डेंगी सार्ने लामखुट्टेको नालीबेली, वर्षैपिच्छे नयाँ ठाउँमा संक्रमण किन बढ्छ ? (भिडियो)
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार यसवर्ष १६ अगस्टसम्म डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ । ७५ जिल्लामा संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो । १० जनाको मृत्यु भएको छ । सुनसरी, मोरङ,धादिङ, झापा, कास्की, धनकुटा, संखुवासभा, काठमाडौं लगायतका जिल्लाहरूमा संक्रमण अधिक छ । कर्णाली प्रदेशका मुगु र हुम्लामा संक्रमण पुष्टि भएको छैन ।
नेपालमा वि.स. २०६१ ( सन् २००४) सालमा पहिलो पटक चितवनमा डेंगी संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएका व्यक्ति भारतबाट नेपाल आउनुभएको विदेशी हुनुन्थ्यो । त्यसयता बेलाबेलामा महामारीकै रुपमा फैलिएको छ । सन् २०१० यता नेपालमा प्रत्येक ३-३ वर्षमा महामारी फैलिएको तथ्यांकले देखाउँछ । नेपालमा सन् २०१३, २०१६, २०१९ र २०२२ मा डेंगी संक्रमण व्यापक देखिन्छ।
सन् २०१० मा ६ जिल्लाका ९१७ जना, २०१३ मा २५ जिल्लाका ६८६ जना, २०१७ मा २८ जिल्लाका १५२७ जनालाई संक्रमण देखियो । २०१९ सम्म आइपुग्दा डेंगी संक्रमण फैलिएका जिल्ला ६८ पुग्यो । अनि २०२२ मा ७७ वटै जिल्लामा डेंगी देखियो ।
सन् २०१९ मा ६८ जिल्लाबाट डेंगी संक्रमितको रिपोर्टिङ भएको थियो । इडिसिडीका अनुसार सन् २०१९ मा ६८ जिल्लामध्ये सुनसरीमा (३४३१), चितवनमा (३४०२), कास्कीमा (२८२४), काठमाडौंमा (१५८९), ललितपुरमा (५९६) र झापामा (५२५ ) जनालाई संक्रमण पुष्टि भएको थियो ।
२०१९ पछि सन् २०२२ मा डेंगीको महामारी फैलियो । त्यतिबेला ५४ हजार ७८४ जनालाई संक्रमण पुष्टि भयो । तर स्थानिय निकायहरु, अस्पतालहरुले संक्रमितको विवरण यथेष्ट नबुझाएकाले संक्रमण यो भन्दा धेरै व्यक्तिलाई भएको अनुमान छ । २०२२ मा ८८ डेंगी संक्रमितको मृत्यु भयो ।
इडिसिडीका अनुसार सन २००४ देखि नेपालमा सन् २००५ बाहेक प्रत्येक वर्ष डेंगी देखिएको छ । २००६ मा १९ वटा जिल्लामा संक्रमण देखियो। जसमा बाँके, बर्दिया, दाङ, झापा, पर्सा, रुपन्देही, कपिलवस्तु, धादिङ, काठमाडौंमा संक्रमितको संख्या धेरै थियो ।
सन् २००४ देखि २००९ को बीचमा प्रत्येक वर्ष संक्रमितको पुष्टि भएको संख्या ३३ भन्दा कम थियो। तर २०१० मा अघिल्लो वर्षको तुलनामा एकैपटक ३० गुणाले बढेर ९१७ जनालाई संक्रमण रहेको पुष्टि भयो ।
सन् २०२२ को कुरा गर्दा ७७ प्रतिशत संक्रमित बागमती प्रदेशमै थिए । जसमा काठमाडौं उपत्यकाका ५६ प्रतिशत थिए । त्यतिबेला सबैभन्दा धेरै मकवानपुर, रुपन्देही, ललितपुर, धादिङ, काठमाडौंबाट डेंगी संक्रमित पुष्टि भएका थिए । तर यी स्थानहरुमा गत वर्षको तुलनामा यो वर्ष कम संक्रमित भेटिएका छन् ।
डेंगी सार्ने एडिस जातको लामखुट्टे २ प्रकारको हुन्छ । एडिस एजिप्टाइ र एडिस अल्बोपिक्टस जातका पोथी लामखुुट्टेले डेंगी सार्छ ।
यी दुवै जातका लामखुट्टेले सफा पानीको सतही भागमा अण्डा पार्छन् ।
तथ्यांकअनुसार वर्षैपिच्छे फरक-फरक स्थानमा डेंगीको संक्रमण बढ्दै गएको देखिन्छ । यसो हुनुका कारण के हो ?
डेंगी सार्ने लामखुट्टेको गुण कस्तो हुन्छ ? विगतमा छिटफुट संक्रमित देखिएका स्थानमा यस वर्ष किन बढ्दैछ ? यी विषयमा हेल्थपाटी विशेषमा तुलसा घिमिरेले प्राकृतिक विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं कीटविज्ञ डा.इशान गौतमसँग कुराकानी गर्नुभएको छ।
उहाँले नै सन् २००९ मा काठमाडौंमा एडिस जातको लामखुट्टे भित्रिएको तथ्य पत्ता लगाउनुभएको थियो । सन् २००९ मा लामखुट्टेका बारेमा उहाँले गर्नुभएको अनुसन्धान अन्तराष्ट्रिय जनरल अफ नेचुरल हिस्ट्री म्यूजियमले प्रकाशित गरेको थियो। स्वास्थ्य अनुसन्धान परिषद् र प्राकृतिक संरक्षण संग्रहालय मिलेर सञ्चालन गरिएको चेतना अभिवृद्दि काममा उहाँ सहभागी हुनुन्छ । ।
भिडियो :
तुलसा घिमिरे
तपाईँको अभिमत