सम्पादकीय – १ : नागरिक स्वस्थ नभए राष्ट्र स्वस्थ हुँदैन
पञ्चायती कालदेखि निरङ्कुशता विरुद्ध लडेर आएको नेपाली पत्रकारिता प्रजातन्त्र र आजको लोकतान्त्रिक गणतन्त्रमा पनि लडिरहनु परेको छ ।
पञ्चायती कालदेखि निरङ्कुशता विरुद्ध लडेर आएको नेपाली पत्रकारिता प्रजातन्त्र र आजको लोकतान्त्रिक गणतन्त्रमा पनि लडिरहनु परेको छ । यो दुखद दुर्भाग्य हो । हामी अहिले पनि २०६१ सालको प्रजातन्त्र अपहरणको घटना अर्थात शाही कुको सशक्त विरोध गर्दै तत्काल प्रजातन्त्र पुनर्वहाली गर्न र स्वतन्त्र रेडियोहरूबाट शाही सेना फिर्ता गर्न माग गर्ने नेपाल एफएमको जुझारु विगत स्मरण गरिरहेका छौँ र आज पनि स्वतन्त्र सञ्चार माध्यमको अवधारणाले मात्र राष्ट्र समृद्ध हुनसक्छ भन्ने मान्यतामा दृढ छौँ ।
राजनीतिक परिवर्तनले एउटा कोर्श पूरा गर्यो यो सुखद पक्ष हुँदै हो तर जनताको भाग्य र भविष्यमा अझै तात्विक र सकारात्मक परिवर्तन नदेखिनुले हामीलाई घोचिरहेकै छ । शिक्षा, स्वास्थ्य र दैनिक जीविकोपार्जनका लागि रोजगारको पहुँच आम जनतामा अझै पुग्न सकेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रलाई अकुत सम्पत्ति आर्जन गर्ने व्यापारको माध्यम बनाउन विधि निर्माताहरू स्वयम् नै संलग्न हुनु अक्षम्य अपराध हो ।
आम नागरिकको स्वास्थ्य लोकतान्त्रिक राज्यको दायित्व हुनै पर्दछ । यो दायित्वबोध राज्य र यसका निकायहरूले गर्न किन सकिरहेका छैनन् ? स्वास्थ्यको सवालमा अझै पनि नेपाली जनमानसमा भ्रम र अन्धविश्वासका जरा उखेलिएका छैनन् । सरकारले अहिले सुदूर पश्चिममा छाउगोठ भत्काउन प्रहरी प्रशासन परिचालन गरेको छ । तर हामीलाई लाग्छ– मानिसको दिमागबाट भ्रम, कुपरम्परा र अन्धविश्वासको जरा नउखेलेसम्म छाउगोठ भत्काएर मात्र कुनै अपेक्षित परिणाम आउन सक्दैन । बरु हजारौँ आमा दिदी र बहिनीहरू छाउ बार्न अब नाङ्गो आकाशमुनि ओत लाग्न पुग्नेछन् र छाउगोठमा भन्दा बढी असुरक्षित हुनेछन् । भ्रम, कुपरम्परा र अन्धविश्वास छिमल्न शिक्षा र चेतना निर्माण गर्नु पहिलो पूर्वशर्त हो ।
पुस्तौँ पुस्तादेखि अज्ञानता र अशिक्षाको जालोभित्र गुम्सिएका विकट एवम् दूरदराजका ग्रामीण नागरिकले निर्वाह गरिरहेको विरामी हुँदा धामी झाँक्री लगाउने परम्परालाई तोडेर विज्ञानसम्मत उपचार प्रविधिमा ल्याउन ती ठाउँमा राज्यले वैज्ञानिक शिक्षा र सुलभ स्वास्थ्य सुविधा पुर्याउनु पर्दछ । सुविधा सम्पन्न शहर केन्द्रित हाम्रा स्वास्थ्य योजनाहरूमा अरबौँ बजेट खन्याइसक्यौँ तर ती दूरदराजका ग्रामीण बस्तीमा सिटामोल र जीवनजल अझै पुगेको छैन । यो तीतो यथार्थ कहिले बदलिने अनि कसले बदल्ने ? व्यवस्था बदलिएको पनि वर्षौं भइसक्यो तर अवस्था उस्तै छ किन ? कागजका ठेलीहरूमा वर्षैपिच्छे सुन्दर अक्षरमा असाध्य राम्रा योजनाहरू बनाइन्छ । ती योजनाहरूमा करोडौँ करोड रकम छुटयाइन्छ । हाम्रै भोट पाएर निर्वाचित जनप्रतिनिधिहरूले जोडदार ताली बजाएर पारित पनि गर्नुहुन्छ । कार्यान्वयनका लागि परियोजनाहरू बन्छन्, तर ती विकट बस्तीहरूमा गएको चामल बीचैमा सकिएर मल मात्रै पुगेझैँ हुन्छ कसरी ? करोडौँ बजेट निखारेर ग्रामीण स्वास्थ्य केन्द्रमा निशुल्क बाँड्न पठाइएको औषधि गोदाममै डेट एक्सपायर भएपछि खाडलमा पुर्ने गरेका समाचार पढ्न हामी अभिशप्त छौँ किन ?
यी र यस्ता प्रश्नहरू असङ्ख्य छन् । यी प्रश्नहरूबाट राज्य बेखबर बन्न पाउँदै पाउँदैन । यसैसँग सम्बन्धित भएर स्वास्थ्य शिक्षा, स्वास्थ्य सम्बन्धी चेतना, सम्बन्धित निकायहरूप्रति खबरदारी गर्ने प्रमुख ध्येय राख्दै हेल्थपाटी मार्फत हामी स्वास्थ्य पत्रकारितामा जुर्मुराएका छौँ । हामी कति सफल हुन्छौँ त्यो त भविष्यले बताउने नै छ । यद्यपि स्वास्थ्य सरोकारसँग सम्बन्धित सवै निकायहरू, चिकित्सक, स्वास्थ्यकर्मी, अस्पत्ताल, स्वास्थ्य केन्द्रहरू र आम नागरिकबाट यथेष्ट सहयोग र सद्भाव प्राप्त हुने विश्वास हामीले लिएका छौँ । नागरिक स्वस्थ नभएसम्म राष्ट्र स्वस्थ हुनै सक्दैन भन्ने अवधारणा अनुरुप हामी स्वस्थ राष्ट्र निर्माणमा थोरै भए पनि हात बढाउने प्रयत्न गरिरहेका छौँ । त्यसैको एउटा माध्यम हो हेल्थपाटी डटकम । सुदृढ र दक्ष टिम निर्माण भएको छ । हेल्थपाटी डटकम शुभारम्भको यस अवसरमा म हेल्थपाटी टिमका तर्फबाट यहाँहरू सबैप्रति मन, वचन र कर्मले हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
तपाईँको अभिमत