नेपालमा चार वयस्कमध्ये एक जनामा उच्च रक्तचाप, नौ प्रतिशत मात्रै उपचारमा (भिडियो)
नेपालमा उच्च रक्तचाप तीव्र रूपमा बढ्दै गएको छ, जसले गम्भीर स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने देखिएको छ । हाल देशभर ४७ लाख मानिस यस समस्याबाट प्रभावित छन्, तर चार लाख जनाले मात्र उपचार गराइरहेका छन् । उपचार गराइरहेकामध्ये पनि दुई लाख जनाको मात्र रक्तचाप नियन्त्रणमा छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य इकाइ प्रमुख, वरिष्ठ कन्सल्टेन्ट डा. पोमावती थापाले नेपालमा कुल मृत्युको तीन चौथाइ हिस्सा नसर्ने रोगले ओगटेको जानकारी दिनुभयो ।
उहाँका अनुसार, मृत्युको पहिलो प्रमुख कारण मुटु तथा रक्तनलीसम्बन्धी समस्या रहेको छ, जसको मुख्य कारक उच्च रक्तचाप हो । यस अवस्थाले उच्च रक्तचापप्रति सचेतना अभिवृद्धि गर्दै प्रभावकारी उपचार रणनीति आवश्यक रहेको उहाँले बताउनुभयो ।
सन् १९९० को दशकमा नेपालमा नसर्ने रोगका कारण मृत्यु हुने दर १० प्रतिशत थियो । पछिल्ला दशकहरूमा भने यो दर तीव्र रूपमा बढ्दै २४ प्रतिशत पुगेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको वृद्धिले यो स्थिति अझ जटिल बनाइरहेको छ ।
सरकारले उच्च रक्तचापको बढ्दो जोखिमलाई ध्यानमा राख्दै वडा स्तरका स्वास्थ्य केन्द्रहरूमा रक्तचाप मापनको व्यवस्था गरिएको डा. थापाले बताउनुभयो । यसले नागरिकलाई सहज रूपमा आफ्नो रक्तचाप जाँच्न र समयमै रोकथाम तथा उपचार गर्न सहयोग पुर्याउने विश्वास उहाँको छ ।
नेपालमा कुल मृत्युको तीन चौथाइ हिस्सा नसर्ने रोगले ओगटेको छ, जसमा मुटु र रक्तनलीसम्बन्धी समस्या प्रमुख कारण बनेको छ। उच्च रक्तचाप यस समस्याको मुख्य कारक हो ।
विशेषगरी ३५–४० वर्षपछि उच्च रक्तचापको समस्या बढ्न थाल्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । मुटुरोग सर्जन डा. अनिल भट्टराईका अनुसार हालको नयाँ गाइडलाइनअनुसार सिस्टोलिक १३० र डायस्टोलिक ८५ भन्दा माथि भए उच्च रक्तचाप मानिन्छ । उहाँका अनुसार, रक्तनलीहरू कडा हुँदै जाँदा रक्तचाप बढ्ने जोखिम उच्च हुन्छ, जसले दीर्घकालीन रूपमा मुटु तथा रक्तनलीसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले समयमै जाँच र रोकथाम आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
बेस्सरी टाउको दुख्नु, छाती दुख्नु, रिंगटा लाग्नु, सास फेर्न गार्हो हुनु, वाकवाक लाग्नु, धमिलो देख्नु, चिन्ता बढ्नु, द्विविधा बढ्नु, कान कराउनु, नाकबाट रगत बग्नु, मुटुको धड्कन असामान्य रहनु उच्च रक्तचापका लक्षणहरू हुन् ।
लामो समयसम्म रक्तचाप बढिरह्यो भने मस्तिष्कका साना नसाहरू चर्किन सक्छन्, जसले मस्तिष्कघातको हुने जोखिम बढाउँछ ।
रक्तचापको असर आँखाको नसा (रेटिना) मा परेमा दृष्टि कमजोर हुन सक्छ, यहाँसम्म कि अन्धोपनाको खतरा पनि रहन्छ ।
उच्च रक्तचापले मिर्गौलाको नसाहरूलाई कमजोर बनाउँछ, जसले मिर्गौला फेल हुन सक्छ । त्यसैले, यदि उच्च रक्तचापको संकेत देखिन थाले चिकित्सकको सल्लाहअनुसार औषधि खाँदा, मुटु, मस्तिष्क, आँखाहरू र मिर्गौला सुरक्षित रहन सक्ने डा. भट्टराई बताउनुहुन्छ ।
धेरैलाई उच्च रक्तचापको कुनै लक्षण नदेखिन सक्छ, तर यसको उपस्थितिबारे जान्न नियमित रक्तचाप जाँच गर्नु नै एक मात्र उपाय रहेको मुटुरोग सर्जन डा. अनिल भट्टराई बताउनुहुन्छ ।
उमेर बढ्दै जाँदा, वंशाणु, मोटोपना, अत्यधिक नुन सेवन, शारीरिक निष्क्रियता र अत्यधिक मदिरा सेवनले उच्च रक्तचापको जोखिम बढाउँछ। स्वास्थ्य विज्ञहरूका अनुसार, रक्तचाप नियन्त्रण गर्न खानपान र जीवनशैलीमा सुधार गर्नुपर्ने हुन्छ । साथै, मदिरा र सूर्तिजन्य पदार्थ त्यागेमा रक्तचाप घटाउन सकिन्छ, जसले मुटु र रक्तनलीसम्बन्धी रोगको जोखिम कम गर्छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा नसर्ने रोगका कारण हुने मृत्यु दर एक तिहाइले घटाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नसर्ने रोग नियन्त्रण तथा उच्च रक्तचापको औषधि निःशुल्क वितरणका लागि प्रदेशस्तरमा बजेट विनियोजन गरिएको छ ।
यस अन्तर्गत, आधारभूत स्वास्थ्य सेवामा नसर्ने रोगलाई समावेश गर्दै वडास्तरीय स्वास्थ्य केन्द्रदेखि विशिष्ट उपचार केन्द्रसम्म सेवा प्रवाह भइरहेको छ। साथै, ‘पेन प्लस’ कार्यक्रम काभ्रे, पर्सा हुँदै कैलालीसम्म विस्तार भइसकेको छ, जसले उच्च रक्तचापका बिरामी पहिचान गरी औषधि वितरणमा सहजीकरण गरिरहेको छ ।
पेनप्लस’ कार्यक्रम अन्तर्गत नसर्ने रोगका मुख्यगरी मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता बिरामीको परीक्षण, उपचार र औषधिलगायतको सेवाहरू पर्दछन् ।
नेपाल सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना अघि बढाएको जानकारी दिँदै इडिसिडीका डा.थापाले यसअन्तर्गत सुर्तिजन्य तथा मदिराजन्य पदार्थमा करको दायरा बढाउने पहल भइरहेको बताउनुभयो ।
साथै, ‘पेन कार्यक्रम’ मार्फत स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगसम्बन्धी विशेष तालिम दिइँदै आएको छ । उहाँका अनुसार यस तालिमले स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगको पहिचान, अस्पताल आएका बिरामीहरूको अवस्था मूल्याङ्कन तथा आवश्यक परेमा रिफर गर्ने प्रक्रियाबारे जानकारी प्रदान गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल करिब एक अर्ब २८ करोड वयस्क मानिस उच्च रक्तचापको समस्यासँग जुधिरहेका छन्, जसमा अधिकांश ३० देखि ७९ वर्ष उमेर समूहका छन् । यीमध्ये दुई तिहाइ मानिस कम र मध्यम आयस्रोत भएका देशहरूमा रहेका छन् ।
चिन्ताजनक तथ्य के हो भने झण्डै ४६ प्रतिशत वयस्कलाई आफ्नो उच्च रक्तचापको बारेमा थाहा छैन, र ४२ प्रतिशतभन्दा कम मानिसले मात्र निदान गरी उपचार सुरु गरेका छन् । चार वयस्कमध्ये एक जना मात्र आफ्नो उच्च रक्तचापको अवस्था नियन्त्रणमा राख्न सफल भएका छन् ।
विश्वभर उच्च रक्तचाप मृत्युको प्रमुख कारण बनेको छ, जसले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।
हेल्थपाटी 
तपाईँको अभिमत