वीरबाट श्रम नियम र सम्झौता विपरीत नर्स निकालियो : नर्सिङ संघ
नेपाल नर्सिङ संघले वीरबाट श्रम नियम विपरीत नर्स, चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारी निकालेको ठहर गरेको छ ।
वीरबाट नर्सलाई निकालिएपछि सोबारे जाचबुँझ गर्न संघले उपाध्यक्ष रमेश सुब्बाको संयोजकत्वमा ५ सदस्यिय अध्ययन समिति गठन गरेको थियो । सदस्यहरुमा संघका सचिव प्रमिला थकाली,सदस्यहरु हरि प्रसाद कोजू, अम्बिका पौडेल, सीता केसी रहनुभएको छ ।
समितिले असोज २३ र २४ गते वीर अस्पतालको निर्देशक, इन्फेक्सन कन्ट्रोल इन्चार्ज र क्याबिनको इन्चार्ज प्रमुख नर्सिङ प्रशासकहरुसँग भेटेर स्वास्थ्यकर्मी निकालिएको सम्बन्धमा सोधबुझ गरेको थियो ।
सोधपुछका क्रममा भिसी, रजिस्ट्रार, डीन, रेक्टर र निर्देशक लगायत नर्सिङ प्रशासक एवं युनिट इन्चार्जहरुले वीरको हालको क्षमताअनुसार जनशक्ति कम रहेकै बेला बिना सूचना स्वास्थ्यकर्मी निकाल्नु मन्त्रालयको निर्णय गलत र अमानवीय रहेको बताएका सुब्बाले जानकारी दिनुभयो ।
साथै अध्ययन टोलीले नेपाल चिकित्सक संघका पदाधिकारीहरुलाई पनि भेटेको थियो । सो क्रममा स्वास्थ्यकर्मीहरु निकालिएकोप्रति चिकित्सक संघका वर्तमान अध्यक्ष र निवर्तमान अध्यक्ष एवं राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारलेसमेत असन्तुष्टी जनाउनुभएको थियो ।
बजेट अभाव भन्दै वीर अस्तपालमा कोभिड–१९ को समयमा नियुक्त गरिएका १८५ जना नर्ससहित २७६ जना कर्मचारीलाई यही असोज २१ गतेबाट लागू हुनेगरी हटाइएको थियो ।
समितिसँगको भेटमा प्रमुख नर्सिङ प्रशासककले ९६६ बेड भएको वीर अस्पतालमा ३०० नर्सिङ कर्मचारी आवस्यक रहेको बताउँदै नर्सिङ स्टाफ निकालिँदा अस्पतालको सेवामा असर परेको बताउनुभएको संयोजक सुब्बाले जानकारी दिनुभयो । हाल वीरमा २७५ नर्सिङ जनशक्ति कार्यरत छन् जुन धेरैनै कम रहेको जानकारी नर्सिङ इन्चार्जले गराउनुभएको थियो ।
संयोजक सुब्बाले बिना सूचना एक्कासी बर्खास्त गरिनु श्रम नियम विपरीत रहेको बताउनुभयो । बजेट अभावका कारण देखाउँदै स्वास्थ्यकर्मीलाई हटाइएकोमा दुख व्यक्त गर्दै उहाँले आगामी दिनमा लोक सेवाबाट पदपूर्ति गराए पनि त बजेट छुट्याउनै पर्छ उहाँले प्रश्न गर्नुभयो ।
बिना सूचना दशैंको मुखमा मौखिक रुपमा निकालिनु राज्यको कानून र पेशाको मर्यादाले पनि स्वीकार गर्न नसकिने निष्कर्ष समितिले निकालेको भन्दै निकालिएका नर्सलाई पुर्नबहाली गर्न माग गर्नुभएको छ ।
यसैबीच तत्कालिन कोभिड - १९ यूनिफाइड अस्पताल (वीर) ले २०७८ साल माघमा नियुक्ती दिँदा १३ वटा सर्तनामा गरि करार सम्झौता गरेको थियो ।
उक्त सर्तनामाको १२ नम्वर बुँदामा सम्झौतापत्रमा तोकिए बाहेकका अवस्थामा कुनै पक्षले सम्झौता भङ्ग गर्न चाहेमा कम्तिमा एक महिनाको समय दिई अर्को पक्षलाई लिखित रूपमा सूचना दिनु पर्नेछ । प्रथम पक्षलाई दोश्रो पक्षको सेवा आवश्यक नपरेमा उक्तानुसार सूचना दिई प्रथम पक्षले दोश्रो पक्षको सेवा करार खारेज गर्न सक्नेछ । भनी उल्लेख गरिएको छ ।
निकालिएका पिडीत नर्सहरु आफू अन्यायमा परेको भन्दै केही समय करार अवधि थप गरि पाउन बाँकी रहेको कोभिड भत्ता, दशैं भत्ता एवं तलव दिन माग गरिरहेका छन् ।
स्वास्थ्यकर्मी निकालिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । २३ आइसीयू बेड बन्द भएका छन् । सेवा प्रभावित भएपछि वीरका विभागीय प्रमुखहरु स्वास्थय तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई भेट्न गएका थिए । भेटमा विभागीय प्रमुखहरुले डाक्टर, नर्स एवं स्वास्थ्यकर्मी निकालिएपछि सेवा प्रभावित भएको जानकारी गराएका थिए ।
भइरहेका स्वास्थ्यकर्मीलाई बिना सूचना निकाल्नुभएका मन्त्री बस्नेतले असोज २८ गते सिनेटको बैठकमार्फत ३० जना नर्ससहित ६३ जना कर्मचारी थप्ने निर्णय गर्नुभएको छ । भइरहेका कर्मचारीलाई निकालेर यस्तो निर्णय गर्नुभएका मन्त्री बस्नेतको चौतर्फी आलोचना भइरहेको छ ।
गलत समय र सम्झौता विपरित गरिएको मन्त्री बस्नेतको निर्णयप्रति नेपाल स्वास्थ्य कर्मी तथा कर्मचारी युनियन केन्द्रीय कमिटीले विरोध जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत