत