बालबालिकामा जन्मदै हुन सक्छ मुटुरोग, कसरी थाहा पाउने ? (भिडियो)
बालबालिकामा पनि मुटुरोग हुन्छ भन्ने ज्ञान नेपालमा धेरैलाई नभएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रकी बालमटुरोग विशेषज्ञ डा. उर्मिला शाक्य बताउनुहुन्छ। यस सम्बन्धि विशेषज्ञ र प्रविधि नहुँदा रोग ढिलो पहिचान हुने गरेको उहाँको भनाइ छ।
डा.शाक्यका अनुसार आमाको गर्भमा हुँदै यो रोग भइसकेको हुन्छ। विश्वव्यापी तथ्याङ्क अनुसार, जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जनामा यो रोग हुन्छ।
उहाँका अनुसार आमाको गर्भमा हुर्किरहेको शिशुको मुटुको रक्तनली, मुटुको तल र माथिको पर्दा, मुटुका भल्भको अस्वाभाविक विकासक्रमबाट जन्मजात मुटुरोग हुन्छ।
जन्मजात मुटुरोग हुँदा मुटुको कोठाबीचका पर्दाहरूमा प्वाल पर्ने, रक्तनली र भल्भ खुम्चिने, रक्तनली उल्टो दिशाबाट विकसित हुने, भल्भ आंशिक वा पूर्ण रूपमा बन्द हुने र मुटुको दायाँ वा बायाँ भाग अविकसित हुने समस्याहरू देखिन्छन्।
प्रविधिका कारण गर्भमै रहँदा बच्चामा मुटुको समस्या भए / नभएको थाहा पाउन सकिन्छ, जसलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ। शिशु गर्भमा भएको १८ सातादेखि फिटल इकोकार्डियोग्राफी गर्न सकिन्छ।
अहिले जन्मजात मुटुरोगबारे सचेतना सप्ताह चलिरहेको छ। नेपालमा देखिने मुटुरोगमा जन्मजात मुटुरोग रहेको छ। जन्मजात मुटुरोगबारे शहीद गंगालाल हृदयरोग केन्द्रकी बालमुटुरोग डा.उर्मिला शाक्यसँग कुरा गरेका छौँ ।
जन्मजात मुटुरोग भनेको के हो ?
आमाको गर्भबाटै लिएर आउने मुटुको रोगलाई जन्मजात मुटुरोग भनिन्छ। आमाको गर्भमा रहँदै मुटुका विभिन्न भागको विकासक्रममा गडबडी हुँदा मुटुमा समस्या देखिन्छन्। जसअन्तर्गत मुटुको पर्दामा प्वाल पर्ने, मुटुका धमनीहरु साँघुरो हुने, रक्तनलीहरु बन्द हुने धमनीका भल्भहरु आशिंक या पूर्णरुपमा बन्द पनि हुनसक्छ। यस्तै मुटु जोड्ने नसाहरुमा समस्या आउन सक्छ।
यदि मुटुमा सानो प्वाल छ भने समयअनुसार विस्तारै टालिन सक्छ तर प्वाल ठूलो छ भने आवश्यकता अनुसार उपचार गरी शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ। कतिपयलाई जटिल प्रकारका मुटुरोगको समस्या पनि देखिन्छ।
मुटुका ४ वटा कोठाहरु हुन्छन्, माथिल्लो तहमा दुई र तल्लो तहमा २ वटा। माथिल्लो र तल्लो दुवै भागको बीचमा प्वाल पर्नसक्छ, कतिपय अवस्थामा बच्चाको २ वटा कोठा बनेकै हुँदैन। त्यस्तो अवस्थामा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ।
जन्मजात मुटुरोगको कारण के हो ?
जन्मजात मुटु रोग जो कोहीलाई पनि लाग्न सक्छ। करिब ८५ प्रतिशत जन्मजात मुटुरोगको कारण नै पत्ता लाग्दैन। करिब १५ प्रतिशतमा कारण पत्ता लाग्न सकिन्छ। कारणमा वंशाणु र वातावरणीय मिश्रित अवस्था रहन्छन्। वातावरणीय प्रधावमा ध्यान दिनसके केही बचाउन सकिन्छ।
गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइडको समस्या छ भने, मदिरा र चुरोटको प्रयोग गर्ने आमाका शिशु, स्टोरोइड औषधि खाइरहेका आमाका शिशु, गर्भावस्थामा भाइरल इन्फेक्सन भएमा, विकिरण प्रवाह हुने स्थानमा रहने महिलाबाट ज्नमने शिशुमा मुटुमा समस्या देखिन सकिन्छ। वंशाणु अन्तर्गत परिवारका सदस्यहरुमा मुटुका रोगहरु लागेको छन् भने जोखिम रहन्छ।
त्यसैले गर्भावस्थामै इको फिटल कार्डियोग्राफी गरे शिशुमा विकास भइरहेको मुटुको अवस्था जान्न सकिन्छ। मुटुबाहेक अन्य एनामोली समस्या जस्तै ओठ चिरिएको, तालुमा समस्या देखिएको, मलद्वार नभएको लगायतका समस्याहरु देखिन सक्छ त्यसैले गर्भावस्थामा विशेष ध्यान दिनुपर्छ।
आहारमा ध्यान दिनुपर्छ। १०-१५ प्रतिशत कारणलाई बचाउन सकिन्छ। कारण नै पत्ता नलागेको अवस्थामा भने लक्षणहरु ख्याल गरी समयमै उपचार गर्नेतर्फ सचेत रहनुपर्छ।
उपचार के हुन् ?
कतिपयलाई बच्चामा जन्मजात मुटुरोग रहेको थाहै पाइँदैन। बालबालिकामा जन्मजात हुने मुटुरोगलाई नीलो हुने र नहुने गरी दुई प्रकारमा हेर्ने गरिन्छ। फोक्सोमा रगतको मात्रा एकदमै कम हुन्छ। मुटुमा रक्तनलीहरु क्डा हुन्छ जसका कारण उनीहरुको मुटुको धडकन बढ्छ।
फोक्सोमा जाने धमनीहरु साँघुरो हुन्छ, बच्चाहरु रुँदा निलो हुन्छ कहिलेकाँही उनीहरु बेहोस् पनि हुनसक्छ।
जन्मजात मुटुको समस्या छ भने शिशु जन्मँदा उसको शरीरको रङ निलो हुन्छ। अक्सिजन दिँदा पनि उसको शरीरको रङ परिवर्तन भएन अनि रुँदा झन् निलो हुने समस्या देखियो भने शिशुलाई मुटुको समस्या भएको हुनसक्छ। बच्चामा निलोपना देखिए त्यो जटिल अवस्था हो।
शिशु जन्मँदा निलो नदेखिने पनि हुन्छ। मुटुमा प्वाल पर्ने, धमनीहरु साँघुरो हुने, रक्तनलीहरु बन्द हुने जस्ता समस्याहरु देखिन्छन्। यदि शिशुमा सानो प्वाल परेको छ भने साधारण शिशु जस्तै हुन्छ उसलाई कुनैपनि लक्षण देखिँदैन। मुटुको तल्लो कोठाको बीचमा प्वाल परेको अवस्था भिएसटी समस्या देखिन सकिन्छ। बच्चामा कारणवश केही स्वास्थ्य समस्या देखिएर चिकित्सक कहाँ लैजाँदा लक्षणहरुका आधारमा मुटु परीक्षण गर्न सुझाव दिन्छन्।
मुटुको पर्दामा प्वाल परेको बच्चामा बारम्बार निमोनिया हुने गर्छ। दूध चुस्दा पसिना आउने, थाक्ने, लामो-लामो श्वास फेर्ने लगायत लक्षणहरु देखिन्छन्। तौल नबढ्ने, दैनिक क्रियाकलाप गर्न नसक्ने। मुटु ठूलो हुँदै जान्छ र बाहिरीबाट छाती ठूलो देखिन्छ।
संसारभर हरेक एक हजार जीवित जन्मने शिशुमा ८ देखि १२ जनामा जन्मजात मुटुरोग लाग्ने गरेको पाइएको छ। त्यसैले कुनै देशमा बढी या कुनै देशमा कमी भन्ने हुँदैन तर उपचार ढिलो र छिटो भन्ने चाहीँ पक्कै हुन्छ।
आमाको पेटमा शिशु हुर्किरहेको अवस्थामै मुटु विकासको अवस्था हेर्न सकिन्छ। जुन फिटल इको कार्डियोग्राफी परीक्षणबाट थाहा पाउन सकिन्छ। नेपालमा पनि शहीद गंगालाल अस्पतालमा पनि फिटल कार्डियोग्राफी परीक्षण भइरहेको छ।
फिटल ईको कार्डियोग्राफी सेवा गंगालाल अस्पतालमा सन् २००७ सालदेखि उपचर सेवा छ। गर्भावस्थाको १८ देखि २४ हप्तामा यो परीक्षण गर्नुपर्छ ।
जन्मजात मुटुरोगबारे चेतना बढ्दै
जन्मजात मुटुरोगबारे अहिले चेतना बढ्दै गएको देखिन्छ। तर पनि दुरदराजमा बस्ने व्यक्तिहरु अझैपनि अनविज्ञ छन्। जानकार रहेपनि आर्थिक अवस्थाका कारण उपचारको पहुँचमा छैनन्। मुटुरोग विशेषज्ञ काठमाडौं बाहिर निकै कम छन्। अप्रेसन गर्नुपरेको अवस्थामा काठमाडौं नै आउनुपर्ने हुन्छ। तर भौगोलिक विकटता र आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु ढिलो उपचारमा आउछन्।
सन् २००६ देखि गंगालालमा बाल सहयोग संस्थाले १५ वर्षसम्मका बालबालिकालाई नि:शुल्क अपरेशनको व्यवस्था छ। यो भर्ना भएको अवस्थामाा पाउने सुविधा हो।
शिशु जन्मिएको २-४ घण्टामै पनि रिफर गरिने गरेको पाइन्छ। रोग पत्ता लाग्ने सुविधा नभएको स्थानका व्यक्तिहरु १४/१५ वर्षमा आइपुग्छन्। गंगालालमा धेरैजसो जन्मजात समस्या भएका मुटुरोग आउने गरेको छ।
तपाईँको अभिमत