धुम्रपाने मोर्चा जिन्दावाद !
सन्दर्भ : विश्व धुम्रपानरहित दिवस
एउटा कक्षा चलिरहेको थियो शिक्षकले विद्यार्थीलाई उठाएर सोधे ‘ए घनश्याम तिमी चुरोट भन्नेबित्तिकै के बुझ्छौ ? परिभाषा देउ त ।’ विद्यार्थीले जवाफ दियो ‘चुरोट एउटा यस्तो वस्तु हो जसको एकापट्टी आगो हुन्छ, अर्कापट्टी एउटा मूर्ख मान्छे हुन्छ ।’ प्रश्न रमाइलो, उत्तर झन रमाइलो । सोचेँ ‘साँच्चै विद्यार्थीको उत्तर बडो स्पष्ट छ ।’ हुन पनि हो । न शरीरलाई भलो गर्ने, न भोक मर्ने, न खाजा टर्ने टाइपको धूवाँ स्वाट्ट तान्यो फुस्स फाल्यो गर्नका लागि मरिमेट्छन मान्छे ।
ऋण नै गरेर पनि त्यसमा खर्च नगरी नछोड्ने नरनारी भन्दा मूर्ख अरु कोही छ भनी कसैले खोज्छ भने त्यो खोजी गर्ने नै सबैभन्दा बढी मूर्ख हो । मेरो मनको दृढ निश्चय पनि त्यहि हो । यस्तो दृढ निश्चय गरेर मनले पटक्कै चित्त बुझाएन । आफ्ना आखाँ वरिपरि चलमलाएका धुम्रपानेहरूका सङ्ख्या, क्रियाकलाप, अभिव्यक्ति र धारणाहरूको लेखाजोखा जब म गर्छु, तब म झस्किन्छु ‘ए गाँठे त्यत्तिका मान्छेको प्रिय बुटी खराब हो भनेर आर्दश छाँट्दै म आफैँ मूर्ख त भइरहेको छैन ?’
भन्न त चिकित्सा विज्ञानले स्पष्टैसँग भनेको छ ‘क्यान्सरको मुख्य कारण धुम्रपान नै हो ।’ अधिकांश धुम्रपानका पारखीहरूलाई यो तथ्य थाहा छ । तैपनि यसको प्रतिवाद यसरी गर्छन ‘आ ! फलानो बुढो सधैँ तमाखु तान्थ्यो ऊ असी वर्ष बाँच्यो वा फलानो चुरोट बिडी, खैनी छुँदै–छुँदैनथ्यो किन त्यसलाई रोग लाग्यो ? यस्ता अभिव्यक्ति उनीहरू यति ढुक्क भएर दिन्छन् मानौँ अहिलेसम्मको चिकित्सा विज्ञान फेल भयो ।
वरिष्ठदेखि कनिष्ट, महानदेखि तुच्छ, सबैखाले विशेषण जोडिएका मान्छे धुम्रपान गर्ने बानीबाट अलग छैनन् । लुकेर, ढुकेर, देखिएर, छेकिएर, सेवन गर्ने तरिका फरक हुनसक्छ तर धुम्रपानेको सङ्ख्या भने जो कोहिले देखे बुझेभन्दा निकै बढी भएको म ठान्छु किनभने यहाँ देखिएर धुम्रपान गर्ने भन्दा लुकेर सेवन गर्ने छद्म धुम्रपानेहरूको आवादी बढी छ । मनमनै कल्पना गर्छु विचरा म ! धुम्रपान नगर्ने, मन नपर्ने । यस कोटीका मान्छेको न्यून सङ्ख्या देखेर विरक्त लाग्छ ।
अनेक खाले धुम्रपानेहरु र तीनका व्यवहारका प्रतिबिम्ब अन्तस्करण भरी ओइरिन्छन् ।
एक
झण्डै १२ वर्षको केटो दौडिँदै आएर एक अधबैँसे व्यक्तिको स्टकोट पक्रियो र भन्यो ‘बुबा कापी किनिदिनु न कापी नभएर होमवर्क गर्नै पाएको छैन, नत्र सरले वेञ्चमा उभ्याउनुहुन्छ ।’ बाबुले हकारे ‘अस्ति भर्खर किन्देको हैन ? कति चाँडै सिद्धिन्छ तेरो कापी पनि ?’ स्टकोटको एउटा खल्तीबाट चुरोट अर्कोबाट लाइटर निकालेर चुरोट सल्काए अनि छोरापट्टि हेरेर फेरि गनगन गर्न थाले–‘हिजोआज खल्तीमा सुको छैन चुरोट खान नसकिने भैसकियो कस्तो नबुझेको जा भोली किनिदिउला।’ छोरो पिल्पिलाउँदै हिड्यो।
नेपथ्यबाट नारी स्वर आयो ‘जिरा, बेसार, तेल लुगाधुने साबुन सकिएको छ । चामल पनि दुई छाकलाई भन्दा पुग्ने छैन, हिजै भनेको कस्तो नसुन्याझैँ गर्या ।’ यी आवाजले धरै दिक्क मानेर उनी झर्किए ‘धेरै नकरा है सुनिनस् पैसा छैन भनेको, उधारो कति ल्याउनु ?’ खल्तीबाट अर्को चुरोट निकाले, ठुटो चुरोटमा नयाँ चुरोट सल्काई ठुटोलाई भुँइमा मिल्काए । अनि चुरोटबाट निस्किएको धुवाँमा रुमल्लिदै आनन्द माने ।
दुई
स्वास्थ्य शिक्षा पढाउने शिक्षकले कक्षामा विद्यार्थीलाई प्रश्न गरे ‘क्यान्सर रोग लाग्नुका कारण र लक्षणहरू के–के हुन् ?’ क्रमशः दशौँलाई सोध्दा पनि चित्तबुझ्दो जवाफ कुनैले नदिएपछि उनी जङ्गिए ‘तेरिमा खाना काल हो, कण्ठ गरेर आओ भनेको होइन ? भनेको कसैले नटेर्ने, मलाई हेप्या हो ?, ल अहिले पढ एकछिन पछि सोध्छु ।’
सबै विद्यार्थीहरू पुस्तक अगाडि राखेर हल्ली–हल्ली घोक्न थाले त के भनी हाल्नु कोही कोही पढेजस्तो मात्रै पनि गर्न थाले । शिक्षक फट्टाफट कक्षाबाहिर मात्रै होइन स्कूलको गेटैबाटबाहिर निस्किए । छेवैको किराना पसलमा गई एउटा चुरोट किने डोरीमा झुण्ड्याइएको लाइटरले सल्काई स्कुलको गेटनजिकै भित्तामा अडेसा लागि धूवाँ उडाउन थाले । कक्षाभित्र उठेको रिस वल्ल शान्त भयो । मनमनै गमे–‘विद्यार्थीले कति अल्छी गर्या हुन् ? नाथे क्यान्सरका लक्षण र रोकथामका उपाय पनि कण्ठ गर्दैनन् ।’
तीन
एक संस्थाका समाजसेवी अगुवा रेष्टुरेण्टको बाहिरी भागमा मेचमा खुट्टो हल्लाउदै एक हातमा चियाको गिलास अर्को हातमा चुरोट समातेर धोत्लिरहेका हुन्छन् । स्वाट्ट चुरोट र सुरुप्प चिया तान्दै गरेपछि उनको दिमागमा नयाँ–नयाँ उपाय फुर्दै जान्छन् । यसपालीको धुम्रपानरहित दिवस कसरी मनाउने भनेर । मिडियालाई फोन गर्ने, इमेल पठाउने जिम्मा कसलाई दिने ?, कसरी बढी भन्दा बढी बजेट खर्च भएको देखाउने ?, बिलहरूको चाँजोपाँजो कसरी मिलाउने ? उनी चियाको गिलास टेबुलमा राखी एक हातले चुरोटको खरानी झार्दै अर्को हातले फुरेका उपायहरू डायरीमा टिप्दै गरिरहेका हुन्छन् ।
उनको विपरित दिशामा बसेका स्वास्थ्य मन्त्रालयका हाकिम मुखमा चुरोट च्यापी खल्तीमा लाइटर खोतल्दै भन्छन् ‘तपाइले धन्दा मान्नु पर्दैन् तपाईहरूको कार्यक्रम भव्य हुन्छ । मन्त्रीज्यूलाई ल्याउने जिम्मा मेरो ।’ खल्तीमा लाइटर फेला पार्दैनन् हात पसार्छन् । संस्थाका हाकिमको हातबाट बलेको चुरोट लिई मुखमा च्यापेको चुरोट सल्काउदै मन्त्रालयका हाकिम बोल्छन् ‘पोस्टर, व्यानरमा मन्त्रीज्यूको नाम चढाउँदा हुन्छ ।’ झण्डै फिल्टरसम्म आगो पुग्न लागिसकेको चुरोटको लामो सर्को तान्दै समाजसेवी अगुवा आफ्नो डायरी देखाउँदै भन्छन् ‘हेर्नोस त हाम्रो संस्थाको प्रयासले एकवर्षभित्र धुम्रापान त्याग्नेको डाटा हो यो । कार्यक्रममा यसलाई प्रस्तुत गर्नुपर्छ ।’
चार
दाँत दुखेर जचाँउन आएका बिरामीको मुख हेर्दै डाक्टर आपत्ति जनाउँछन् ‘आमै तपाईको दाँत र गिजा त खत्तम भएछ, खैनी सेवन गर्नुहुन्छ ?’ ‘हो नी सर, बानी लागिहाल्यो छुटाउनै गाह्रो’ बिरामी सिधा जवाफ दिन्छन् । डाक्टर सम्झाउँछन् ‘खैनीले दाँत बिगारेछ, मुखको क्यान्सर हुनसक्छ, खैनी सेवन तत्कालै छाड्नोस् ।’ डाक्टर यसो आफ्नो गोजी छाम्छन् । च्वाराक्क खैनीको पाकेट बज्छ । मनमनै गम्मछन् ‘ए खसेको त रहेनछ ।’
पाँच
एक क्रान्तिकारी नेता आफ्ना सहकर्मीहरूमाझ भाषण दिँदै हुन्छन् ‘मित्रहरू हामी क्रान्तिकारीहरूले सबै गलत संस्कार र आचरणलाई त्याग्न सक्नुपर्छ । त्याग नै हाम्रो मुख्य बिशेषता हो’ उनी भन्दै जान्छन्, ‘देश र जनताका लागि सबैकुरा त्याग्न तयार हुनु पर्दछ मतलब प्राण पनि ।, अरुलाई गलत भनेर सिकाउनुपूर्व त्यो गलत व्यहोरा आफूमा छ छैन त्यसको निर्क्योल गर्नु जरुरी छ ।’
बोल्दा उनी पटक–पटक पाइन्टको गोजी छामी रहन्छन् । उनलाई त्रास थियो त्यहाँ राखेको दुई खिल्ली चुरोट भाँचिने हो की ? भनेर । मुखले बोलिरहन्छन् उनको मनभित्र मडारिरहन्छ ‘यहाँबाट निस्केपछि दुई औँलाको कापमा चुरोट च्यापी तान्दै अघि दिएको भाषण कति दमदार थियो, भनी सोच्दै हिड्दा वाह ! क्या आनन्द ।’
छ
कलेजका छात्रहरूको एकहूल कलेज जाने दोबाटोमा बसेर खैनी माड्दै थिए । हुल बाँधेर हिडिरहेका छात्राहरूलाई हेर्दै जिस्क्याइरहेका थिए । चुरोट तान्दै गरेको एउटालाई ध्यानाकर्षण गराउँदै अर्कोले भन्यो ‘ओई ! तेरी आइ तेरी, चुरोट फाल्’ उसले हतपत चुरोट भुँइमा फालेर खुट्टाले कुल्चियो अनि रुमालले मुख पुछ्न थाल्यो । अरु खैनी मुखमा हाल्दै उसलाई उल्याउन थाले ‘हा..हा..हा..हा..भन्नेवित्तिकै पत्याइहाल्यो ।’ उसले मुर्मुरिँदै भुँइको चुरोट हेर्यो अनि मुख मिट्ठ्यायो ।
सात
एकसमय मेरो एक अभिन्न मित्र बिहानै म कहाँ आएर दुखेसो पोख्न थाले ‘ग्यास सिद्धियो मट्टीतेल किन्ने पैसा छैन ।’ ‘ठीकै छ म पनि आज फुर्सदमा छु यतै खाना खाउँला दिनभरि घुमघाम गरौँला‘ मेरो यो आश्वासनले उनी ढुक्क, आपतमा परेको साथीलाई सहयोग गर्न पाएकोमा म पनि दङ्ग । दिनभरि छुट्टिएनौ बेलुका पनि उनको भातभान्सा सुताई मेरैमा भो । दिनभरि उनी गनगनाए ‘काठमाडौँमा बसेर पढ्न कति गाह्रो ? पैसाले सारै दुःख पर्यो, कमाई पनि छैन, मट्टीतेल किन्ने पैसा पनि भएन, साथीहरूलाई पनि कति दुख दिनु ?’ बत्ती निभाएर ओछ्यानमा पल्टदै मैलै हिसाब गरेँ दिनभरिमा उनले एक सय बीसको चुरोट पिए । अहिलेको बजार मूल्यअनुसार दुई लिटर मट्टीतेल।
धत् सम्झिसाध्य छैन् धुम्रपानेको चर्तिकला । बयान गर्दै गयो भने जुनी बित्ला ! कनिष्ठ हुन् वा बरिष्ठ , लुकेर तान्ने लुकम्बली हुन वा सित्तैमा पाए सुर्क्याउँने ढुकम्बली । अरु सबै त्याग्न तयार हुन्छन् तर धुम्रपान त्याग्न तयार हुँदैनन् । विभिन्न खाले छेउ न टुप्पाका तर्क गरी आफूले गरेको धुम्रपानले कहीँ कतै असर नगरेको सिद्ध गर्न लागिपरिरहेका हुन्छन् ।
आफ्नो निकोटिनले कट्कटिएको फोक्सो धैँसो लागेको काठपातजस्तै बलियो हुने तर्क गर्दै गजक्क पर्छन् । चिन्ता कम गर्न धुम्रपान गरेको भन्दै गमक्क फुल्छन् । जाडोमा तातो लुगा वा एकजोर मोजासम्म किन्न नसकेको विरह पोख्नेहरू जाडो कम गर्न भन्दै दश–दश मिनेटको फरकमा चुरोट सल्काउँछन् । ए बाबा हो ! को ठीक को बेठीक ?, के सही, के गलत ? कहिले विश्लेषण गरी साध्य ? कति तर्क खोजी साध्य ? बरु सबै धुम्रपाने ठीक आफैँ नबुझ्ने स्वाँठ पो हुँ की झैँ लाग्छ ? भनाइ नै छ ‘कलियुगको मान धुम्रपान ।’
सोच्दासोच्दै दिमाग गम्भीर सोचाइमा डुब्यो । एकछिनपछि म हौसिएँ । अहिले काम न फुर्सदका मान्छे राजनीति गर्न नयाँ–नयाँ एजेण्डाको खोजी गरिरहेका छन् । नौला–नौला दर्शनको खोजी गर्दैछन् । कोहि जातीय मार्चा खोलिरहेका छन् । कसैले भातीय झुण्डको भरमा राजनीति धानिरहेका छन् । सबैलाई नेता पल्टिनु परेको छ । परिश्रम नै नगरी चर्चामा आउनु परेको छ । म चाँहि किन पछि हटौँ ? आफैँ पनि धुम्रपान गर्न थालौँ र खोल्दिउँ एउटा धुम्रपाने मोर्चा ।
लगाउने नारा पनि सजिलो, सङ्गठन बनाउने पारा पनि सजिलो । कम्युनिष्टहरूले ‘संसारका सर्वहारा एक हौँ‘ भनेझैँ, ‘संसारका धुम्रपानेहरू एक हौँ ।’ नेपालका कुनै यस्ता बस्ती नहोलान् जहाँ धुम्रपान गर्ने मान्छेको अभाव छ । अनि सङ्गठन बनाउन के गाह्रो ? अपरिचितसँग सम्बन्ध जोड्ने तरिका झन काइदाको । कि त आफूले खाँदै गरेको चुरोटको खिल्ली वा खैनीको पाकेट ऊ तिर तेर्स्याउने त्यति गर्न नसके उसले खाइरहेको वेलामा खैत मलाई पनि एक सर्को भन्दै हातपसारे पनि फरक पर्दैन । अनि सुरु भइहाल्छ घनिष्ठता, गोरु बेच्या साइनो खोजिरहनु पर्ने झन्झट साफ ।
ट्वार्र–ट्वार्र तमाखु तान्ने बाजेदेखि शौचालयमा लुकेर चुरोट तान्ने नातीसम्म मेरै मोर्चाका सदस्य । शानले चुरोट तान्दै जवानलाई आँखा सन्काउने मैयाँ होस् वा चुना मिसाउदै खैनी मोल्ने भैया, यै पार्टीमा नआई सुखै छैन । भोटर खोज्न के गाह्रो ? धुम्रपान गर्ने जत्ति सबै मेरै मोर्चाका भोटर । भोटरलाई ठूलो आश्वासन पनि नचाहिने तलतल लागेका बेलामा धुम्रपान र बढीमा त्योसँगै आगो उपलब्ध गराइदिए पुगिगो ।
नेपालका जतिसुकै दुर्गम ठाँउ भएपनि धुम्रपानका आइटमको अभावै छ भन्ने चाँही लाग्दैन । सबै ठाउँमा खोजेकै त नभेटिन सक्छ तर पनि विभिन्न थरीका चुरोट, सुर्ती, बिडी कुना कन्दरासम्म पुगेकै छन् । त्यसमा पनि पँहुच नहोला रे कम्तीमा करेसाबारीमा सुर्ती रोपी त्यसको धूलो पात पतिङ्गरमा बेरी बिडी तान्दै तिर्सना मेट्ने अवसरसम्म नपाउने त पक्कै कोही नहोलान् ? अनि मान्छे भएका ठाँउमा आगो त के खाँचो ?
न कुनै जात मिल्नु परोस् न कुनै वर्ग ? अरबपति, खरबपतिदेखि बिहान–बेलुका चुल्होमा के बसाल्ने भन्ने चिन्ताले पिरोलिने पत्नीका पतिसम्मको एउटै सिद्धान्त, एउटै कार्यदिशा ‘धुम्रपान गर्दै आनन्द लिनु र धुम्रपानेहरूको हक अधिकारको संरक्षण गर्नु ।’
जसले धेरै धुम्रपान गर्छ उही नेता । नेता छान्न के गाह्रो ? नेताले लामो समयसम्म पद ओगट्ला भन्ने चिन्ता पनि भएन । धेरै धुम्रपान गर्ने नेता पक्कै चाँडै रोगले थला परिहाल्छ । सिल्टिमुरै खानपनि सक्छ । रणनीति नयाँ के चाहियो र ? चुनाव जित्ने सत्तामा पुग्ने मोज मस्ती गर्ने । सबै धुम्रपानेको मत पाउने भएपछि चुनाव जित्ने त के ? दुईतिहाई मत पक्का । चोर र माझी औँलाको बीचमा चुरोट, अनि त्यसको सर्को , वरिपरि कार्यकर्ता कार्यकर्तीहरूको लर्को । वाह ! रे वाह ! मेरो शान, मेरो मान ।
तर आफूलाई पटक्कै मन नपर्ने चुरोट, सुर्ती सेवन गर्ने बानी पो कसरी लगाउने ? मेरो दिमागले नयाँ योजनाको तर्जुमा गर्दै थियो । ढोकामा ट्वाक्–ट्वाक् आवाज आयो । झस्याङ्ग हुँदै भने ‘खुल्लै छ आउनुहोस् ।’ दुई औँलाको कापमा बलेको चुरोट च्यापेर ऊतिबेला मट्टीतेल किन्ने पैसा नभएको विरह पोख्ने घनिष्ठ मित्र प्रवेश गरे । चुरोट बेस्सरी तानी, शानसँग धूवाँ फाल्दै भने ‘यहि बाटो हुँदै हिड्दै थिएँ । तपाँई हुनुहुन्छकी भनेर कल नगरी छिरेको अनुमान सही ठहरियो ।’ उनलाई र उनको हातमा बलिरहेको चुरोटलाई देखेर मैले हाँसो थाम्न सकिन हाँसोको फोहारा छुट्यो । मेरो व्यवहार देखेर उनी अक्क न बक्क परे । दिमागमा घुम्न थाल्यो ‘संसारका धुम्रपानेहरू एक हौँ, धुम्रपाने मोर्चा जिन्दावाद‘ मेरो हाँसोको गति झन बढ्दै गयो ।
लेखक गौतमको ब्लगबाट साभार
तपाईँको अभिमत