'मेरो जीवनमा फिजियो थेरापी बरदान बन्यो'

दैनिकी कामको दौडधुपले सधैं व्यस्त रहने मेरो शरीर २०७० सालको माघ महिनापछि शिथिल बन्यो, जब म दुर्घटनामा परेँ। मेरो दैनिकी पहिलाको भन्दा फरक हुँदै गयो। अन्य व्यक्तिझैँ सामान्य रहेको मेरो दैनिकी असान्य हुँदै गयो। मेरो त्यो बोझिलो, अत्यासलाग्दो दैनिकीलाई फिजियो थेरापीले बदलिदियो । एक प्रकारले भन्दा मलाई पुनर्जन्म नै दियो । हरेक वर्ष मनाइने चाडपर्वको जस्तै मलाई सेप्टेम्बरमा पर्ने विश्व फिजियो थेरापी दिवसको रौनक लाग्न थाल्यो। मेरा लागि यो दिवस निकै महत्वपूर्ण र अभिन्न हुन थाल्यो।
शारीरिक कम गर्न गरिने फिजियो थेरापी मेरा लागि अति जरुरी बन्दै अहिले अभ्यस्त पनि भइसक्यो। दुर्घटनाबाट घाइते भएकी मेरो मेरुदण्डमा गम्भीर चोट लाग्यो र मेरो शरीर नचल्ने भयो। चञ्चले, फूर्तिलो मेरो शरीर एकाएक हलचल नै नगर्ने भयो र मेरो जसन्दगी फरक बाटोमा डोरियो।
जतिबेला म सामान्य अवस्थामा थिएँ, त्यतिबेलासम्म फिजियो थेरापीबारे केही पनि जानकारी थिएन। बिरामी भएमा अस्पताल गएर उपचार गर्ने भन्ने मात्रै थाहा थियो। पढेर मात्रै होइन परेर पनि धेरै कुरा सिकिन्छ भन्ने तथ्य मेरो जीवनमा पनि लागू भयो। फिजियो थेरापी मेरा लागि परेर अवलम्बन गरिएको उपचार विधि थियो र यो नभइ नहुने थियो।
नचल्ने मेरो मेरुदण्ड यही उपचार विधिबाट चल्ने भएको छ। यही उपचार अपनाएर म यताउता चल्न, हिँड्न र अफिसमा गएर कामगर्न सक्ने भएकी छु। मलाई आजभोलि फिजियो थेरापीका विधिहरु सहज र रमाइलो लाग्ने गरेको छ। अशक्त मेरो शरीरलाई चलायमान बनाएको फिजियो थेरापीले मजस्ता थुप्रै बिरामीलाई पनि सहज बनाएकै होला।
म आफू फिजियो थेरापी सेवा लिने र दिने व्यक्ति भएकाले हो या सचेतनाले, यसबारे जनमानसमा धेरै चर्चा र चासो बढ्न थालेको छ। जब म दुर्घटना परेँ तुरुन्तै अप्रेशन गरियो। अप्रेशनपछि फिजियो थेरापी गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिनुभयो। केही समय यो सेवा मैले घरबाट नै लिएँ। तर लामो समयसम्म लिनुपर्ने भएकाले पछि कहाँ जाने, कसलाई भेट्नेबारे म र मेरो परिवार अनविज्ञ थियौं। यही अनविज्ञताका कारण मैले धेरै दुख पाएँ। छिटो सुधार हुने मेरो स्वास्थ्य अवस्था ढिला सुधार भयो ।
मलाई परेको यो दुखका कारण मैले एउटा भिजन बनाएँ। फिजिया थेरापीले परिवर्तन गरेको मेरो जीवन सहज बन्दै गएकाले मैले फिजियो थेरापीबारे जानकारी दिन र सचेत गराउन म आफैंले फिजियो थेरापी सेन्टरको स्थापना गरेँ। यो सेन्टरमा सेवा लिन आउने सेवाग्राहीहरु मलाई देखेर छक्क पर्छन्। मेरो शारीरिक अपांगताको पीडामा पनि मैले गरिरहेको सेवाप्रतिको समर्पण देखेर हाम्रो दुखाई कम भयो भन्ने गर्छन् ।
एक बिरामीले भन्नुभयो–‘दुखाइले जीन्दगीमा यतिधेरै दुःख पाइयो नानी, दुःखको भारी यति गह्रुंगो बोक्न पर्यो, हिँड्दा हिँड्दै बिसाउने चौतारी नै भेटिँदैन....माइतीको हड्डी नै गलिसक्यो मेरो हेरचाह गर्दागर्दै ।’
यी हरफ लेखिरहँदा मलाई मेरै जीवनको याद आउँछ। उहाँको पीडा मैले सहजै महसुस गर्न सक्छु किनकि मैले पनि उस्तै समस्या भोगिरहेको छु। मेरै उमेरका अर्का बिरामी भन्नुहुन्छ–‘मलाई दुखाई कति ठूलो लाग्थ्यो तपाईलाई देखेर हलुंगो भयो।’
फिजियो थेरापी उपचार गर्नुपर्ने बिरामीहरुले नतिजाका लागि केही समय पर्खनुपर्छ। २–४ दिनमा नै निको भएन भनेर आत्तिनु हुँदैन। मैरै कुरा गर्दा पनि सुरुवाती दिनमा ८ घण्टासम्म फिजियोहलमा बसेर शारीरिक अभ्यास अथवा फिजियो थेरापी गर्ने गर्थेँ। म कहिले पनि हरेश खाइँन। कहिले काँही हुने स्वास्थ्य समस्याबाहेक कहिल्यै थकाइ लागेन।
जसरी एक किसानले राम्रो अन्नबाली भित्र्याउन दिनरात, घामपानी नभनी माटोमै रमाउँछ म पनि फिजियो थेरापीमा नै रमाउन थालेँ। शारीरिक कमजोरीलाई यही विधिबाट बलियो र सुधार बनाउने आशामा लागि रहेँ। विशेषज्ञहरुसँग परामर्श लिइरहन्थे।
ढाडमा गम्भिर चोट लागी काठको ठुटो जस्तो भएको मेरो शरीर विभिन्न चरण पार गर्दै आज सहायक सामग्री सहायतामा आफूले चाहेको स्थानसम्म पुग्न र हिँड्डुल गर्न सक्ने भएकी छु। दुर्घटना भएपछि ओछ्यान परेकी म चलमलाउन पनि सक्दिनथेँ।
मेरा हरेक गतिविधि सहयोगीबिना सम्भव थिएन। सहारा बनि म ओछ्यानबाट उठ्न सक्दिन थिएँ। तर अहिले म आफैँ उठ्न सक्छु, घरको काम गर्न सक्छु, अफिस जान सक्छु। फिजियो थेरापीबाट मेरो जीवन सहज भएको छ।
शारीरिक अभ्यास मेरो पहिलो प्राथमिकता हो। मेरो स्वास्थ्यमा उल्लेख्य सुधार भई सहाराबिना आफ्नो काम आफैँ गर्नसक्ने भएपछि म आजभोलि मजस्तै बिरामी देखेँ भने उनीहरुलाई सम्झाउने गर्छु, सल्लाह दिने गर्छु। बेवास्ता गर्दै हामी स्वास्थ्यलाई त्यति ख्याल गर्दैनौँ। अवस्था नाजुक नहुञ्जेलसम्म हामी स्वास्थ्य संस्था जाँदैनौँ। हाम्रो यो बानीले शरीरलाई शिथिल बनाइसकेको हुन्छ।
त्यसैले जति पनि शारीरिक दुखाई भएका व्यक्ति तथा बिरामीहरु भेट्छु उनीहरुलाई एकपटक फिजियो थरापी उपचार गर्नेकी भनेर सुझाव दिन्छु। आफ्नो कथा बताउँछु र फिजियो थेरापीको महत्व बुझाँउछु। फिजियो थेरापी यस्तो माध्यम हो जसले रोगको प्रकार हेरी अपरेशन र औषधिबिना उपचार गर्दछ र शरीरलाई स्वतस्फूर्त बनाउँछ। अत्यावश्यक औषधि खानैपर्ने रोगहरु बाहेक शारीरिक अभ्यासबाट निको हुने सम्भावना छ भने फिजियो थेरापी उत्तम विधि हो।
तपाईँको अभिमत