कोरोना खोपबारे भ्रम र यथार्थ : डा. अनुप बाँस्तोलालाई ८ प्रश्न
काठमाडौं । नेपालका माघ १४ गतेबाट सुर भएको कोरोना भाइरस(कोभिड-१९) विरुद्धको खोप अभियान चलिरहेको छ । अहिले नेपालमा लगाइरहेको खोप अक्फोर्ड युनिभर्सिटीसँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई)ले बनाएको खोप हो ।
कोभिशिल्ड नाम दिइएको यो खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा दिएको थियो।कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिइनसकेको र तेस्रो ट्रायलका लागि प्रयोगमा ल्याइएको भन्ने हल्ला चलिरहेको छ।
तर स्वास्थ्य क्षेत्रका विज्ञहरूले भने भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको उक्त खोप ढुक्क भएर लगाउन सुझाएका छन् । नेपालमा प्रयोग भइरहेको खोप अन्य खोपको तुलनामा प्रभावकारी रहेको शुक्रराज ट्र्रपिकल तथा सरुवाराेग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बाँस्तोलाको भनाइ छ। साथै उहाँले कोरोना खोपका बारेमा रहेका केही मुख्य जिज्ञासाबारे पनि प्रष्ट पार्नुभएको छ ।
१. कस्ता व्यक्तिलाई खोप आवश्यक छ ?
बढी उमेर समूहका मानिसलाई खोप दिनु आवश्यक छ । ५५ वर्ष भन्दामाथिका वृद्धवृद्धालाई प्राथमिकताका साथ खोप अभियानमा सहभागी गराउनुपर्छ । यस उमेरका व्यक्तिमा मधुमेह, फोक्सो सम्बन्धी समस्या धेरै हुने गरेकाले उनीहरुलाई प्रथमिकतामा राख्नु जरुरी छ। युवाहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ त्यसैले जो कमजोर छ उसैलाई प्राथमिकता दिनुपर्छ ।
२.खोप लगाएका व्यक्तिमा गम्भीर समस्या देखिँदैन ?
कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई संक्रमण हुने सम्भावना कति हुन्छ भन्ने आम चासोको विषय छ अहिले। कतिपयले खोप लगाएपछि कोरोना संक्रमण हुँदै नहुँने दावी गरिरहेका छन् । तर अध्ययनले के देखाएको छ भने खोप लगाएका व्यक्तिमा पनि संक्रमण पुष्टि भएका छन् । खोप लगाएकामा संक्रमणको जोखिम निकै कम हुने कुरा भने सत्य हो ।यदि संक्रमण भइहाल्यो भने पनि त्यसले संक्रमितलाई गम्भीर बिरामी पार्दैन भन्ने कुरा अहिलेसम्मका अध्ययनले देखाएको छ । नेपालमा प्रयोगमा आएको कोभिल्ड खोप ७० प्रतिशत बन्दा बढी प्रभावकारी रहेको अध्ययनले देखाएको छ।
३.नेपालमा प्रयोग भइरहेको कोभिशिल्ड खोपले कसरी काम गर्छ ?
नेपालमा प्रयोगमा आएको कोभिसिल्ड भ्याक्सिन चिम्पान्जीमा रुघा लाउने एडिनो भाइरसलाई कमजोर बनाई कोरोना भाइरसको स्पाइक प्रोटिनको लेपन गरी एडिनो भाइरसलाई बाहिरबाट हेर्दा दुरुस्त कोरोना भाइरस जस्तै बनाई निर्माण गरिएको हो । यो खोप रुघाखोकी गराउने भाइरस (एडिनो भाइरस) को कम्जोर समूहको भाइरस जुन चिम्पान्जीबाट लिइएको थियो र त्यसालाई मानिसमा विकास हुन नसक्ने गरी परिमार्जन गरिएको थियो ।
खोप लगाइसकेपछि हाम्रो कोषिकाले स्पाइक प्रोटिन देखाउँछ जसको विरुद्ध हाम्रो शरीरले शक्ति बनाउँछ । यसले दुई किसिमका शक्तिहरू बनाउँछ । कतिपय खोपले रोग प्रतिरोधात्मक क्षमता मात्र बढाउने भएपनि यो खोपले रोप प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रोग विरुद्ध लड्ने कोषिकाहरूको पनि विकास गराउँछ । यो खोप लगाएपछि हाम्रो शरीरमा लामो समयसम्म रोग प्रतिरोधात्मक क्षमता रहने भएपनि कति समयसम्म रहन्छ भन्ने विषय अहिले अध्यनकै क्रममा छ ।
४.कोरोना संक्रमित भएका व्यक्तिले पनि खोप लगाउनुपर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि संक्रमण हुनसक्ने भएकाले खोप लगाउनु आवश्यक छ । संक्रमण निको भएपछि बन्ने एन्टीबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन नभएकाले पनि सबैले खोप लगाउनुपर्छ । यदी संक्रमण भएपनि शरीरमा एन्टीबडी बनेको रहेनछ भने एन्टिबडी बन्नेभयो । यदि संक्रमण निको हुने क्रममै एन्टीबडी बनेको भए त्यसलाई बुस्ट गर्ने काम खोपले गर्छ ।
५.खोप लगाएपछि स्वाथ्य मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ?
यो खोपले कोरोना भाइरसका नयाँ भेरियन्टलाई काम नगर्न पनि सक्छ । अनि खोप लगाएको व्यक्ति सोही समयमा संक्रमित भए ऊबाट अरुमा सर्न सक्छ । त्यसैले खाेप लगाइसकेपछि पनि स्वाथ्य मापदण्ड पालना गर्नुपर्छ ।
जसरी मौसमी रुघाखोकी केही नयाँ स्वरुपमा वर्षैपिच्छे परिवर्तन भएर आउँछन् । कोरोना भाइरस पनि त्यसरी नै नआउला भन्न सकिँदैन । अझै पनि कोरोना संक्रमको जोखिम उस्तै रहेकाले भेला जमघट गर्नु राम्रो होइन । स्वाथ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ ।
६.यो खोपका असरहरू के-के हुन् सक्छन् ?
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोप लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने समस्या देखिन सक्छ । यसैगरी टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने यस्ता लक्षण पनि कोही कोहीमा देखिन सक्छ ।
त्यस्ता लक्षणहरू खोप लगाएको २४ देखि ४८ घण्टा कहिलेकहीँ ७२ घण्टासम्म पनि रहन सक्छन् तर यी सामान्य असरहरू हुन् र बिस्तारै ठीक भएर जान्छन् । त्यस्तो बेला झोल पदार्थ बढी खाने, सिटामोल प्रयोग गर्ने गर्दा ठीक भएर जान्छ । कहिलेकहीँ त्यस्तो समस्या लम्बियो, ५, ६ दिसम्म पनि निको भएन भने चिकित्सकको सल्लाह लिनुपर्छ ।
७.पहिलो खोप लगाएको कति समयमा दोस्रो डोज लगाउनु ठीक हुन्छ ?
सुरुका दिनमा ४ हप्तामा दास्रो डोज लगाउदा हुने मतहरु आएका थिए तर पछिल्ला अनुसन्धानले पहिलो खोप लगाएको जति बढी अन्तर भयो त्यति प्रभावकारी देखायो । दोस्रो डोजको खोप ८ देखि १२ हप्तापछि लगाउन विज्ञहरूले सुझाएका छन् । यसअघि सरकारले पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज दिने निर्णय गरेको थियो ।
८.के यो खोप नेपालमा ट्रायलका लागि ल्याइएको हो ?
कतिपयमा नेपालमा कोरोना विरुद्धको खोप परीक्षणका लागि ल्याइएको भन्ने भ्रम छ । तर त्यो होइन नेपालमा प्रयोग भइरहेको खोप अक्सफोर्डले १२ हजार जनामा परीक्षण गरेर तेस्रो चरणको परीक्षण पछि नेपालमा प्रयोगका लागि ल्याइएको हो । यो भ्रमबाट हामी मुक्त हुनुपर्छ खोप सुरक्षित छ त्यसैले नडराई लगाउँनुपर्छ ।
ठूलो समुहमा खोप लगाउँदा मृत्यु हुन लागेकाहरूलाई समेत खोप लगाइएको हुन्छ । पुरानै समस्याका कारण त्यो व्यक्तिको मृत्यु भएको हुन्छ तर खोपका कारण मृत्यु भयो भन्ने हल्ला फैलन्छ ।
त्यस्तो होइन जुन मानि खोप नलगाएपनि मर्ने निश्चित छ तर उसको खोप लगाएपछि मृत्यु भयो भने त्यसको कारक खोप होइन । खोप लगाएकै कारण मृत्यु भएको अहिलेसम्म पुष्टि भएको छैन । हाइपर सेन्सेटीभीटी केही मानिसमा हुने भएपनि त्यसको व्यवस्थापन गर्न सकिन्छ । त्यस्ता समस्या केही देखिन्छन की भनेर खोप केन्द्रमै खोप लगाएपछि आधाघण्टा विश्राम गर्ने व्यवस्था गरिएको हो ।
प्रकाश बस्याल
तपाईँको अभिमत