प्रशासकीय भूमिकामा नर्सिङ सेवालाई अवसर खाेई ?
विश्वबजारमा नर्सिङ पेशाको बढ्दो माग र यस पेशाप्रतिको आकर्षण बढिरहँदा,नेपालमा देखिएको नर्सिंङ सेवामा बढ्दो बेरोजगारीले यो क्षेत्र राज्यबाट उपेक्षित भएको हो भन्ने सजिलै आँकलन गर्न सकिन्छ । हाम्रो समग्र स्वास्थ्य शिक्षा र सेवामा व्यापारी दलाल र माफियाको बोलबोला रहेको छ, त्यसभित्र पनि नर्सिंङ क्षेत्र सबैभन्दा उत्पीडित र प्रताडित सेवा समूह हो ।
हामी कहाँ प्राविधिक शिक्षा तथा तालिम व्यवसायिक परिषद, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विश्वविद्यालय प्रतिष्ठान र संस्थानहरुबाट नर्सिंङ जनशक्ति उत्पादन भइरहेका छन् ।
मुलुक संघियतामा गएपछि अभ्यास स्वरुप खोलिएका संघिय प्रादेशिक र स्थानिय सरकार मातहतका विश्वविद्यालय प्रतिष्ठान र संस्थाहरुले पनि नर्सिंङ जनशक्ति उत्पादन गरिरहेका छन् र कतिपय उत्पादनको तरखरमा जुटेका छन् ।
नेपालमा नर्सिंङ शिक्षा र सेवाको विस्तार तीव्र गतिमा भएको छ । विभिन्न बाधा अड्चन पार गर्दै अस्पताल क्षेत्रबाट विद्यालय सामुदायिक औद्योगिक विश्वविद्यालयमा नर्सिंङ सेवाको विस्तार हुने क्रम बढेको छ ।
निजी क्षेत्रबाट व्यवसायिक रुपमा घरघरमा स्वास्थ्य सेवा र केयरीङको सुविधा विस्तार हुँदा नर्सिंङ सेवाको अवसर बढेको छ । यद्यपि सेवाका क्षेत्र विस्तार भएपनि समस्या झन्झन् बढेका छन् । स्वायत्तता नहुनु, राज्य र राजनीतिको सहयोगी भूमिका नहुनु, पर्याप्त पेशागत वकालत नहुनु , पेशागत एकता र सहिष्णुता कमजोर हुनु, विभेदपूर्ण सामाजिक दृष्टिकोण हुनुले समग्र नर्सिंङ क्षेत्रको वृत्ति विकासमा बाधा पुर्याएको छ ।
सुरुको कालमा स्वास्थ्य जनशक्ति कम रहेको अवस्थामा कुनै दूरदर्शीताबिना राज्यले दीर्घकालीन स्वास्थ्य शिक्षा नीति अख्तियारी गर्न नसक्दा, शैक्षिक व्यापारी र नियमनकारी निकायकै मिलेमतोमा स्वास्थ्य शिक्षामा निजीकरण व्याप्त भयो । मेडिकल कलेज, नर्सिंङ कलेजका नाममा गुणस्तर र जनशक्ति व्यवस्थापन आदि कुरालाई ध्यानमा नराखी जथाभावी निजीलाई सम्बन्धन दिँदा संख्यात्मक उत्पादनमा वृद्धि भयो । परिणाम स्वरुप पर्याप्त जनशक्ति बजारमा हुँदा निजी अस्पताल संचालकहरुले स्वयमसेवाको व्यवसाय सुरु गरे ।
कमजोर र अस्पष्ट स्वास्थ्य शिक्षा नीति, स्वास्थ्य शिक्षाका नियमनकारी र अनुगमनकारी निकायमा देखिएको पदीय लोलुपता र भ्रष्ट्राचारले स्वास्थ्य शिक्षा अस्तव्यस्त बन्यो । यसबाट सबैभन्दा बढी मारमा स्वास्थ्य क्षेत्रभित्रको नर्सिंङ शिक्षा र सेवा समूह पर्यो । आज स्वयमसेवा र नर्सिंङ सेवा पर्याय जस्तै बनेका छन् ।
१५/२० लाख खर्च गरेर अध्ययन गरेर हासिल गरेको त्यो ज्ञान र सीपले गाँस, बास र कपासका निम्ति रातदिन नभनी सेवा दिइरहँदा पनि दैनिकी धान्न मुस्किल परेको छ । स्वयमसेवा, न्यून पारिश्रमिक, श्रम शोषणबारे दिनहुँ जसो समाचार हामीले देखिरहेको र सुनिरहेका छौँ ।
राज्यलाई आकस्मिकतामा स्वयमसेवक चाहिँदा राष्ट्रिय आवश्यकता अनुरुप श्रमदान गर्नु नागरिकको दायित्व हो तर एउटा व्यापारीको नाफा नोक्सानमा श्रमको जोड घटाउ हुनु, बिना मूल्य वा श्रमसँगको नसुहाउँदो पारिश्रमिक हुनु यस पेशाप्रतिको अपमान र अपराध दुवै हो ।नर्सिंङ शिक्षालाई व्यवसायिक बनाएर व्यापारी पोस्ने शिक्षा नीति बनाएर, नर्सिंङ पेशालाई विशुद्ध सेवामुखी बनाउन सकिदैन ।
अझ श्रमलाई आधार सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीकै सरकार हुँदा श्रमको उचित सम्मान नहुनु उदेक लाग्दो मात्र होइन अनिर्णित भविष्यको सूचक पनि हो । सम्बन्धित नर्सले श्रम गरेबापत पाउनुपर्ने पारिश्रमिक सेवा सुविधा पाउनुपर्छ । नर्सिंङ क्षेत्रलाई सबै किसिमका हस्तक्षेपबाट मुक्त गरी कम्तिमा आफ्नो विषयवस्तु र सेवाका क्षेत्रमा स्वायत्तता दिनुपर्छ ।
स्वास्थ्य नीति निर्माण तहमा नर्सिंङ समूहको समान प्रतिनिधित्व गराउने, पेशागत सहिष्णुता र एकता कायम राख्ने, नर्सिंङका पेशागत संगठनमा पार्टीगत राजनैतिक हस्तक्षेप मुक्त गर्ने, स्वास्थ्य अनुसन्धान र विकसित नयाँ प्रविधिसँग राज्यबाटै नर्सिंङ शिक्षा र पेशालाई जोड्दै लैजाने नीति अख्तियार र कार्यान्वयन गर्ने, बिरामी र नर्स अनुपातमा अस्पतालमा रोजगारी अवसर सिर्जना गर्ने, विद्यालय विश्वविद्यालय औद्योगिक समुदाय टोल गाउँघरको स्तरमा सचेतना, रोकथाम, उपाचार र हेरचाह आदि स्तरमा पनि नर्सिंङ सेवाको विस्तार गर्ने, नर्सिंङ शिक्षा र सेवामा बढ्दो श्रमशोषण, शैक्षिक शोषण, मानसिक शारिरीक शोषण अन्य उत्पीडनका समस्याको हल गर्न गुनासा उजुरी गर्ने व्यवस्था गर्ने र त्यस्ता समस्या उपर यथासक्य सम्बोधन गरी अधिकतम कारबाहीको व्यवस्था गर्नुपर्छ ।
हामीले सरकारी संयन्त्रभित्र रहेका स्वास्थ संस्थामा प्रशासकीय भूमिकामा नर्सिंङ सेवालाई अवसर दिनुपर्छ । हेल्थपोस्ट, प्राथमिक स्वास्थ्य उपचार केन्द्र, पालिक स्वास्थ्य संयोजक, अस्पताल निर्देशकहरुमा अन्य स्वास्थ्य सेवा समूहहरुले पाउने अवसरहरुमा उहाँहरुले पनि समान अवसर पाउनुपर्छ ।
यस्तो व्यवस्था गर्न सकियो भने नर्सिंङ सेवामा अझै रुझान बढ्ने, गाउँ टोल स्तरबाटै गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुग्ने, राज्यको समग्र स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा नयाँ रक्तसंचार हुने निश्चित देखिन्छ । त्यसका निम्ति नीति र नेतृत्व दुवै सुधार्नुपर्छ।
सम्पूर्ण नर्सेस दिदीबहिनी, दाजुभाइहरुमा ५९औं नेपाल नर्सिङ दिवसको धेरै धेरै शुभकामना ।
(लेखक शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक हुनुहुन्छ । )
तपाईँको अभिमत