नेपालमा करिब ११ लाख बालबालिकामा दृष्टिदोषको समस्या, आधाभन्दा बढी उपचारबाट बञ्चित
डिजिटल माध्यमहरूको बढ्दो प्रयोगले दृष्टिदोषको समस्या बढ्दो
आज अक्टोबरको दोस्रो बिहीबार, विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आइएको छ ।
यो वर्ष ‘आँखालाई माया गरौँ, बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ' भन्ने नारासहित नेपालसँगै विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरूका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरू प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस(आईएपिबी)ले संयुक्त रूपमा मनाउन सुरु गरेको हो ।
नेत्रज्योति संघका अनुसार नेपालमा करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब ७ लाख बालबालिकाहरू अझैपनि दृष्टिदोषको उपचारबाट बञ्चित छन् ।
संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तका अनुसार पछिल्लो समय डिजिटल माध्यमहरूको बढ्दो प्रयोगले समेत बालबालिकाहरूमा दृष्टि दोषको समस्या बढिरहेको छ ।
‘दृष्टिदोषको समस्या भएका बालबालिकाहरूले आँखा परीक्षण पश्चात चस्मा लगाएमा उनीहरूमा सकारात्मक नतिजा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनहरूले समेत देखाएकोे छ’ प्रा.डा. पन्तले भन्नुभयो, ‘नेपालमा अधिकांश बालबालिकाहरू र उनीहरूका अभिभावकहरूलाई समेत बालबालिकाको आँखामा समस्या भएको जानकारी समेत हुँदैन त्यसैले बालबालिकाहरूलाई हरेक वर्ष विद्यालय पठाउनुअघि आँखा परीक्षण गर्न जरुरी छ’ ।
आईएपीबीका अनुसार अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा उपचार आवश्यक पर्ने दृष्टि सम्बन्धि समस्या छ भने त्यसमध्यमा धेरै बालबालिकाहरूले सस्तो र सुलभ आँखा उपचार प्राप्त गर्न सकिरहेका छैनन् ।
त्यसैगरी कम र मध्यम आय भएका देशहरूमा दृष्टि गुमाएका बालबालिकाहरूको विद्यालय जाने सम्भावना करिब २.५ गुणाले कम हुने देखिएको छ । यस कारण बाल आँखा स्वास्थ्यका बारेमा सबैलाई सचेत बनाई बालबालिकाहरूको आँखा सम्बन्धि समस्याहरूको समयमै उपचार गराउन आवश्यक देखिन्छ ।
तपाईँको अभिमत