वीरमा कोभिडको बेला काम गरेका १८५ नर्स दशैंको मुखमा निकालिए (भिडियो)
वीर अस्तपालमा कोभिड–१९ को समयमा नियुक्त गरिएका चिकित्सक, स्वास्थ्यकर्मीहरू जागिरबाट निकालिएका छन्।
यस आर्थिक वर्ष (२०८०/८१) सुरु भएदेखि तलब नपाएका चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई असोज २१ गतेबाट करार नथपिने जानकारी दिइएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले करार सेवा नथप्ने भनी गरेको निर्णय कर्मचारीका वाट्सएप, भाइबरमा पठाएर २१ गतेबाट काममा नआउन भनिएको छ।
निस्कासनमा पर्नेमा सबैभन्दा धेरै नर्सहरू रहेका छन्। कोभिड–१९ महामारी र केही डेंगीको समयमा नियुक्त गरिएका १८५ जना नर्सहरू निकालिएका हुन्।
आज ड्यूटी गर्न भनेर आएका नर्सहरू जागिर खोसिएको जानकारी पाएपछि अन्यायमा परेको भन्दै गुनासो गर्नका लागि शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका थिए।
उनीहरुले स्वास्थ्य मन्त्रालय पुगेर सचिव देवकुमारी गुरागाईँलाई भेटेर गुनासो गरेका थिए। सचिव गुरागाईँले करारमा भएपछि जुनसुकै बेला निकाल्न पाइन्छ, यसमा कुनै सुनुवाइ हुँदैन भनेर पठाएको पीडित नर्स मनिषा शर्माले बताउनुभयो।
यसअघि पनि करार सम्झौता सकिएको केही महिनापछि मात्रै थपिएको पत्र आउने भएकाले त्यही सोचेर काम गरिरहेको नर्सहरूको भनाइ छ।
‘बरु हामीलाई साउनदेखि नै निकालिदिएको भए अन्तै काम खोजेर गरिसकेको हुन्थ्यौ अरू केही विकल्प हुन्थ्यो’ पीडित मध्येकी एक नर्सले भन्नुभयो, ‘दशैं आउनै लाग्दा एक्कासी काममा नआउ भन्दा तनाव भएको छ, केही सोच्नै सकेको छैन।’
नर्सहरुका अनुसार निकालिनेमा एउटै वार्डमा काम गर्ने १७–१८ जनासम्म रहेका छन्। उसै त बिरामीको अनुपातमा निकै कम नर्स रहेकोमा यति ठूलो संख्यामा एकै पटक हटाउँदा कतिपय सेवा नै बन्द हुने अवस्था रहेको नर्सहरुको भनाइ छ।
दशैंको बेला बिच्चली नपारेर कम्तिमा पुससम्म भए पनि काम गर्न दिनुपर्ने माग नर्सहरुको छ।
कोभिडको समयमा ज्यान जोखिममा राखेर, घर परिवार, साना बच्चासमेत समेत छाडेर काम गर्दा पनि सरकारले घोषणा गरेको कोभिड भत्तासमेत नपाएको नर्सहरूको गुनासो छ।
करार सेवामा भएकाले एकदिन निस्किनुपर्छ भन्ने थाहा भएपनि यसरी दशैंकै बेला एक्कासी काममा नआऊ भन्दा अन्यायमा परेको महसुस भएको नर्सहरू बताउँछन् ।

हेल्थपाटी
तपाईँको अभिमत