एक व्यक्तिलाई चार पटकसम्म हुनसक्छ डेंगी, दोहोरिए जटिल
सेप्टेम्बरसम्म डेंगीको अति जोखिम
गत वर्ष महामारीको रूप लिएको डेंगी संक्रमणको जोखिम यो वर्ष पनि उत्तिकै रहेको विज्ञहरूको भनाइ छ । माघ महिनादेखि अहिलेसम्म ६६ जिल्लाका ११९२ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। एक जनाको मृत्यु भएको छ।
७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले सबैतिर डेंगीको जोखिम छ भनेर बुझ्नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । वर्षायाम सुरु भएसँगै डेंगी संक्रमणको जोखिम पनि बढ्दै जान्छ।
सन् २०२२ मा जनवरी देखि जुलाई महिनासम्म ६० जिल्लाका ८८५ जनालाई डेंगी संक्रमण पुष्टि भएको थियो । जसमध्ये सबैभन्दा धेरै मकवानपुर,रुपन्देही,ललितपुर,धादिङ, काठमाडौंबाट डेंगी संक्रमित पुष्टि भएका थिए । याे वर्ष अहिलेसम्म सबैभन्दा धेरै संक्रमित दार्चुलामा भेटिएका छन् जबकी गत वर्ष यही अवधिमा दार्चुलामा २ जनालाई मात्रै संक्रमण पुष्टि भएकाे थियाे ।
विज्ञहरुका अनुसार डेंगी सार्ने लामुखट्टेलाई अण्डा वृद्धि विकास गरी वयस्क बन्न ५ दिनभन्दा बढी जमेको सफा पानी चाहिन्छ । अघिल्लाे वर्ष धेरै संक्रमण देखिएका ठाउँमा पछिल्ला वर्षहरुमा पनि उही रफ्तारमा संक्रमण बढ्छ भन्ने हुँदैन । डेंगी सार्ने लामखुट्टेलाई लार्भा वृद्धि विकास लागि जमेको सफा पानी चाहिने भएकाले जुन स्थानहरुमा त्यस्ता पानीहरु हुन्छन् सोही स्थानहरुमा संक्रमण पनि बढ्ने कीट विशेषज्ञ प्राडा.मुरारीलाल दास बताउनुहुन्छ ।
उहाँका अनुसार गत वर्षको तुलनामा यो समयमा काठमाडौंमा वर्षा धेरै नभएकाले पनि यहाँ गतवर्षको भन्दा कम डेंगी संक्रमित भेटिएको हुनसक्ने प्राडा दास बताउनुहुन्छ । लगातार पानी पर्दा डेंगीको जोखिम उच्च हुने उहाँको भनाइ छ ।
विज्ञहरूका अनुसार नयाँ व्यक्ति त छँदैछ, पहिल्यै डेंगी संक्रमण भइसकेका व्यक्तिलाई पनि दोर्याएर संक्रमण हुने खतरा उस्तै छ ।
डेंगीको संक्रमण भइसकेका व्यक्तिलाई पुनः संक्रमण भए स्वास्थ्य अवस्था जटिल हुनसक्छ । डेंगी एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एडिस जातको लामखुट्टे शरीर तथा खुट्टामा सेतो थोप्लाहरू भएको सानो र कालो रंगको हुन्छ । रंग र आकारको कारण यसलाई हत्तपत्त देखिँदैन ।
डेंगी सार्ने भाइरसका ४ वटा स्वरूप (सेरोटाइप) हुन्छन् । डेन्भ १, डेन्भ २, डेन्भ ३, डेन्भ ४ । नेपालमा यी चारै स्वरूपका भाइरसबाट संक्रमण भएको पुष्टि भइसकेको छ। अध्ययनका अनुसार एकपटक एउटा सेरोटाइपको डेंगी लागिसकेपछि सोही व्यक्तिलाई फेरी उही सेरोटाइपबाट संक्रमण हुँदैन । यसको अर्थ फरक -फरक स्वरूपका भाइरसले एक व्यक्तिलाई ४ पटकसम्म डेंगी संक्रमण गराउन सक्छ।
गतवर्ष सेरोटाइप १ र ३ ले संक्रमण गराएको बिरामी धेरै देखिएको थियो । नेपालमा केही वर्ष अगाडि सेरोटाइप ४ फाट्टफुट्ट मात्रै देखिएको थियो । हालैका वर्षमा यो सेरोटाइपको संक्रमण देखिएको छैन ।
नेपालमा चार वटै सेरोटाइपको संक्रमण देखिसकेको छ । गतवर्ष सेरोटाइप १ र ३ ले संक्रमण गराएको बिरामी धेरै देखिएको थियो।
नेपालमा केही वर्ष अगाडि सेरोटाइप ४ फाट्टफुट्ट मात्रै देखिएको थियो। हालैका वर्षमा यो सेरोटाइपको संक्रमण देखिएको छैन।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे, अहिलेसम्मको अनुसन्धानले पहिलो पटक जुन सेरोटाइप भाइरसले संक्रमण भएको छ, फेरि त्यही भाइरसले संक्रमण गरेको नदेखाएको बताउनुहुन्छ।
उहाँका अनुसार अघिल्लाे पटक संक्रमण भएर निको भएपछि केही समयसम्म प्रतिरोधात्मक क्षमताको विकास हुने भएपनि संक्रमण दोहोरिने सम्भावना उत्तिकै रहिरहन्छ। यदि पुन संक्रमण भए संक्रमितलाई पहिलाकाेभन्दा गम्भीर बनाउन सक्छ ।
४ प्रकारका भाइरसले डेंगी संक्रमण गराउने भएकाले एक व्यक्तिलाई ४ पटकसम्म संक्रमण गराउने जोखिम रहेको र प्रत्येक डेंगी ज्वरोको पुन संक्रमण अघिल्लो संक्रमणभन्दा खतरनाक हुनसक्ने डा.चालिसेको भनाइ छ।
'गतवर्ष केही व्यक्तिलाई दोहोरिएर संक्रमण भएको थियो । उनीहरूलाई कडा खालको लक्षण देखिएको थियोे' डा. चालिसेले भन्नुभयो, 'पेट सुन्निने, वान्ता हुने, शरीरका अंगहरूले काम नगर्ने जस्ता लक्षण देखिएर अस्पताल भर्ना भएका थिए ।'
कडा लक्षण भएर अस्पताल भर्ना हुँदा उनीहरूको अस्पतालको बसाँइ पनि लामो हुने डा.चालिसेले बताउनुभयो ।
यसवर्ष भने दोहोरिएर संक्रमण भएको केस टेकु अस्पतालमा नआएको उहाँले जानकारी दिनुभयो । यद्यपी डेंगीको संक्रमण बढ्दै जाने समय भएकाले सचेत रहनुपर्ने सुझाव उहाँको छ ।
लामखुट्टेले टोकेको ४ देखि १० दिनभित्र लक्षण देखिन्छ । धेरैजसो व्यक्तिहरूमा डेंगीका सामान्य तथा मध्यम खालका लक्षण देखिन्छन् ।निको हुन् लक्षण देखिएको १ देखि २ हप्तासम्म लाग्छ ।
यसो भन्दै गर्दा डेंगी संक्रमण गम्भीर हुँदैन भनेर बुझ्न नहुने उहाँको भनाइ छ । गत वर्ष डेंगी संक्रमणकै कारण ८८ जनाको मृत्यु भएको स्मरण गर्दै उहाँले यो वर्ष संक्रमणको पिक टाइम आउन बाँकी नै रहेकोतर्फ सचेत गराउनुभयो ।
गत वर्षहरूको प्रवृति हेर्दा जुलाई देखि डेंगी बढ्ने र सेप्टेम्बरमा उत्कर्षमा पुग्ने गरेको छ । डिसेम्बर महिनापछि संक्रमण कम हुने गरेको पाइएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. रुद्र मरासिनीले वर्षायाम सुरु भएसँगै डेंगीको संक्रमण बढ्दै गएको बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष सेप्टेम्बरमा सबैभन्दा धेरै संक्रमित भएका थिए । वर्षायाममा घरवरपर पानी जम्ने भएकाले यसपछिका ३ महिना डेंगीको अति जोखिम समय हो ।
डेंगीको संक्रमण बढ्ने समय सुरु भएको र डेंगी सार्ने लामखुट्टेको भाइरस ७७ वटै जिल्लामा रहेकाले कुनैपनि बेला महामारीको रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नियन्त्रणको काम सुरु गरिएको जानकारी डा.मरासिनीले दिनुभयो । गत वर्ष महामारी फैलिएका स्थानहरूमा स्थानिय निकायहरूलाई नियन्त्रणको गतिविधि (खोज र नष्ट अभियान) चलाउन पत्राचार गरिएको उहाँले बताउनुभयो ।
डेंगी सार्ने लामखुट्टेले सफा पानीमा अण्डा पार्ने र त्यसको ९० प्रतिशत जीवन चक्र पानीमै बित्ने भएकाले घरवरपर पानी जम्न नदिने र जमेका पानी फाल्ने अभियाननै खोज र नष्ट अभियान हो ।
डेंगी सार्ने लामखुट्टेले सफा पानीमा अण्डा पार्ने र त्यसको ९० प्रतिशत जीवनचक्र पानीमै बित्ने गर्छ । यस कारण घरवरपर पानी जम्न नदिने र जमेका पानी फाल्ने अभियान नै खोज र नष्ट अभियान हो ।
सन् २०२२ मा ५४ हजार ७८४ जनालाई डेंगी संक्रमण भएको थियो । तर यो संख्या डेंगी संक्रमित भएको भन्दा कम रहेको इडीसिडीले जनाएको छ।
संक्रमितहरू उपचारका लागि सरकारी संस्थामा मात्रै नजाने र कतिपय निजी संस्थाहरूले डेंगी पुष्टि भएको रिपोर्टिङ नगरेकाले गत वर्ष डेंगी संक्रमितको संख्या योभन्दा बढी भएको हुनसक्ने इडीसीडीको ठहर छ ।
सन् २०२२ मा ७७ प्रतिशत संक्रमित बागमती प्रदेशमै थिए । जसमा काठमाडौं उपत्यकाका ५६ प्रतिशत थियो । इडीसिडीले डेंगी संक्रमितको यथेष्ट जानकारी गराउन स्थानीय तह, सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।
डेंगीको परीक्षण
डेंगीको आरडिटी र रगतको जाँच गरेर परीक्षण गरिन्छ । ८० प्रतिशत व्यक्तिलाई डेंगीको लक्षण नै देखिदैन । २० प्रतिशत जतिलाई सामान्य लक्षण देखिन्छ । डेंगीको कुनै खास उपचार छैन । दुखाइ तथा लक्षणहरूको आधार उपचार गरिन्छ । डेंगीको उपचारमा खासगरि पारासिटामोलनै प्रयोग गरिन्छ । डेंगीको लक्षण देखिएपछि डाक्टरलाई नजचाई जथाभावी आइबु्रफेन र एस्पिरिन जस्ता औषधिहरूको प्रयोग नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
सामान्य लक्षण
-एक्कासी उच्च ज्वरो आउनु (१०२) डिग्री
-अत्याधिक टाउको दुख्नु
-आँखाको गेडी दुख्नु
-ढाड जोर्नीे तथा मांशपेशीहरू दुख्नु
-वाकवाकी लाग्नु,
-वान्ता हुनु
-ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरू देखा पर्नु
गम्भीर लक्षण
-अत्याधिक पेट दुख्नु
-लगातार वान्ता आइरहनु
-छिटो छिटो सास फेर्नु
-गिजा वा नाकबाट रगत बग्नु
-थकान
-वान्ता वा दिशामा रगत देखिनु
-मुख सुख्खा हुनु
-छालाको रंग पहेँलो हुनु
-कमजोर महसुस हुनु
यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ । संक्रमणमुक्त भइसकेपछि पनि लामोसमय सक्क थकानको महसुस हुनसक्छ ।
डेंगी सार्ने एडिसजातको लामखुट्टे २ प्रकारका हुन्छन्
कीट विशेषज्ञ प्रा. डा. मुरारीलाल दास
कीट विशेषज्ञ प्राडा.मुरारीलाल दासका अनुसार डेंगी सार्ने एडिस जातको लामखुट्टे २ प्रकारको हुन्छ । एडिस एजिप्टाइ र एडिसएलबाेपिक्टस जातका पोथी लामखुट्टे । यी दुवै जातका लामखुट्टेले सफा पानीमै अण्डा पार्छन् ।
एडीस एजिप्टाई : यो सामान्यतया शहर क्षेत्रमा बढी पाइन्छ । यो घरभित्र र वरपर नै पाइन्छ र यो बढीजसो दिउँसोको समयमा सक्रिय हुन्छ । यसले जमेको सफा पानीमा अण्डा पार्छ र वृद्धि विकास गर्छ । एक लामखुट्टेको आयु ३० दिनको हुन्छ । यसले जीवभरमा करिब ५०० देखि १ हजार वटासम्म अण्डा पार्छ । संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् । स्थिर सफा पानीमा यसले अण्डा पार्दछ । यो शहरमा बढी पाइन्छ ।
एकहप्ता भन्दा बढी समय जमेको सफा पानीमा लामखुट्टेले अण्डा पार्छ र त्यही पानीबाट लामखुट्टेको वृद्धि विकास हुन्छ । त्यसैले पानी जम्न दिनै हुँदैन ।
घरभित्र गमला राख्ने प्लेट, पानी भएको खुल्ला बोत्तल, बाल्टिन, प्लाष्टिकका स-साना वस्तु (जसमा पानी जम्छ) । ग्यारेज, कवाडी घर क्षेत्रमा डेंगीको जोखिम अत्याधिक हुन्छ । वर्षायाममा टायर, डर्ममा पानी रहिरहँदा लामखुट्टेले त्यही पानीमा अण्डा पार्दछ ।
एकहप्ता भन्दा बढी समय जमेको सफा पानीमा लामखुट्टेले अण्डा पार्छ र त्यही पानीबाट लामखुट्टेको वृद्धि विकास हुन्छ । त्यसैले पानी जम्न दिनै हुँदैन ।
हप्ताको एक पटक घर वरपर जमेको पानीलाई फालेर लामखुट्टेलाई नियन्त्रण गर्न सकिन्छ । यो सामान्य काम हामी सबैले गर्न सक्छौ । रगत खाएपछि लामखुट्टेलाई आराम चाहिने भएकाले एडीस लामखुट्टे घरभित्रै बस्ने गर्छ । रगत खाएपछि उसको अण्डा बढ्छ ।
एडीस एल्बीपिक्टस : यो लामखुट्टे ग्रामीण भेगमा पाइन्छ यिनीहरू झाडीमा बस्न रुचाउछन् । यिनीहरूले रुखको पातहरूमा जमेको पानीमा अण्डा पार्दछन् ।
विश्वका आधा जनसंख्या डेंगीको जोखिममा
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका आधा जनसंख्या अहिले डेंगी संक्रमणको जोखिममा रहेको छ । प्रत्येक वर्ष १० करोडदेखि ४० करोड मानिस डेंगीबाट संक्रमित हुने अनुमान गरिएको छ । अहिले पनि १०० वटा देशमा डेंगीको महामारी छ । नेपालमा विस २०६१ सालमा पहिलो पटक डेंगी पुष्टि भएको थियो । त्यसयता बेलाबेलामा महामारीनै फैलिएको छ । सन् २०१० यता नेपालमा प्रत्येक ३ / ३ वर्षमा महामारी फैलिएको तथ्यांकले देखाएको छ । नेपालमा सन् २०१३, २०१६, २०१९ र २०२२ मा महामारी देखिएको छ ।
तपाईँको अभिमत