दाँतमा कीरा लाग्नुको कारण र यसको रोकथामका उपायहरू (भिडियो)

मुख्यतः बिरामीहरू दाँत दुखेर नै अस्पताल वा क्लिनिक आउने गरेको पाइन्छ । पछिल्लो समय धेरैजसो बिरामी दाँत दुखेपछि मात्र आउने गरेका छन् । त्यसपछि कतिपय गिजा सुनिने, मुख सन्निने, दाँत फोहोर हुने, दाँत बाङ्गोटिङ्गो हुने, हल्लिएका दाँतहरू निकाल्नुपर्ने भए पनि क्लिनिक आउने गरेका छन् । यसैगरी नयाँ दाँत राख्नका लागि पनि सेवाग्राही आउने गरेका छन् ।
दाँत दुख्ने, गिजा वा मुख सुन्निने कारण चाहिँ कीरा लागेर हो । दाँतमा कीरा परेपछि त्यसले दाँत खाने र नसासम्म पुगेपछि दुख्ने, सुन्निने हुन्छ । फेरिक कतिपयलाई भने दाँत खाएर जरासम्म नै पुगेर पनि दुख्दैन । कीराले दाँत तलसम्म खाइसकेको हुन्छ तर दुखाई वा सुन्निने समस्या केही हुँदैन । सुरुवातमा कालो कालो देखिँदा प्रायजसो दुख्दैन । पछि चिसो वा गुलियो खाएपछि दुखेको महसुस हुन थाल्छ । क्रमशः तातो चिज खाँदा पनि दुख्ने हुन थाल्छ । खानेकुरा अड्किने समस्या पनि हुन्छ र दुख्न थाल्छ । पछि चाहिँ केही नखाँदै वा केही नगर्दै पनि दुख्नुका साथै सुन्निने समस्या पनि हुन्छ ।
कीराले दाँत खानुको कारण र कीरा लाग्न नदिने उपाय
मुखको स्वास्थ्यमा ध्यान नदिँदा दाँत कीराले खान्छ । राम्रोसँग मुख सफा नगर्ने, खाना खाएपछि ब्रस नगर्ने वा मुख सफा नगर्ने जस्ता कारणले दाँत कीरा लाग्ने वातावरण बन्छ । यदि सधैँ सफा राख्यौँ भने दाँतमा कीरा लाग्दैन । हरेक दिन कम्तिमा दुईपटक ब्रस ग¥यौँ भने कीरा लाग्नबाट जोगिन सकिन्छ ।
दाँत वा मुख स्वास्थ्यमा समस्या नै नभएपनि नजिकैको दन्तचिकित्सककहाँ गएर परामर्श, सल्लाह तथा जाँच पड्ताल गर्नुपर्छ । छ महिना वा एक वर्षमा एकपटक अनिवार्य दाँतको जाँच गराउनुभयो भने तपाईँ दाँतको समस्याबाट बच्न सक्नुहुन्छ । गुलियो वा केही खानेकुरा खानेबित्तिकै कुल्ला गर्नाले पनि दाँतमा कीरा लाग्नबा जोगिन सकिन्छ ।
गुलियोले दाँतमा कसरी कीरा लाग्छ ?
गुलियो खानेबित्तिकै दाँतमा कीरा लागिहाल्छ भन्ने होइन । गुलियो खाएपछि दाँतका चेपचापमा गुलियो अड्किन्छ । गुलियो भनेको कार्बोहाइड्रेट हो । यसमा यस्तो किसिमको तत्व हुन्छ जसले मुखमा भएको ब्याक्टेरियासँग एसिड बनाउनमा मद्दत गर्छ । एसिडले चाहिँ दाँतलाई खियाउँदै लैजान्छ । त्यसरी खिइएपछि त्यही ठाउँमा कीरा लाग्न सक्छ ।
चिनी वा गुलियो धेरै खाएर धेरै कीरा लाग्ने वा थोरै खाँदा थोरै कीरा लाग्ने भन्ने हुँदैन । यो कतिपटक खाइन्छ भन्ने कुरामा भर पर्छ । त्यसैले चिनी वा गुलियो खानेकुरा पटकपटक खानुहुन्छ भने थोरै पटक खानुपर्छ ।
कीरा लाग्ने समस्या बढ्दो
दाँतमा कीरा लाग्ने समस्यामा वृद्धि भइरहेको क्लिनिकमा गरिएको अभ्यासको तथ्याङ्कले देखाउँछ । यकिन तथ्याङ्क तोकेर उल्लेख गर्न नसके पनि दाँतमा कीरा लागेर आउने बिरामीको चाप बढिरहेको देखिन्छ । यसको मुख्य कारण भनेको खानपिन नै हो । हामी आफूलाई सजिलोका लागि आफूसँग नजिकमा भएको खानेकुरा खाने गर्छौँ । जसमा चिनीयुक्त खानेकुराहरू बढी हुन्छन् ।
सुर्तीले दाँतको कीरा मार्छ ?
कतिपयमा भ्रम छ कि दाँत दुख्दा सुर्ती चेप्नुपर्छ । यदि दाँतमा कीरा छ भने सुर्तीले कीरा मार्छ भन्ने विश्वास उनीहरूमा रहेको छ । तर सुर्तीले कीरा मार्दैन । यसले चाहिँ झन नकारात्मक असर पर्छ । मुख स्वास्थ्यमा मात्र नभएर सामान्यतः अन्य स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ । सुर्ती च्याप्दा चाहिँ गिजामा पनि समस्या ल्याउन सक्छ । दाँत छिटो हल्लिने पनि हुनसक्छ । त्यसैले दाँत दुख्यो भन्दैमा वा दाँत कीराले खायो भन्दैमा सुर्ती चेप्नु हुँदैन । साधारण स्वास्थ्यकै लागि पनि सुर्ती हानिकारक हुनाले चेप्नु हुँदैन ।
(डेन्टल सर्जन डा. रितु तिमल्सिनासँग सन्तोष निरा राईले गर्नुभएको कुराकानीमा आधारित)
तपाईँको अभिमत