गर्भावस्थामा गर्नै पर्ने परीक्षणहरू के-के हुन् ? (भिडियो)
गर्भवती भएपछि नियमित जाँच गराउनुपर्छ भन्ने कुरा प्रायलाई थाहा छ । खास गर्भ अवस्थामा जाँच गराउनै पर्ने कुराहरु के–के हुन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले हेल्थपाटीसँगको कुराकानीमा दिनुभएको जानकारी तल प्रस्तुत छ ।
गर्भवती महिलाले खानपिन र जीवनशैलीमा निकै ख्याल गर्नुपर्छ । त्यो बाहेक रगत परीक्षण र भिडियो एक्सरे पनि गर्नुपर्छ । गर्भ रहेको ३ महिनाभित्र कम्तिमा रगतको समूह, रगतमा हेमोग्लोबिन, सुगरको अवस्था, एचआइभी, हेपाटाइटिस बी र पिसाबको परीक्षण गर्नुपर्छ ।
भ्रुण बनेको छ कि छैन, बच्चा सही स्थानमा छकी छैन भन्ने लगायतका अवस्था जान्न भिडियो एक्सरे गराउनपर्छ । यी परीक्षणहरु नियमित परीक्षण अन्तर्गत पर्दछन् ।
विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा ८ पटक नियमित परीक्षण गर्नपर्ने सुझाब दिएबमोजिम आजकल सोही अनुसार परीक्षण केन्द्रित गरिएको छ ।
गर्भ रहेको १२ हप्तामा पहिलो, १६ देखि १८ हप्तामा दोस्रो एनामोलिस स्क्यान (शिशुको भ्रुणहरुको अवस्था कस्तो छ भन्ने परीक्षण गरिन्छ, जस्तै मस्तिष्क, आँखा, नाक, लगायत शरीरका प्रत्येक अंगको विकासको अवस्था हेरिन्छ) २० देखि २४ हप्तामा तेस्रो पटक (आमाको सुगरको मात्रा हेरिन्छ), २८ हप्तामा चौथो (भ्रुणको मुटुको अवस्था हेरिन्छ), ३२ हप्तामा पाचौं, ३४ हप्तामा छैठौँ, ३६ हप्तामा सातौँ र ३८ ( देखि ४० हप्तामा आठौं पटक गर्भको परीक्षण गर्नुपर्छ ।
यसअघि गर्भवतीले कम्तिमा ४ पटक नियमित परीक्षण गर्नुपर्ने अभ्यास थियो । साथै केही गर्भवतीहरुलाई विशेष जाँच पनि गर्नुपर्ने हुनसक्छ । जस्तै थाइरोइड, मुटुका अपरेशन गरेका, अन्य रोगका औषधि खाइरहेका महिलाहरु छन् भने उनीहरुलाई नियमितबाहेकका थप परीक्षणहरु गराउनपर्ने हुनसक्छ ।
परोपकार प्रसुती अस्पतालमा दिनमा कम्तिमा ८० जनाको शिशुको जन्म भइरहेको छ, वार्षिक २४ हजार शिशुको जन्म यस अस्पतालमा हुने गरेको छ ।
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका निर्देशक एवं स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.श्रीप्रसाद अधिकारीसँग गरिएको कुराकानी भिडियोमा पनि हेर्न सकिन्छ।
तपाईँको अभिमत