गतवर्ष डेंगी नदेखिएका स्थानमा यो वर्ष महामारीको रुप लिन सक्ने जाेखिम
वर्षायामसँगै डेंगी संक्रमण बढिरहेको छ । यो वर्ष ७ हजार ७ सय ३३ जनालाई डेंगी संक्रमण पुष्टि भइसकेको छ । ७ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी संक्रमण सुनसरीको धरानमा देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरुमा यस वर्ष संक्रमण धेरै देखिएको छ ।
डेंगीको उपचार सरकारी अस्पतालहरुमा निशुल्क हुने भएकाे छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना तथा इपिडिमियोलोजी (इडिसिडी)तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा भएको डेंगी महामारी र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले डेंगीको उपचार सरकारी अस्पतालहरुमा निशुल्क हुने जानकारी दिनुभयो । डेंगीको परिक्षण शुल्कलाई एकरुपता ल्याउन समिति बनाएर काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
हाल डेंगीको परिक्षण शुल्क ७०० देखि १२५० सम्म लिएको पाइएको छ । साथै उहाँले स्वास्थ्य पत्रकार मञ्चलाई आर्थिक सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले डेंगी संक्रमणका लागि शशक्त भएर काम गरिरहेको बताउनुभयो । संक्रमण नियन्त्रणमा जनशक्तिको अभाव चुनौती रहेको उहाँले बताउनुभयो ।
इडिसिडी महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले ७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीको रुप लिनेसक्ने चेतावनी दिनुभयो ।
उहाँले गत वर्ष महामारीको रुप नलिएको ठाँउमा जतिबेला पनि महामारीको रुप लिन सक्ने बताउनुभयो । गतवर्ष काठमाडौं उपत्यका, हेटौडा, चितवनमा डेंगीले महामारीको रुप लिएको थियो । यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ । साथै उहाँले वर्षाैसम्म डेंगी संक्रमण देखिरहन सक्ने चुनौती रहेको बताउनुभयो ।
सुनसरीमा ५ हजार ३९८ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु सबै वीपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत संक्रमित रहेको निर्देशक मरासिनीले बताउनुभयो ।
कार्यक्रममा शुक्रराज टर्पिकल तथा सरुवा रोग अस्पताल टेकूका प्रमुख कन्सल्टेन्ट डा.विमलशर्मा चालिसेले नेपालमा डेंगीको ४ वटै सेरोटाइप देखिएको बताउनुभयो । अहिले काठमाडौंमा डेंगीका बिरामी खासै नदेखिएको बताउदै उहाँले डेंगीले काठमाडौंमा महामारी लिने या नलिने भन्न थप २– ३ हप्ता कुर्नपर्ने बताउनुभयो ।
नेपालमा सबैभन्दा धेरै सेरोटाइप १ र ३ देखिएको उहाँले बताउनुभयो । ८० प्रतिशतलाई डेंगीको लक्षण नदेखिने बताउनुभयो ।
एकै व्यक्तिलाई दोहोरिएर संक्रमण भए संक्रमितलाई गम्भिर बनाउन सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उपचारात्मक महाशाखाका निर्देशक डा.अनुप बाँस्तोलाले डेंगी नियन्त्रणका लागि टायर फाल्ने अभियान सुरु गर्नपर्ने बताउनुभयो । उहाँले जताततै टायर रहेकाले ती टायरमा जमेको लार्भालेनै डेंगी फैलाइरहेको बताउनुभयो ।
डेंगी संक्रमण नियन्त्रणका लागि विद्यालय शिक्षामानै डेंगी संक्रमण र रोकथामको विषय समावेश हुनपर्ने बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य क्षेत्रमा संवेदनशिल भएर स्वास्थ्य पत्रकारहरुले कलम चलाइरहेको बताउनुभयो ।
डेंगी एडिस जातको लामखुट्टेले सार्छ ।
लामखुट्टेले टोकेको ४ देखि १० दिनभित्र लक्षण देखिन्छ । धेरैजसो व्यक्तिहरूमा डेंगीका सामान्य तथा मध्यम खालका लक्षण देखिन्छन् ।निको हुन् लक्षण देखिएको १ देखि २ हप्तासम्म लाग्छ । सन् २०२२ मा ५४ हजार ७८४ जनालाई डेंगी संक्रमण भएको थियो । ८८ जनाको मृत्यु भएको थियाे ।
नेपालमा विस २०६१ सालमा पहिलो पटक डेंगी पुष्टि भएको थियो । त्यसयता बेलाबेलामा महामारीनै फैलिएको छ । सन् २०१० यता नेपालमा प्रत्येक ३ / ३ वर्षमा महामारी फैलिएको तथ्यांकले देखाएको छ । नेपालमा सन् २०१३, २०१६, २०१९ र २०२२ मा महामारी देखिएको छ ।
सामान्य लक्षण
-एक्कासी उच्च ज्वरो आउनु (१०२) डिग्री
-अत्याधिक टाउको दुख्नु
-आँखाको गेडी दुख्नु
-ढाड जोर्नीे तथा मांशपेशीहरू दुख्नु
-वाकवाकी लाग्नु,
-वान्ता हुनु
-ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरू देखा पर्नु
गम्भीर लक्षण
-अत्याधिक पेट दुख्नु
-लगातार वान्ता आइरहनु
-छिटो छिटो सास फेर्नु
-गिजा वा नाकबाट रगत बग्नु
-थकान
-वान्ता वा दिशामा रगत देखिनु
-मुख सुख्खा हुनु
-छालाको रंग पहेँलो हुनु
-कमजोर महसुस हुनु
यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ । संक्रमणमुक्त भइसकेपछि पनि लामोसमय सम्म थकानको महसुस हुनसक्छ ।
हेल्थपाटी
तपाईँको अभिमत