एचआईभी सङ्क्रमित महिला सेवाग्राही होइनन्, परिवर्तनका संवाहक हुन् : डा. ढुङ्गेल
नेपालमा एचआईभी सङ्क्रमित महिलाहरूको सशक्तिकरण र क्षमता विकासको क्षेत्रमा डा. रीता ढुङ्गेलको अथक प्रयास र गहिरो प्रतिबद्धतालाई बुझ्न उहाँको व्यक्तिगत अनुभव, पेशागत यात्रा र वर्तमान कार्यक्रमका उद्देश्यहरूलाई केलाउनु महत्त्वपूर्ण हुन्छ। हाल क्यानाडाको युनिभर्सिटी अफ द फ्रेजर भ्याली, ब्रिटिस कोलम्बियामा अध्यापन गराइरहनुभएकी डा. ढुङ्गेल सामाजिक कार्य (Social Work) को क्षेत्रमा पनि उत्तिकै सक्रयताका साथ कार्य गर्दै आइरहनु भएको छ । उहाँले काठमाडौंमा एचआईभी सङ्क्रमित महिलाहरूका लागि एक सशक्तिकरण तथा क्षमता विकास तालिम कार्यक्रम लिएर आउनुभएको छ, जसको मुख्य लक्ष्य उहाँहरूलाई बलियो बनाउनु र नेतृत्व विकास गराउनु हो।
प्रेरणा र कार्यक्षेत्रको विकास
डा. ढुङ्गेललाई एचआईभी सङ्क्रमित महिलाहरूको पक्षमा काम गर्ने प्रेरणा सन् २००४ मा भारतको दिल्लीस्थित 'रेड लाइट एरिया'को भ्रमणबाट मिलेको थियो । मानव बेचबिखन सम्बन्धी काम गर्ने क्रममा उहाँले त्यहाँका नेपाली चेलीहरूको दयनीय अवस्था र तत्काल उद्धारको याचना सुन्नुभयो, जुन कुरा उहाँको मनमा गहिरो छाप बनेर बस्यो । यस घटनापछि उहाँ बिरामीसमेत पर्नुभयो तर यसले उहाँलाई मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अवस्थाबारे पीएचडी अध्ययन गर्न प्रेरित गर्यो ।
राज्यले नीति-नियम बनाउँदा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ र एचआईभी सङ्क्रमित महिलाहरूलाई योजना बनाउने र कार्यक्रम सञ्चालन गर्ने प्रक्रियामा प्रत्यक्ष संलग्न गराउनुपर्छ । उहाँहरूलाई सम्मानका साथ वार्तालापको टेबलमा राखेर उहाँहरूलाई कस्तो कार्यक्रम आवश्यक छ भनेर सोध्नुपर्छ ।
सन् २०११ देखि यसै क्षेत्रमा निरन्तर काम गर्दै जाँदा उहाँले मानव बेचबिखन र एचआईभीबीचको गहिरो अन्तरसम्बन्ध पत्ता लगाउनुभयो । यद्यपि, सबै मानव बेचबिखनका शिकार महिलाहरू एचआईभी सङ्क्रमित नहुने र सबै एचआईभी सङ्क्रमित महिलाहरू मानव बेचबिखनबाट प्रभावित नहुने स्पष्ट पार्दै उहाँले दुवै विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता महसुस गर्नुभयो । यसै क्रममा, एचआईभी सङ्क्रमित महिलाहरूको समस्यालाई वास्तवमै बेवास्ता गरिएको (overlooked) पाइएकोले पछिल्लो दुई वर्षदेखि उहाँले एचआईभी क्षेत्रमा थप सक्रियताका साथ पहल गरिरहनुभएको छ । उहाँको मुख्य ध्येय एचआईभी सङ्क्रमित महिलाहरूलाई आफ्नो कुरा राख्न, समस्या साझा गर्न र समाधान खोज्नका लागि एउटा स्वस्थ मञ्च प्रदान गर्नु हो ।
वर्तमान कार्यक्रम र सहभागीहरूको प्रतिक्रिया
हाल डा. ढुङ्गेलको पहलमा काठमाडौंमा सञ्चालित सशक्तिकरण तथा क्षमता विकास तालिम कार्यक्रममा सुरुमा २५ जना सहभागी राखिने भनिए पनि २९ जना एचआईभी सङ्क्रमित महिलाहरूले सहभागिता जनाएका छन् । यो कार्यक्रम युनिभर्सिटी अफ द फ्रेजर भ्यालीको आयोजनामा भएको हो र यसको लागि आर्थिक व्यवस्थापन गर्न गत वर्ष एचआईभी सङ्क्रमित महिलाहरूसँग गरिएको अध्ययनको आधारमा प्राप्त भएको हो । सो अध्ययनमा उहाँहरूले सशक्तिकरण, क्षमता विकास र नेतृत्व विकासको तालिमको अपेक्षा गर्नुभएको थियो ।

अहिले भइरहेको कार्यक्रममा सहभागीहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको छ । उहाँहरूले आफूलाई माया गर्नुपर्ने रहेछ भन्नेदेखि बजेट बनाउने, मानसिक र मनोसामाजिक अवस्थामा ध्यान दिने कुराहरू सिकेको बताएका छन् । कोभिड महामारी भन्दा यता यस्ता कार्यक्रमहरू नभएकाले दिदीबहिनीहरूबीच भेटघाट र अनुभव साटासाट गर्न पाउँदा पनि उहाँहरूले यसलाई ठूलो उपलब्धिका रूपमा लिएका छन् । यस कार्यक्रममा कार्यक्रम सञ्चालकदेखि लिएर योजना बनाउने र बजेट व्यवस्थापन गर्नेसम्मको सम्पूर्ण काम एचआईभी सङ्क्रमित महिलाहरू आफैंले गरिरहेका छन्, जसमा डा. ढुङ्गेलले सहयोगी भूमिका मात्रै निभाइरहनुभएको छ ।
एचआईभी सङ्क्रमित महिलाहरूका प्रमुख समस्याहरू
डा. ढुङ्गेलका अनुसार एचआईभी सङ्क्रमित महिलाहरूले सामना गरिरहेका मुख्य समस्याहरू धेरै छन् । यहाँ उहाँले केही समस्याहरूलाई औँल्याउनुभएको छ :
आधारभूत आवश्यकताको अभाव: उहाँहरूका लागि सबैभन्दा ठूलो समस्या खान, बस्न र लाउनको (खाना, बास र लत्ताकपडाको) अभाव हो । एचआईभी सङ्क्रमणबारे समाजमा थाहा भएपछि घर र समुदायबाट विचलित हुनुपर्ने अवस्था आउँछ । काठमाडौंमा घर भाडामा पाउन पनि गाह्रो हुन्छ । कोभिडकालमा राहत वितरण गर्ने संघ-संस्थाहरूले गाडीमा ब्यानर राखेर रासन पुर्याउँदा समुदायमा एचआईभी सङ्क्रमित भएको कुरा छर्लङ्ग भएर थप समस्या सिर्जना भएको थियो ।

रोजगारी र अवसरको कमी : धेरै महिलाहरूमा केही गर्ने उत्साह र उमङ्ग भए पनि अवसरको अभाव छ । एचआईभी सङ्क्रमित महिलाहरूका लागि आउने फन्डिङमा समेत सङ्क्रमण नभएका व्यक्तिहरूले काम गरिरहेको र उहाँहरूले काम नपाएको अवस्था छ । पछिल्लो समय अमेरिकाको नयाँ नीतिका कारण पनि उहाँहरू प्रभावित हुनुभएको छ ।
मानसिक र मनोसामाजिक समस्या: सहभागी महिलाहरूमध्ये धेरैले तनाव र डिप्रेसनको औषधि सेवन गरिरहेको बताउनुभएको छ । डा. ढुङ्गेल यसलाई रोगको सट्टा सामाजिक अन्यायको उपजका रूपमा हेर्नुपर्ने बताउनुहुन्छ ।

सामाजिक लाञ्छना र भेदभाव : एचआईभी सङ्क्रमित महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण र सोचाईमा परिवर्तन ल्याउनु अपरिहार्य छ । शिक्षित व्यक्तिहरूमा समेत एचआईभी सङ्क्रमणबारे पर्याप्त चेतना नहुँदा भेदभावको सामना गर्नुपर्ने अवस्था छ ।
तथ्याङ्कको अस्पष्टता र परीक्षणमा अनिच्छा : धेरै एचआईभी सङ्क्रमित महिलाहरूले आफ्नो पहिचान लुकाउने गरेकाले सही तथ्याङ्क उपलब्ध छैन । मानिसहरू एचआईभी परीक्षण गराउन डराउने वा अनिच्छुक हुने गरेका छन्, जसले गर्दा सङ्क्रमण फैलावट र उपचारमा पनि समस्या आउन सक्छ ।
कहिलेकाहीँ एउटा अँगालोले दुई दिनसम्म पुग्ने ऊर्जा दिन सक्छ । उहाँहरूलाई सदैव साथ दिनुहोस्, 'एजेन्ट अफ चेन्ज' भनेर लैजानुहोस्, 'बेनेफिसियरिस्ट' वा 'क्लाइन्ट' भनेर गणना नगर्नुहोस् ।
समस्या समाधानका उपायहरू
डा. ढुङ्गेलको काम गर्ने शैली र उहाँको दृष्टिकोण परम्परागत सेवा प्रवाहभन्दा भिन्न छ । उहाँ एचआईभी सङ्क्रमित महिलाहरूलाई केवल सेवाग्राही (Beneficiaries) को रूपमा नभई 'परिवर्तनका संवाहक' (Agents of Change) र 'नेता' (Leaders) को रूपमा हेर्नुपर्ने विचार राख्नुहुन्छ । उहाँको मुख्य जोड उहाँहरूसँग गहिरो सम्बन्ध र विश्वास निर्माण गर्नुमा छ, जुन कागजी अनुसन्धान वा टाढाबाट गरिने कार्यभन्दा बढी प्रभावकारी हुन्छ । उहाँ भन्नुहुन्छ, 'उहाँहरू बेनेफिसियरिज मात्र होइन नि, आज हेर्नुभयो उहाँहरूले हामीलाई सिकाइरहनुभएको छ' । समाधानका लागि उहाँले निम्न उपायहरू औँल्याउनुहुन्छ:
आर्थिक सशक्तिकरण: सीपमूलक तालिम मात्र दिएर पुग्दैन, उहाँहरूलाई व्यवसाय सुरु गर्न थोरै भए पनि पुँजी उपलब्ध गराउनु पर्छ ।

मानसिक र मनोसामाजिक स्वास्थ्यमा जोड: डिप्रेसन जस्ता समस्याहरूको समाधानका लागि निरन्तर परामर्श र सुरक्षित मञ्चहरू आवश्यक छन् । चाडपर्वमा जस्तै नाचगान र खुसी हुने अवसरहरू प्रदान गरेर पनि मानसिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।
राज्य र संघ-संस्थाहरूको भूमिकामा परिवर्तन: राज्यले नीति-नियम बनाउँदा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ र एचआईभी सङ्क्रमित महिलाहरूलाई योजना बनाउने र कार्यक्रम सञ्चालन गर्ने प्रक्रियामा प्रत्यक्ष संलग्न गराउनुपर्छ । उहाँहरूलाई सम्मानका साथ वार्तालापको टेबलमा राखेर उहाँहरूलाई कस्तो कार्यक्रम आवश्यक छ भनेर सोध्नुपर्छ ।
भेदभावको अन्त्य: समाजमा रहेको लाञ्छना र भेदभाव हटाउन जनचेतना अझ बढाउनु आवश्यक छ । डा. ढुङ्गेलले आफ्नै साथीभाइबाट समेत अप्रिय प्रश्नहरू सामना गर्नुपरेको उदाहरण दिँदै यो समस्या व्यापक रहेको बताउनुहुन्छ ।
सहयोग र समन्वय: सरकारी निकाय, अनुसन्धानकर्ता, प्राज्ञिक समुदाय, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूले एचआईभी सङ्क्रमित महिलाहरूको कुरा नजिकबाट सुन्ने र उहाँहरूसँग सहकार्य गर्ने वातावरण बनाउनु जरुरी छ ।
चुनौती र भविष्यको मार्ग
डा. ढुङ्गेललाई कहिलेकाहीँ क्याम्पसमा पढाउने मान्छेले समुदायमै आएर काम गर्नुपर्छ भन्दा साथीहरूले 'पागल' समेत भन्ने गरेको अनुभव छ, तर उहाँ आफ्नो प्रतिबद्धतामा दृढ हुनुहुन्छ । उहाँले यो वर्ष सशक्तिकरण र क्षमता विकास तालिम ल्याए पनि आगामी चुनौती आर्थिक सशक्तिकरण रहेको बताउनुहुन्छ । सरकारी निकाय र संघसंस्थाहरूले पनि यस्ता कार्यक्रमहरूमा एचआईभी सङ्क्रमित महिलाहरूलाई छुट्टी नदिने वा उनीहरूको समस्यालाई महत्त्व नदिने गरेको गुनासो उहाँको छ ।
डा. ढुङ्गेलको सबैमा एउटै निवेदन छ— एचआईभी सङ्क्रमित दिदीबहिनीहरूको कुरा सुन्नुहोस्, उहाँहरूलाई पैसा मात्रै नभई माया र सद्भाव प्रदान गर्नुहोस् । कहिलेकाहीँ एउटा अँगालोले दुई दिनसम्म पुग्ने ऊर्जा दिन सक्छ । उहाँहरूलाई सदैव साथ दिनुहोस्, 'एजेन्ट अफ चेन्ज' भनेर लैजानुहोस्, 'बेनेफिसियरिस्ट' वा 'क्लाइन्ट' भनेर गणना नगर्नुहोस् ।
उहाँको यो आह्वानले नेपालमा एचआईभी सङ्क्रमित महिलाहरूको अवस्थामा वास्तविक परिवर्तन ल्याउनका लागि समग्र समाज र राज्यको दृष्टिकोणमा गहिरो रूपान्तरणको आवश्यकतालाई उजागर गर्दछ । डा. ढुङ्गेल जस्ता व्यक्तिको लगनशीलताले यी महिलाहरूको मुहारमा हाँसो र जीवनमा आशा ल्याउने विश्वास गर्न सकिन्छ ।
(डा. ढुङ्गेलसँग हेल्थपाटीका लागि सन्तोष निराले गर्नुभएको कुराकानीमा आधारित)
हेल्थपाटी
तपाईँको अभिमत