वीरका करार नर्स : कोभिडमा वाहीवाही, अपमानपूर्वक बिदाइ (भिडियो)
कोभिडमा त्यति ठूलो जोखिम मोलेर काम गरे पनि अहिले आफ्नो पीडा सुन्ने कोही नभएको नर्स दीपिका केसी गुनासो गर्नुहुन्छ ।
हेल्थपाटीसँगको कुराकानीमा केसीले २ दिनअघि मात्रै सूचना दिएर कामबाट निकाली अपमानित गरेको बताउनुभयो ।
उहाँका अनुसार निस्कासनमा पर्नुभन्दा एकसाता अघिसम्म पनि करार थपिन्छ भन्ने आश्वासन पाइरहनुभएको थियो ।
‘करार भन्नेवित्तिकै निस्कनुपर्छ भन्ने थाहा थियो तर आजको भोलि निकाल्न पाइन्छ भनेर कहीँ नलेखेको छैन’ दीपीका भन्नुहुन्छ, ‘करारमा नियुक्त गर्दा पनि पूर्वसूचना दिइने छ भनिएको छ, त्यो भनेको ३० वा ४५ दिनअगाडि हो।’
दीपिकाका अनुसार सेवामुक्त हुने सूचना आएको एकसाता अगाडिसम्म अस्पतालका निर्देशक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)काउपकूलपतिलाई भेट्दा हामी त सकारात्मक छौँ मन्त्री ज्यूले राख्न सकिँदैन भनिरहनुभएको भन्ने जवाफ आएको थियो ।
सेवाबाट एक्कासी निकालेपछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई पटक–पटक भेट्न खोज्दा समय दिएर पनि नभेटेको उहाँको गुनासो छ ।
स्वास्थ्य सचिव देवकुमारी गुरागाईँलाई भेट्दा करारका कर्मचारीलाई जुनसुकै बेला निकाल्न पाइन्छ, करारका कर्मचारी खेलौना हो भनेर अपमानित शब्द बोलेको दीपिकाको आरोप छ ।
‘करार भनेर आजको भोलि निकाल्न पाइँदैन म्याम हामी खेलौना होइनौँ भन्यौँ’पीडित नर्स दीपिका सुनाउनुहुन्छ, ‘कोभिडको समयमा धेरै दुःख गरेका छौँ, बिरामीसँग आफ्नै परिवारका मान्छेसमेत डराउने अवस्थामा हामीले २४ घण्टा, १२ घण्टा बिरामीको हेरचाह गरेर बसेका थियौँ । डाक्टरहरु त आउने राउण्ड सक्काउने जाने हो । बिरामीसँग हरक्षण बस्ने, सेवा दिने त हामी हौँ नि । त्यो भनेर हामीले गुनासो पोख्यौँ । उहाँले हामीलाई जवाफ दिनुभयो– हो करारको कर्मचारी भनेको खेलौना हो खेलौनासँग खेलिन्छ ।’
स्वास्थ्यको जिम्मेवार ठाउँमा बसेको व्यक्तिले चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई खेलौना भनेर अपमानित गरेको उहाँको गुनासो छ ।
‘मन्त्रालय जस्तो ठाउँमा एउटा जिम्मेवारीमा बसेको मान्छेले जिम्मेवार उत्तर दिनु पर्ने होइन र ?’ दीपिका प्रश्न गर्नुहुन्छ ।
दीपिका कोभिड–१९ पहिलो लहरबाटै वीरमा कार्यरत हुनुुहन्थ्यो । गर्मीमा पीपीई लगाएर, डबल मास्क लगाएर निकै कष्टसँग ड्यूटी गरेको उहाँ स्मरण गर्नुहुन्छ ‘बाहिरबाट हेर्दा त एउटा लुगा मात्रै देखिन्छ होला तर डबल मास्क लगाएर, पीपीई लगाउँदा गर्मीले खपीनसक्नु हुन्थ्यो। खाना, खाजा पनि राम्रोसँग खान पाइएन ।
एकजना नर्सले कम्तिमा ३० जना बिरामी हेर्नुपर्ने अवस्था थियो । बिरामीहरुको मृत्यु हुँदा तपाईहरुले औषधि दिएर मा¥यौ, काम गर्न गाह्रो भयो त्यसैले बिरामी मा¥यो जस्ता आरोप पनि लगाएका थिए । स्टेसनमै नर्सिङ स्टाफलाई कुट्न आउनेसम्म भयो । त्यसो हुँदा पनि कुनै पर्वाह नगरी हामी सेवामा खट्यौँ, आफैँलाई कोभिड हुँदा ५ दिनमै बिरामी हेर्न गएको, अफ्नो परिवारलाई कोभिड हुँदा हेरचाह समेत नपाएर अस्पतालकै सेवामा खटेको उहाँ बताउनुहुन्छ ।
कोभिडका दुखः गरेको कुरा कसैले नदेखेको उल्टै दशैँमा सेवाबाट निकालेर तनाव दिएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार यसअघि पनि असार महिनाबाहेक ३–३ महिनामा मात्रै तलब आउँथ्यो । यहाँ भाडामा बस्ने स्वास्थ्यकर्मीहरुलाई त निकै समस्या हुन्थ्यो । तर पनि दैनिक दिने सेवामा कुनै कमी नगरेको दीपिका सुनाउनुहुन्छ ।
नर्सका लागि बोल्न, नर्सको पीडा सुनिदिने कोही नभएको जस्तो महसुुस भएको उहाँको गुनासो छ । दीपिकाका अनुुसार जागिरबाट एक्कासी निकालेको पीडाले गर्दा केही नर्स मानिसक बिरामी नै परेका छन् ।
उहाँले आफूहरुले राखेको माग पुरा गर्न सकिने रहेको बताउनुभयो । पुससम्मको समय बढाए अन्य ठाँउमा जागिरको खोजी गर्ने समय रहने उहाँको भनाइ छ ।
साथै आफूहरुले बाँकी पाउनपर्ने तलव, दशैंभता, कोभिडभत्ताको माग गरिरहेको उहाँले बताउनुभयो । आफूहरु अन्यायमा परेकाले कानूनी लडाइँमा जाने उहाँले बताउनुभयो ।
हेल्थपाटीका लागि तुलसा घिमिरेले हालै वीरबाट निकालिएका नर्स दीपिका केसीसँग गर्नुभएको संवाद तलको भिडियोमा हेर्नसक्नुहुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत