वीर अस्पतालका लागि ३० नर्ससहित ६३ दरबन्दी थपियो
वीर अस्पतालमा ६३ नयाँ कर्मचारी भर्ना गर्ने बाटो खोलिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को सिनेट बैठकले ६३ नयाँ दरबन्दी सिर्जना गरेको छ।
नर्स, प्रयोगशालाकर्मी, पारामेडिक, रेडियोग्राफर, प्लम्बर, सवारी चालक गरी ६३ नयाँ दरबन्दी थप गरिएको न्याम्स स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार यसमा सबैभन्दा धेरै दरबन्दी ३० जना नर्सको रहेको छ। डाक्टरको दरबन्दी थपिएको छैन। दरबन्दी तयार भएकाले सकेसम्म छिटो कर्मचारी नियुक्त गर्ने तयारीमा रहेको न्याम्स स्रोतले जानकारी दिएको छ।
न्याम्सका सहउपकूलपति समेत रहनुभएका स्वास्थ्य तथाजनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा आइतबार सिनेट बैठक बसेको थियो।
तलब खुलाउने बजेट नभएको भन्दै कोभिडको बेला नियुक्त गरिएका करार कर्मचारीलाई गतसाता मात्रै विदा गरिएको थियो।
करार कर्मचारी निकालिएपछि सेवा प्रभावित भएको भन्दै न्याम्स तथा वीर अस्पतालका पदाधिकारीहरुले मन्त्री समक्ष गुनासो गरेका थिए।
सेवामा असर पर्न नदिने भन्दै न्याम्स अन्तर्गत रहने गरी दरबन्दी थपिएको स्रोतको भनाइ छ।
हेल्थपाटी 
तपाईँको अभिमत