तिमी हरेक बिरामीको ढुकढुकी हौ ‘नर्स’

विष्णु पाठक (खड्का)
विष्णु पाठक खड्का
आज मेरो देश कोरोना महामारीको चपेटामा छट्पटाइरहेछ
आफ्ना आफन्त परिवारसँग भौतिक दूरी बढिरहेको छ
कोही अक्सिजन नपाएर अकालमै ज्यान गुमाइरहेका छन्
सबैलाई आफ्नो सिर्फ आफ्नो चिन्ताले पिरोलिरहेको बेला
महामारीसँग लड्न अग्रमोर्चाको रूपमा अग्रपंक्तिमा रही
युद्द भूमिको हतियार बिहिन सिपाही सरह सेतो वस्त्रमा सजिएर
१२ घण्टा पीपीइको पहिरनले उकुसमुकुस हुँदै
न रातमा निद्रा, न दिनमा भोक केहि नभनी
टुटिसकेको हिम्मत अनि हराइसकेको आशालाई
जगाइदिने कोही छ भने, हो त्यो नर्स हो, सिर्फ नर्स हो ।
आफ्नै बाबा, आफ्नै जन्म दिने आमा, आफ्नै परिवारको मृत्युमा पनि
न छोरा छोरीले दाहसंस्कार गर्न पाउँछन्
न आफ्ना अन्तिम संस्कारमा सहभागी हुन पाउँछन्
तर
नर्स तिमी कति महान् छौं, कति निस्वार्थ
कति देशभक्त र आफ्नो पेशामा इमान्दार छौ
न कुनै रगतको नाता छ, न कुनै सम्बन्धको साईनो
दुधे बालकलाई बोत्तलको भरमा छाडेर
मास्कले स्वासै लिन कठिन पर्दा,
भोको पेटमा चक्कर आउँदा पनि
आफ्नो कर्तव्य पुरा गरिरहन्छौ ।
साँच्ची नर्स
तिमी हर बिरामीको ढुकढुकी हौ
हरेक अस्पतालको मुटु हौं
बोल्न नसक्ने ती बन्द ओठको भाषा
अनि
भेन्टिलेटरमा कृत्रिम स्वास लिदैं जन्म मृत्युको लडाई लड्दै गरेको शरीरको भाव
चिम्लिएका ती आँखाको इशारामा अव्यक्त आवाज सुनी
सबै ज्ञान, विवेक, सीप, शिक्षा, कला र डिग्रीको उपयोग गरी
आफ्ना नीजि स्वार्थबाट धेरैं माथि उठी
बिरामीको उपचारमा अहोरात्र खटिरहने
सेतो बस्त्रधारी जिउँदो देवीको अर्को रुप,
साक्षेत देवी नर्स, सिर्फ नर्स ।
सबैलाई अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना ।
( लेखक नर्स हुनुहुन्छ ।)
हेल्थपाटी
तपाईँको अभिमत