वीरमा ४ लाखसम्म लिएर फारम भर्न लगाएको आरोप, सूचना रद्द गर्न माग गर्दै ५ निकायमा उजुरी
वीर अस्पतालमा करारमा कर्मचारी पदुपूर्तिका लागि सुटुक्क सूचना निकालिएको भन्दै उक्त सूचना रद्द हुनपर्ने माग गरिएको छ ।
अस्पतालका केही कर्मचारीहरूले सूचना रद्दको माग गर्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, राष्ट्रिय सतर्कता केन्द्र र एमाले संसदीय कार्यालयमा निवेदन दिएका छन् ।
निवेदन दिएका निवेदकमा, थाहै नदिई सूचना निकालिँदा निवेदन दिन नपाएका एवं अस्पतालका कर्मचारी भनी उल्लेख गरिएको छ।
कोभिडका बेला राखिएका नर्स, डाक्टर एवं कर्मचारीलाई एक्कासी निकालेर पुन कर्मचारी पदपूर्तिको निर्णय गरिएको थियो ।
असोज २१ गते २२१ जना कर्मचारी हटाएर असोज २८ गते घटस्थापनाको विदाको दिन पारेर न्याम्सको आकस्मिक सभा (सिनेट)को बैठकमार्फत ६३ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको थियो।
कार्तिक १० गतेको मिति राखेर करार सेवामा लिने गरी विज्ञापन तयार पारी सो विज्ञापन म्याद सकिने दिन हिजोमात्रै सार्वजनिक भएको निवेदकहरुको आरोप छ ।
निवेदन दिनपुगेकामध्ये एक कर्मचारीका अनुसार दरखास्त बुझाउने अन्तिम दिन हिजो १७ गते शुक्रबार ३ बजे सम्म राखिएको भएपनि अस्पताल प्रशासनले भने उक्त सूचना १७ गते ११ बजे तिर मात्रै नयाँ सर्जिकल भवनमा टाँसेका थिए ।
आफ्ना मान्छेलाई भर्ती गर्ने उद्देश्यले उक्त सूचना निकालिएको, मन्त्री बस्नेतको सचिवालयका व्यक्तिले वेरोजगारहरुसँग ४-४ लाख रुपैयाँसम्म लिएर निवेदन दिन लगाएको आरोप कर्मचारीहरुले लगाएका छन् । ५ निकायमा दिइएको उजुरीमा उजुरीकर्ताले कर्मचारी भर्ती गर्न पैसा उठाउने मन्त्रीको सचिवालयका व्यक्तिको नाम समेत उल्लेख गरेका छन् ।
विज्ञापन अनुसार अन्तर्वार्ता आज ९ बजेलाई तोकिएको छ । स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि–२०७६ अनुसार प्रतिष्ठानले कात्तिक १० गते नै पदपूर्तिको निर्णय गरेको सूचनामा उल्लेख छ ।
उक्त सूचनाअनुसार मेडिकल ल्याब टेक्नेसियन, ल्याब टेक्नेसियन, इलेक्ट्रिसियन, प्लम्बर, लिफ्ट असिस्टेन्टसहित १३ जना कर्मचारी माग भएको छ।
हेल्थपाटी
तपाईँको अभिमत