हामीले नै प्रत्यारोपण गर्ने हो भन्दा केही बिरामी अझै झस्किन्छन्(भिडियो)
गत पुस २७ गते त्रिवि शिक्षण अस्पतालमा एघारौँ कलेजो प्रत्यारोपण भयो। त्यो प्रत्यारोपण नेपालको चिकित्सा क्षेत्रका लागि एक उपलब्धिको रुपमा दर्ज भयो। हुन त नेपालमा ३० भन्दा बढीको कलेजो प्रत्यारोपण भइसकेको छ।
भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले ७ वर्ष अगाडि पहिलो पटक नेपालमा कलेजो प्रत्यारोपण सुरु गरेको थियो। केन्द्रमा अहिलेसम्म १८ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ। त्यसको ३ वर्षपछि सुरु गरेको शिक्षण अस्पतालले पनि ११ जनाको कलेजो प्रत्यारोपण गरिसक्यो।
शिक्षण अस्पतालमा भएको ११औँ प्रत्यारोपण यस कारण विशेष रह्यो कि, यो काम नेपाली टिमले मात्रै गरेको थियो। नेपाली चिकित्सक, स्वास्थ्यकर्मीलाई ठूलो सफलता प्राप्त भएको थियो। यस अघिका कलेजो प्रत्यारोपणका सबै केसमा विदेशी चिकित्सकको संलग्नता तथा निगरानी रहने गरेको थियो।
यो सफलता हात पार्ने टिमको नेतृत्व गर्नुभएको थियो-ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा.रमेश सिंह भण्डारीले। यो तत्काल हात लागेको सफलता नभएर लामो समयको प्रयास र तयारीको प्रतिफल भएको डा.भण्डारी बताउनुहुन्छ।
‘एघारौँमा आएर हामीले गर्यौँ तर यसको पृष्ठभूमि निकै लामो छ’ डा. भण्डारी भन्नुहुन्छ, ‘कुनै न कुनै दिन हामीले गर्नै पर्छ भनेर त्यसका लागि तयार भइरहेका थियौँ।’
सन २०१९ मा पहिलो प्रत्यारोपण हुँदा भारतको एपोलो अस्पतालका चिकित्सकको टोलीले सहयोग गरेको थियो। पछिल्ला प्रत्यारोपणमा भारतकै फोर्टिस अस्तपालको टोली आउने गरेको थियो।
प्रत्यारोपणमा विदेशी चिकित्सकको भूमिका कम गर्दै लाने र नेपाली टिमको भूमिका बढाउँदै लैजाने गर्न थालिएको थियो।
प्रत्यारोपण मात्रै नभएर कलेजो, प्यांक्रियाज लगायतका अन्य जटिल अप्रेसन पनि धेरै भइरहेको डा.भण्डारीले जानकारी दिनुभयो। यिनै शल्यक्रियाहरुले पनि थप विश्वस्त बनाएको उहाँ बताउनुहुन्छ।
यो मात्रै नभएर शिक्षण अस्पतालमा गरिएको सातौँ कलेजो प्रत्यारोपण पनि डा.भण्डारी नेतृत्वको टिमले गरेको थियो। कोभिडका कारण त्यो समय बाहिरबाट चिकित्सकको टोली आउन सकेन।
सबै राम्रो भएपनि प्रत्यारोपण गरेका बिरामीलाई कोभिड संक्रमण भएकाले बचाउन नसकिएको दुखेसो डा.भण्डारीले पोख्नुभयो।
‘सातौँमा पनि हामी आफैँले गरेका थियौँ। कोभिडको समय थियो त्यो, अरु अप्रेसनहरू सबै सुरु भइसकेको थियो’ डा. भण्डारी सुनाउनुहुन्छ, ‘कलेजो प्रत्यारोपण कार्यक्रम नै बन्द होला कि जस्तो भइसकेको थियो। मिर्गाैला प्रत्यारोपण लगायत सबै सुरु भइसकेको भएर हामीले अब कलेजो प्रत्यारोपण गरौँ भनेर गरियो।’
प्रत्यारोपण सफल नै भएको थियो। बिरामी डिस्चार्ज हुने मा उहाँहरु विश्वस्त हुनुहुन्थ्यो। तर तेस्रो साता भएपछि प्रत्यारोपण गरेका व्यक्तिलाई कोभिड संक्रमण भयो।
‘प्रत्यारोपण गरेको मान्छेलाई कोभिड भयो, प्रतिरक्षा प्राणाली बढाउन औषधि खाइरहेको व्यक्ति, त्यसमा पनि नयाँ कलेजो थियो बचाउन सकिए’ डा.भण्डारी भन्नुहुन्छ।
बिरामी गुमाउनु परेका कारण त्यसलाई नेपाली टिमले मात्रै गरेको पहिलो प्रत्यारोपण भन्न नसकिएको उहाँको भनाइ छ।
अहिले बिरामीको पनि प्रत्यारोपण सफल त भएकै थियो। तर पनि डिस्चार्ज नहुँदासम्म एक किसिमको डर भइरहेको डा.भण्डारी सुनाउनुहुन्छ।
‘राम्रो नहोला कि भन्ने केही डर भइरह्यो।यसमा असफल हुनु भनेको एउटा अप्रेसनको वा एउटा बिरामीको मात्रै कुरा होइन’ भण्डारी भन्नहुन्छ, ‘राम्रो नभएको भए भोलि कलेजो प्रत्यारोपण सेवामा नै असर पर्न सक्थ्यो। हाम्रो राम्रो तयारी थियो। भागवानले पनि साथ दिए। ’
पछिल्लो प्रत्यारोपण गरिएका बिरामी नुवाकोटका हुन्। ४१ वर्षीय उनी ३ महिनाअघि टिचिङ आएका थिए। धेरै रक्सी पिएका कारण उनको कलेजो बिग्रिएको थियो। डा. भण्डारीले प्रत्यारोपण गर्नुपर्छ भनेपछि उनीहरु पनि तयार भए। प्रत्यारोपणका लागि कलेजो लिने दिने दुवैको परीक्षण भयो। ३–४ हप्ताको तयारी पछि प्रत्यारोपण भएको उहाँले सुनाउनुभयो।
सुरु–सुरु बिरामी, बिरामीका आफन्तले सोध्ने गर्थे– प्रत्यारोपणमा को–को संलग्न हुन्छ ? विदेशबाट डाक्टर आउछन् कि यही काले गर्ने हो। तर अहिले त्यसरी सोध्ने नगरेको डा.भण्डारीले बताउनुभयो।
‘सुरुको एक २ वटामा मात्रै बिरामीहरुले को आउने कहाँबाट आउने भनेर प्रश्न गर्नुहुन्थ्यो’ डा.भण्डारी सुनाउनुहुन्छ, ‘पछि जति आउनुभयो मेरो टिम र मप्रति विश्वस्त भएर आउनुभयो। कतिले त प्रश्न पनि गर्नुभएन। के गर्ने कसले गर्ने भनेर।’
उहाँका अनुसार शिक्षण अस्पतालमा गरिएका ११ प्रत्यारोपण मध्ये ७ जना सुरुमा भारत गएर फर्किएका थिए।
बिरामी डिस्चार्ज हुने निश्चित भएपछि डा.भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो टिमले पाएको सफलता सेयर गर्नुभयो। त्यसपछि देश–विदेशका सहकर्मीलाई पनि उहाँले जानकारी दिनुभयो। अग्रज, प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीसम्म म्यासेज पठाएर बधाइ दिएको उहाँ सुनाउनुहुन्छ।
कलेजो प्रत्यारोपणमा नेपाली टिम सक्षम छ भनेर प्रमाणित भइसकेकाले अब नियमित प्रत्यारोपण हुने डा.भण्डारीको विश्वास छ।
‘कलेजो प्रत्यारोपण एकदमै जटिल हो। त्यसमा पनि कोही केस धेरै जटिल हुन्छन्। ती अति जटिलबाहेकका नियमित प्रत्यारोपण हामी आफैँले गर्न सक्छौँ भनेर प्रमाणित भयो। अबका दिनमा नियमित गर्छौँ’ उहाँ भन्नुहुन्छ।
अहिले प्रत्यारोपणका लागि ३–४ जना बिरामी लाइनमा रहेको डा.भण्डारीले जानकारी दिनुभयो। मिल्यो भने तत्कालै अर्काे प्रत्यारोपण गर्ने तयारी हुँदैछ।
अब मिर्गाैला जस्तै कलेजो प्रत्यारोपण पनि नियमित हुने विश्वासमा रहेको उहाँ बताउनुहुन्छ।
डा.भण्डारीका अनुसार महिनामा दुई वटासम्म प्रत्यारोपणका लागि अहिले समस्या छैन। त्यो भन्दा बढी गर्नुपरेमा भने पूर्वाधार र जनशक्ति बढाउनुपर्ने हुन्छ। त्यसका लागि सरकारको सहयोग आवश्यक पर्छ।
उपचार खर्च अभावका कारण धेरै बिरामीको प्रत्यारोपण रद्द गर्नुपरेको डा.भण्डारी सुनाउनुहुन्छ। उपचार सुरु गरेदेखि प्रत्यारोपण भएर निस्कँदासम्म बिरामीको २५ देखि ३५ लाखसम्म खर्च हुन्छ। विदेशमा हुने प्रत्यारोपण भन्दा निकै सस्तो भएपनि मध्यम तथा निम्न वर्गीयका लागि निकै ठूलो रकम भएको उहाँ बताउनुहुन्छ।
यसमा सरकारले सहयोग गर्नसक्यो भने मध्यम आय भएका व्यक्तिले पनि सेवा लिन सक्ने डा.भण्डारी बताउनुहुन्छ।
कसैको कुरा सुनेर भन्दा पनि प्राप्त गरेको सफलतालाई हेरेर नेपाली टिमलाई विश्वास गर्न उहाँको आग्रह छ। धेरैले विश्वास गरेपनि केही बिरामी नेपाली टिमले मात्रै प्रत्यारोपण गर्ने भन्दा झस्किने डा.भण्डारी सुनाउनुहुन्छ।
‘आजै(माघ २२) पनि एकजना प्रत्यारोपण गराउनु पर्ने बिरामी आउनुभयो। उहाँले सोध्नुभयो–तपाइहरु आफैँ गर्ने होकि विदेशीहरु आउनुहुन्छ। मैले भने हामी आफैँ गर्ने हो। यो सुनेर उहाँहरु झस्कनुभयो’ डा.भण्डारी सुनाउनुहुन्छ, ‘यत्रो गरिसक्यौँ। प्रमाणित भइसक्यो अझै पनि मान्छेमा शंका हुन्छ। तर धेरैले यसरी सोध्नुहुन्न।’

केदार गौतम
तपाईँको अभिमत