वीर अस्पतालमा स्वास्थ्यमन्त्रीका मान्छे राख्न एक दिने सूचना !
वीर अस्पतालमा कोभिडका बेला राखिएका नर्स, डाक्टर एवं कर्मचारीलाई केही साताअगाडि एक्कासी निकालिएको घटना अझै सेलाएको छैन ।
असोज २१ गते २२१ जना कर्मचारी हटाएर असोज २८ गते घटस्थापनाको विदाको दिन पारेर न्याम्सको आकस्मिक सभा (सिनेट)को बैठकमार्फत ६३ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरियो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान अन्तर्गत वीर अस्पतालमा करारमा कर्मचारी भर्ना गर्ने निर्णय भयो ।
यो घटना सेलाउन नपाउँदै वीरमा फेरि कर्मचारी नियुक्तीको विषयमा अर्काे चलखेलको घटना बाहिर आएको छ । कार्तिक १० गतेको मिति राखेर करार सेवामा लिने गरी विज्ञापन निकाले तर त्यो विज्ञापन म्याद सकिने दिन आजमात्रै सार्वजनिक भएको पाइएको छ ।
पदपूर्ति समितिबाट १० गते भएको निर्णय म्याद सकिने दिन त्यो पनि कार्यालय समय सकिने बेलामा मात्रै सार्वजनिक गरिएपछि अस्पतालका केही कर्मचारीहरुले अख्तियार र प्रधानमन्त्री कार्यालयमा उजुरी गर्ने तयारी गरेका छन् ।
एक कर्मचारीका अनुसार दरखास्त बुझाउने अन्तिम दिन आज १७ गते शुक्रबार ३ बजे सम्म राखिएको भएपनि अस्पताल प्रशासनले भने उक्त सूचना १७ गते ११ बजे तिर मात्रै नयाँ सर्जिकल भवनमा टाँसेका थिए । ‘सूचनाबारे सार्वजनिक रुपमा जानकारीनै नदिई सुटक्क अन्तिम दिन थाहा गराउनु भनेको स्वास्थ्य मन्त्री र न्याम्सका उच्च अधिकारीहरुका आफ्ना मान्छे नियुक्तीको चलखेल हो,’ एक कर्मचारीले भन्नुभयो, मन्त्रीको मान्छे राख्न एक दिने सूचना निकाल्ने ? मन्त्रीका मान्छे सबैलाई जानकारी दिई निवेदन दर्ता गर्न लगायका छन्, हामी यो कार्यको घोर विरोध गर्दछौ ।’
विज्ञापन अनुसार अन्तर्वाता पर्सि कार्तिक १९ गते ९ बजेलाई तोकिएको छ । ‘स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि–२०७६’ अनुसार प्रतिष्ठानले कात्तिक १० गते नै पदपूर्तिको निर्णय गरेको सूचनामा उल्लेख छ ।
उक्त सूचनाअनुसार मेडिकल ल्याब टेक्नेसियन, ल्याब टेक्नेसियन, इलेक्ट्रिसियन, प्लम्बर, लिफ्ट असिस्टेन्टसहित १३ जना कर्मचारी माग भएको छ। उक्त पदमा दरखास्त दिनका लागि योग्य उम्मेदवारलाई शुक्रबारसम्मको समयमात्रै दिइएको भएपनि सूचनानै लुकाउने काम भएको एक अधिकारीले जानकारी दिनुभयो । यो सूचनाबारे न्याम्स र अस्पताल प्रशासनसँग बुझ्न खोज्दा उहाँहरु
सँग सम्पर्क हुन सकेन ।
तपाईँको अभिमत