सम्झौता विपरीत अमर्यादित गतिविधि गर्नेसँग संघले सहकार्य गर्दैन

प्रा.मनकुमारी राई
नर्सिङ संघ नेपाल भरिका नर्सहरुको हक हित तथा अधिकार संरक्षणका लागि आवाज उठाउन २०१८ सालमा स्थापना भएको एक पेशागत संगठन हो । हाल नेपालमा करिव ९५ हजार नर्स रहेका छन् । वर्षाैंदेखि नर्सिङ पेशामा नर्सिङ शिक्षा र सेवा दुवै क्षेत्रमा पीडित छन्, नर्सहरु ।
पहिला के प्रष्ट हुन जरुरी छ भने संघ भनेको कार्यान्वयन गर्ने निकाय होइन । यसले समस्या समाधानको पहल गर्ने हो । त्यसैले आन्दोलित नर्सहरुको सबै माग नर्सिङ संघले पूरा गर्ने होइन । उहाँहरुको माग स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, नर्सिङ परिषद्ले निर्णय गरि कार्यान्वयन गराउने हो ।
हामी अहिले सोही कार्यान्वयन गराउने लडाइँमा छौँ । हाल आन्दोलित नर्सहरुले राख्नुभएका कुनै पनि माग नयाँ होइनन्, ती सबै मागहरु संघको वर्षाैदेखिको एजेण्डा हो । संघले पहल गरिरहेको छ । तर उहाँहरु निकै उग्र हुनुभयो । नर्सिङ मुद्धालाई भ्रष्टाचारी विरुद्धको महा–अभियान भन्ने एउटा समुहमार्फत संघमा ज्ञापनपत्र बुझाउनुभएको छ, जबकी नर्सको मुद्धा नर्सहरुले नै उठाउने हो । हाम्रो नेपाल हामी नेपाली भन्ने संस्थाले नर्सिङ संघमा राखेको माग विगत लामो समयदेखि यसै संघले सम्वन्धित निकायहरुमा पेस गरि निरन्तर पहल गर्दै आएको र हाल कोरोनाको समयमा थपिएका समस्याहरु पनि संघले प्रमाणहरु जुटाइ पहलकदमी गरिरहेको छ ।
र, पनि नर्सको हक हितका लागि उहाँहरुले देखाउनुभएको सक्रियतालाई संघले सम्मान गरेकै थियो । संघले उहाँहरुको मागलाई साझा मागका रुपमा लिएर उहाँहरुकै सम्मान गरेर सहकार्य गरेर अघि बढ्ने बचन दिँदा दिँदै उहाँहरु संघमा आएर तोडफोड गर्न थाल्नुभयो । आजको भोलि समाधान हुनुपर्ने जस्तो गरि उहाँहरु उग्र हुन थाल्नुभयो । संघमा आएर तथानाम बोल्ने जस्ता असभ्य व्यवहार देखाउन थाल्नुभयो । संघले बारम्बार मागका विषयमा पहल गर्ने बताउँदै गर्दा संघमा आएर तोडफोड गर्ने, कागजातहरु च्यातिदिने लगायतका अशोभनीय गतिविधि दोहाेर्याउनुभयो । संघका पदाधिकारीहरुको चरित्रहत्या हुने गरि सामाजिक सञ्चालमा भ्रम फैलाउँदै संघलाई नै घृणित गराउने काम गरिरहनुभयो ।
संघमा उहाँहरुबाट भएका गतिविधिले वरपरका मानिसहरु चकित भएका छन् । पटक–पटक सम्झाउँदा पनि नलागेपछि संघले उहाँहरुसँग जोडिएर अघि नबढ्ने निर्णय गरेको छ । सम्झौता विपरीत काम गर्नेसँग संघले सहकार्य गर्दैन । उहाँहरु आफ्नै समुहबाट सम्बन्धित निकायमा पहल गर्नुहुन्छ, संघ आफ्नै ढंगबाट अघि बढ्नेछ । संघ, नर्सहरुको अभिभावक थियोे, हो र पछिसम्म हुनेछ । नर्सिङ क्षेत्रलाई माथि उठाउन संघको सदैव पहल हुनेछ । संघले नर्सिङ शिक्षा र सेवा तर्फका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र श्रम मन्त्रालय समक्ष माग गरेको छ । संघले तीनवटै मन्त्रीहरुलाई भेटेर सम्वोधनका लागि गम्भीर भएर लाग्न भनेको छ । संघले मन्त्रालयहरुमा प्रस्तुत गरेका मागबारे केही प्रष्ट्याउँछु ।
स्वास्थ्य मन्त्रालयलाई बुझाएको मागपत्र
–गैरसरकारी तथा निजी संघ संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक सेवा सुविधा न्यूनतम नेपाल सरकारले तोके बमोजिम उपलव्ध गराउन निर्देशन गरिनुपर्ने ।
–नर्स र अन्य स्वास्थ्य सेवा प्रदायक बीच भएको विभेदपूर्ण व्यवहार अन्त्य गर्न र गराउन लोक सेवा आयोग मार्फत नर्सिङमा स्नातक गरेका नर्सहरुलाई आठौं तहमा सेवा प्रवेश(पहिलो नियुक्ति) प्रावधान हुनुपर्ने साथै सेवा सुविधाको हकमा खाइपाई आएको जोखिम भत्ता काटिएको हुँदा तलवको २५ प्रतिशत उपलव्ध गराउनुपर्ने ।
–नर्सहरूको कार्यदायरा फराकिलो पार्न स्कूल हेल्थ नर्स देशभर पुर्याउनुपर्ने, साथै औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै औद्योगिक नर्सको अनिवार्य व्यवस्था गराउनुपर्ने ।
–निजी तथा गैरसकारी संस्थामा कार्यरत नर्सहरुलाई तलव भत्ता, जोखिमभत्ता, रात्री सेवा भत्ताको सुविधा तथा सुत्केरी बिदा सरकारी सरह उपलव्ध गराउने व्यवस्था लागू गरिनुपर्ने ।
–जनताको मौलिक अधिकार र स्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न स्टाफ नर्सदेखि बरिष्ठ नर्सिङ प्रशासकसम्म देशभरि आवश्यक पदमा लोक सेवा खुलाउन जरुरी भएकाले यथाशीघ्र कार्यान्वयन गरिनुपर्ने ।
–सुत्केरी भएको दुई वर्षसम्म र ५० वर्ष नाघेको नर्सहरुलाई रात्रिसेवा गर्नु नपर्ने व्यवस्था गरिनुपर्ने ।
–नेपाल सरकारको नियुक्तिमा एकै पदमा लामो समयसम्म काम गर्नुपर्ने विभेदपूर्ण नीतिको अन्त्य गरिनुपर्ने र समायोजन तथा पदस्थापनमा देखिएका त्रुटिहरुको सम्बोधन गरिनुपर्ने ।
–जेष्ठता र शैक्षिक योग्यताका आधारमा स्वास्थ्य संस्थाको प्रमुख बनाउनुपर्ने ।
–नर्स कर्मचारीहरुलाई शारीरिक तथा मानसिक रुपमा सुरक्षित कार्यस्थलको सुनिश्चितता गराउनुपर्ने । स्तरीय नर्सिङ सेवाको लागि नर्स र बिरामीको अनुपात अनिवार्य लागू गरिनुपर्ने ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरिएका मागहरु
–नर्सिङ शिक्षा स्तरीय, सर्वसुलभ, वैज्ञानिक बनाउन र विश्व जगतको माग अनुसार विद्यार्थीको अनुपात र शैक्षिक भौतिक आधारहरुको व्यवस्था गराउने
–नर्सहरुको कार्यदायरा अरु फराकिलो पार्न स्कूल हेल्थ नर्स देशभरी पुर्याउन निरन्तरता दिनुका साथै औद्योगिक नर्सको व्यवस्था गर्नुपर्ने ।
–अनमीहरुलाई विशेष कार्यक्रम अन्तरगत स्टाफ नर्समा अध्यापन गराउन छात्रवृत्तिको व्यवस्था साथै नेपाल सरकारमा कार्यरत स्टाफ नर्सहरुलाई विगतमा रहेको उच्च शिक्षा, अध्यापनको(बिएन) छात्रवृति कोटा यथावत राख्ने व्यवस्था गराउनुपर्ने ।
–चिकित्सा शिक्षा आयोगमा रहने ४ वटा कार्यकारीको निर्देशकको पदमा चिकित्सहरुबाट मात्र प्रतिनिधित्व गराइएकोमा नर्सिङ सेवाबाट पनि अनिवार्य प्रतिनिधित्व गराउने प्रावधान राख्नुपर्ने ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयतर्फ
–सरकारी तथा निजी संघ संस्थामा कार्यरत नर्स कर्मचारीहरुको न्यूनतम सेवा सूविधामा एकरुपता नभएकाले सरकारी अस्पतालमा कार्यरत विकास समिति तथा अन्यबाट सेवा प्रवेश गरेको नर्सहरुको सेवा सुविधा समान नभएको हुनाले आवश्यक पहल गरिदिनुपर्ने । जस्तै तलव स्केल, सुत्केरी बिदा, रात्री सेवा, खाजा भत्ता आदि ।
–निजी संस्थामा कार्यरत नर्स कर्मचारीहरुलाई कम्तीमा नेपाल सरकारले उपलव्ध गराएको तलवसेवा सुविधा उपलव्ध गराउनुपर्ने ।
–वैदेशिक रोजगारमा जाने नर्सहरुको पेशागत सुरक्षाको सुनिश्चितताको गराउन साथै सहि तथ्यांक राखी नेपाल नर्सिङ संघमा उपलव्ध गराउने व्यवस्था गराउनुपर्ने ।
–निजी संस्थामा कार्यरत नर्सहरुको तलव लगायतका आर्थिक कारोबार अनिवार्य रुपमा बैंक मार्फत गराउनुपर्ने ।
–अन्तर्राष्ट्रिय श्रम ऐन अनुसार बढी समय काममा लगाएबापत् थप तलव सुविधा उपलव्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने व्यवस्था गराउनुपर्ने ।
(राई नर्सिङ संघकी अध्यक्ष हुनुहुन्छ ।)
तपाईँको अभिमत