करारका स्वास्थ्यकर्मी निकालिएपछि वीर अस्पतालमा २३ बेड आइसीयू बन्द (भिडियो)
कोभिड-१९ र डेंगीको समयमा राखिएका वीर अस्पतालका स्वास्थ्यकर्मी सेवामुक्त भएका छन्। करार सेवामा रहेका २७६ जना चिकित्सक, स्वास्थ्यकर्मीलाई आजैबाट निस्कासन गरिएको छ।
स्वास्थ्य मन्त्रालयले बजेट अभाव भन्दै उनीहरुको करार सेवा नथप्दा स्वास्थ्यकर्मीहरू दशैंका बेला बेरोजगार हुनुपरेको छ।
यति ठूलो जनशक्ति विदा गर्दा अस्पतालको सेवा प्रभावित हुने भएपनि बाध्यता रहेको वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेल बताउनुहुन्छ।
अहिलेसम्म काम गरेको पारिश्रमिक दिएर विदा गरिने डा.पौडेलले जानकारी दिनुभएको छ।
यस विषयमा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको भनाइ जस्ताको तस्तै:
वीर अस्पतालको नयाँ सर्जिकल भवन ५०० बेड क्षमताको छ। सरकारले एक नम्बर प्राथमिकतामा राखेर द्रुत गतिमा निर्माण सम्पन्न गरेको थियो।
यसले कोभिडको समयमा ठूलो भूमिका पनि खेल्यो। ५० बेडको आइसीयू पनि चलायौँ। जनतालाई निकै राहत मिल्यो।
कोभिड सकिएपछि हामी सेवा बिस्तार गर्नतर्फ लाग्यौँ। पहिलेको योजनाअनुसार वीर अस्पतालको सर्जिकल सेवा त्यहाँ बिस्तार गरियो।
सरकारले वीर अस्पतालको सेवाका लागि र विशेष गरी सर्जिकल भवन सञ्चालनकै लागि भनेर ८३१ थप दरबन्दी पनि स्वीकृति गर्यो।
कोभिड सकिएपछि कोभिडका बेला नियुक्त गरेका करार कर्मचारीलाई प्रयोग गरेर सर्जिकल भवन सञ्चालनमा ल्यायौँ।
यो सर्जिकल भवन सञ्चालनमा ल्याउँदा जनशक्ति अझै पुगेको थिएन। पछि लोकसेवामार्फत २४६ जना नर्सिङ जनशक्ति आएपछि सबै भवनमा, पूर्ण क्षमतामा सेवा सञ्चालनमा ल्याउन सकेका थियौँ।
अहिले करारको जनशक्ति बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुल दरबन्दी भएको कारणले गर्दा मन्त्रालयसँगको सहमतिमा मात्रै निरन्तरता दिन सक्ने अवस्था थियो।
हामीले मन्त्रालयलाई लेखि पठायौँ- कि यो जनशक्ति हुँदा अहिले भएको सेवा निरन्तरता दिन सकिन्छ।
देशको आर्थिक अवस्था राम्रो नभएकाले मन्त्रालयले थप बजेटको व्यवस्था गर्न सकेन। त्यहाँको आन्तरिक स्रोतले पुग्छ भने। यहाँहरूले गर्नुस् नत्र भने हटाउनु पर्ने भयो भनेर जवाफ आएपछि हामीले यो अप्रिय निर्णय गर्नुपर्ने भयो।
यत्रो वर्ष हामीसँग बसेर कोभिड व्यवस्थापन जस्ता जटिल सेवामा काम गर्नुयभो। त्यो जनशक्तिलाई निरन्तरता दिन सकेनौँ। एकदम दुख: लागेको छ।
२७६ जनाको जनशक्तिलाई हामीले महत्वपूर्ण सेवामा लगाएका थियौँ। विशेष गरी आकस्मिक, आइसीयू, डायलासिस, अप्रेसन सेवा जस्ता महत्वपूर्ण सेवामा उहाँहरु हुनुहुन्थ्यो।
जनशक्ति कटौती हुँदा ती सेवा निश्चय रुपमै प्रभावित भएका छन्। सेवाको नम्बर पनि घट्ने भयो। गुणस्तर पनि घट्ने निश्चित छ।
८३१ मध्ये लोकसेवाबाट २४६ नर्स र केही विशेषज्ञ चिकित्सक आउनुभएको छ। ५६६ नर्समा २४६ बाहेक अरु पोस्ट खाली छ।
पुरानो भवनमा ९ वटा अप्रेसन थियटरबाट सेवा भइरहेको थियो। अहिले नयाँ भवनपछि १५ वटा अप्रेसन थियटर सञ्चालनमा आएको थियो।
विशेष गरी युरोजोली र ग्यास्ट्रो सर्जरीमा धेरै चाप भएकाले करारका जनशक्ति ती सेवामा लगाइएको थियो। ती सेवाहरु प्रभावित हुने भएका छन्।
हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण गर्ने भन्ने थियो। ग्यास्ट्रो सर्जरी, युरो सर्जरी र मिर्गौला प्रत्यारोप धेरै प्रभावित भएको छ।
वीर अस्पताल सबैभन्दा बढी न्यूरो सर्जरी हुने ठाउँ हो। न्यूरोको सर्जिकलमा एउटा टिममा १४ जना थियो त्यसमा ६ जनाले छाड्नुभयो सेवा त प्रभावित हुने नै भयो। यो एउटा उदाहरण मात्रै हो।
विभागीय प्रमुख, उपकुलपतिसहितका पदाधिकारी बसेर यसबारे आजै मात्र छलफल गरेका थियौँ। सकेसम्म सेवामा कसरी कम भन्दा कम हानी होस् भनेर प्रयास गरिरहेका छौँ।
थपिएका केही वार्ड खुम्च्याएर भएपनि मुख्य सेवा प्रभावित नहुने कसरी बनाउने भन्नेमा लागेका छौँ।
५९ बेडको आइसीयू सञ्चालन गरिरहेका थियौँ। यसमा २३ बेड घटाउनुपर्ने भएको छ। आइसीयू नघटोस् भनेर सचेत थियौँ। तर आइसीयू सेवामा गुणस्तरको विशेष ख्याल गर्नुपर्ने हुन्छ। जनशक्ति कम हुँदाखेर कहिले कहीँ अप्रिय घटना घट्यो भने हामी
सबैलाई नराम्रो हुन्छ भनेर यो निर्णय गर्नुपर्यो।
मन्त्रालयबाट स्वीकृत नभएपछि आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने अर्काे विकल्प थियो। उहाँको आम्दानीले त्यो सम्भव नै थिएन।
अहिले हाम्रो आन्तरिक आम्दानीको करिब ९५ प्रतिशत कर्मचारीको व्यवस्थापनमै खर्च हुने गरेको छ।
स्वास्थ्य मन्त्रालयले बजेटको व्यवस्थापन गरेर वीर अस्पताल जस्तो ठाउँलाई सहयोग गर्छौँ भनेर स्रोत व्यवस्थापन गरिदिएको खण्डमा हामी नयाँ जनशक्ति राखेर सेवा सुचारु गर्न तयार छौँ।
यो स्वास्थ्य मन्त्रालयसँग मात्रै नभएर अर्थ मन्त्रालय, सरकार तथा देशको अहिलेको आर्थिक अवस्थासँग जोडिएको विषय हो। यसमा के गर्ने समग्र सरकारले निर्णय गर्ला भन्नेमा आशावादी छौँ।
दशैंको मुखमा उहाँहरुलाई विदा गर्नुपर्दा भावनात्मक हिसाबले यो एकदमै पीडादायी विषय हो। तालिम प्राप्त जनशक्ति, जसले एकदमै गाह्रो अवस्थामा सेवा थियो। उहाँहरुलाई हामीले विदा गर्दा एकदर्म दुख: लागेको छ।
तर देशको आर्थिक अवस्थाले गर्दा हामीले निरन्तरता दिन सकेनौँ।
लोकसेवाबाट नयाँ जनशक्ति आउन समय लाग्छ। तिनलाई प्रशिक्षित बनाउन पनि समय लाग्छ। यो बीचमा सेवामा रिक्तता हुन्छ हामीलाई ठूलो असर गरेकै छ।
उहाँहरूलाई असारपछि नै सेवामा निरन्तरता दिँदा यसमा निश्चित छैन भनेका थियौँ। स्वास्थ्य मन्त्रालय, त्यहाँबाट अर्थमन्त्रालयमा प्रस्ताव पठाउने प्रक्रिया हुँदा सम्झौता नवीकरण गर्न सकेका थिएनौँ।
पहिला करारमा राखेर मात्रै सेवामा लगाउनु पर्थ्यो। तर २ वर्ष जसरी एक खालको बुझाइका आधारमा उहाँहरूले काम गरिरहनुभएको थियो। त्यही आधारमा काम लगायौँ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा तत्काल सेवामा नआउनुहोस् भन्दा सेवा प्रभावित हुने भएकाले पहल गरेर हुन्छ कि भनेर सेवामा लगायौँ। सफल भइएन। उहाँहरुले अहिलेसम्म गरेको सेवाको पारिश्रमिक तत्काल दिएर विदा गर्दैछौँ।

हेल्थपाटी
तपाईँको अभिमत