एकै व्यक्तिलाई दोहोरिएर डेंगी संक्रमण, हुनसक्छ गम्भीर !

एकै व्यक्तिलाई दोहोरिएर डेंगी संक्रमण पुष्टि भइरहेको छ । डेंगी संक्रमण दोहोरिए संक्रमितको अवस्था गम्भिर हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले बताउनुभयो ।
अहिले केही व्यक्तिलाई दोहोरिएर डेंगी संक्रमण भएपनि डेंगी सार्ने भाइरसको सेरोटाइप भने पुष्टि नभएको उहाँले बताउनुभयो ।
डेंगी सार्ने भाइरसका ४ वटा स्वरूप (सेरोटाइप) हुन्छन् । डेन्भ १, डेन्भ २, डेन्भ ३, डेन्भ ४ । नेपालमा यी चारै स्वरूपका भाइरसबाट संक्रमण भएको पुष्टि भइसकेको छ।
फरक - फरक स्वरूपका भाइरसले एक व्यक्तिलाई ४ पटकसम्म डेंगी संक्रमण गराउन सक्ने जोखिम रहन्छ । उहाँका अनुसार अघिल्लो पटक संक्रमण भएर निको भएपछि केही समयसम्म प्रतिरोधात्मक क्षमताको विकास हुने भएपनि संक्रमण दोहोरिने सम्भावना उत्तिकै रहिरहन्छ। यदि पुन संक्रमण भए संक्रमितलाई पहिलाकोभन्दा गम्भीर बनाउन सक्छ ।
नेपालमा २०२४ को जनवरी देखि हालसम्म ७३ जिल्लामा १ हजार ४३२ जनामा डेंगी पुष्टि भएको छ । यो वर्ष,डेंगी संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसिडीका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । त्यसपछि कोशी, गण्डकी,लुम्बिनी, सुदुरपश्चिम, मधेश र कर्णाली प्रदेशमा संक्रमित पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् भने दोस्रो नम्वरमा झापामा संक्रमण पुष्टि धेरै रहेको दाहालले बताउनुभयो ।
मनसुन सक्रिय रहेका कारण संक्रमण बढ्नसक्ने जोखिम रहेको उहाँले बताउनुभयो । गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण र २० जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
विज्ञहरुका अनुसार डेंगी सार्ने लामुखट्टेलाई अण्डा वृद्धि विकास गरी वयस्क बन्न ५ दिनभन्दा बढी जमेको सफा पानी चाहिन्छ ।
डेंगी एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एडिस जातको लामखुट्टे शरीर तथा खुट्टामा सेतो थोप्लाहरू भएको सानो र कालो रंगको हुन्छ । रंग र आकारको कारण यसलाई हत्तपत्त देखिँदैन ।
डेंगीको आरडिटी र रगतको जाँच गरेर परीक्षण गरिन्छ । ८० प्रतिशत व्यक्तिलाई डेंगीको लक्षण नै देखिदैन । २० प्रतिशत जतिलाई सामान्य लक्षण देखिन्छ । डेंगीको कुनै खास उपचार छैन । दुखाइ तथा लक्षणहरूको आधार उपचार गरिन्छ । डेंगीको उपचारमा खासगरि पारासिटामोलनै प्रयोग गरिन्छ । डेंगीको लक्षण देखिएपछि डाक्टरलाई नजचाई जथाभावी आइबु्रफेन र एस्पिरिन जस्ता औषधिहरूको प्रयोग नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
सामान्य लक्षण
-एक्कासी उच्च ज्वरो आउनु (१०२)डिग्री
-अत्याधिक टाउको दुख्नु
-आँखाको गेडी दुख्नु
-ढाड जोर्नीे तथा मांशपेशीहरू दुख्नु
-वाकवाकी लाग्नु,
-वान्ता हुनु
-ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरू देखा पर्नु
गम्भीर लक्षण
-अत्याधिक पेट दुख्नु
-लगातार वान्ता आइरहनु
-छिटो- छिटो सास फेर्नु
-गिजा वा नाकबाट रगत बग्नु
-थकान
- वान्ता वा दिशामा रगत देखिनु
- मुख सुख्खा हुनु
- छालाको रंग पहेँलो हुनु
- कमजोर महसुस हुनु
यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ । संक्रमणमुक्त भइसकेपछि पनि लामोसमय सक्क थकानको महसुस हुनसक्छ ।
तपाईँको अभिमत