मधुमेहले यसरी बिगार्न सक्छ आँखा
सन्दर्भ : विश्व मधुमेह दिवस
मधुमेहले आँखालाई पनि असर गर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। मधुमेहले असरले गर्ने अंगहरूमा मुटु, मिर्गौला, स्नायु, मस्तिष्कजस्तै आँखा पनि एक हो।
मधुमेह देखिएको ४-५ वर्षमा यसले आँखालाई पनि असर गर्न थाल्छ। नेपालमा नियमित स्वास्थ्य जाँच गराउने चलन छैन। धेरैजसो व्यक्ति मधुमेह देखिनेवित्तिकै अस्पताल जाँदैनन्। ढिलो गरी जाँच गराउन पुग्छन्।
रगतमा चीनीको मात्रा बढ्नेवित्तिकै लक्षण देखिँदैनन्। लक्षण देखिएपछि ढिला अस्पताल आउँछन्। त्यसो भएकाले मधुमेह पत्ता लागेका बेलामा नै कतिपयका आँखामा असर परिसकेको हुन्छ।
नेपालमा मधुमेह पत्ता लाग्दा आँखामा असर गरिसकेका बिरामी करिब १० प्रतिशत हुने अध्ययनले देखाएको छ।
विकसित देशहरूमा पनि ५ प्रतिशतमा मधुमेह पुष्टि हुँदा आँखामा असर पारिसकेको हुने अध्ययनमा देखिन्छ। रगतमा सुगर बढेको ५ वर्षमा त्यो व्यक्तिको आँखामा केही न केही परिवर्तन देखिन्छ।
मधुमेहले आँखाका लागि सबैभन्दा असर आँखाको पर्दा(रेटिना)मा पार्छ। मधुमेह भएको २० वर्षमा ६० प्रतिशत भन्दा बढी बिरामीको आँखामा असर देखिन्छ। ३० वर्षमा लगभग ९० प्रतिशत बिरामीलाई आँखाको पर्दामा असर देखिन्छ।
कसरी आँखामा असर पार्छ ?
मधुमेह भएको केही वर्षमा आँखाको पर्दाभित्र भएका रक्तनलीहरूमा असर गर्न सुरु गर्छ। मधुमेहले पर्दाका रक्तनलीलाई कमजोर बनाउँछ र रक्तनलीबाट रक्तश्राव हुन्छ। आँखाको पर्दामा रगतका छिर्का देखिने हुन्छ।
आँखाको पर्दा चार खण्ड हुन्छ। सुरुमा कुनै खण्डमा यस्ता रगतका छिर्काहरू देखिन सक्छ। त्यसपछि फैलिँदै गएर चारैवटा खण्डमा पनि देखिन सक्छ। रेटिनाका रक्तनलीबाट रगत लिक रेटिनामा रगतका धब्बा देखिने हो।
यसरी रेटिनामा गरेको असर बाहिरी रुपमा देखिँदैन। रेटिनामा रक्तश्राव भएर रगत जमेको आँखाको डाक्टरले नानी फुलाएर हेरेपछि मात्र थाहा हुन्छ । यसरी हेर्दा रक्तश्राव छकि छैन, रगतमा भएको चिल्लो पदार्थ लिक भएको छकि छैन, पर्दाको बीच भागलाई असर गरेको छकि छैन, अर्थात पर्दा नै उप्किएको पो छकि भनेर हेर्ने गरिन्छ।
त्यहाँ रक्तश्राव धेरै ठाउँमा भएपछि आँखाको पर्दा खुम्चिने, पर्दा नै उप्किने पनि हुनुसक्छ। मधुमेहले आँखालाई गर्ने सबैभन्दा जलिट असर रेटिना नै उप्किनु हो। तर यो चाँहि धेरै असर गरेको अवस्थामा मात्रै हुन्छ।
आँखाको बाहिरी भागमा देखिने असर
मधुमेहले बाहिर देखिने असरहरू पनि हुन्छ। बारम्बार अन्धो आउने, आँखा सुक्खा हुने, चस्मा लगाइरहेको व्यक्तिलाई छिटो-छिटो पावर बदल्नु पर्ने अवस्था देखिने हुन्छ।
त्यसैगरी आँखामा कुनै संक्रमण भएमा चाँडो निको नहुने, मोतियाविन्दु छ भनेर त्यसलाई छिटो बढाउने, जलविन्दुलाई बढाउने काम पनि मधुमेहले गर्छ। आँखाका नसामा असर गरेर रेटिना सुन्निदा आँखाको दृष्टि नसा सुन्निएर दृष्टि घटाउने हुन्छ।
आँखालाई चलाउने मांसपेशीलाई पक्षघात भएर एउटा वस्तुलाई २ वटा देखिने जस्ता असर पनि मधुमेहले पार्न सक्छ।
मधेमेहले सुरुमा देखाउँने असर समान्य नै हुन्छ तर दृष्टि घटेपछि जचाउन आउँदा उसको आँखाको पर्दामा धेरै असर गरिसकेको हुन्छ। त्यसैले मधुमेह पुष्टि भएपछि जतिसक्यो छिटो आँखा जचाउनु जानुपर्छ।
अहिले प्रायोजसो सुगर बढेको पुष्टि भएपछि फिजिसियनले आँखामा पनि असर पुगेको हुनसक्छ भनेर आँखा जचाउन पठाउने क्रम बढिरहेको छ।
मधुमेह भएको ४-५ वर्षमा मात्रै आँखामा असर देखिने भएकाले सुरुमै आँखा जाँच गरेर मधुमेह पत्ता लाग्ने केसहरू भने खासै हुँदैन।
मधुमेह भएका गर्भवती, मधुमेह भएर पनि धुम्रपान,मद्यपान गरिरहेका व्यक्ति, मधुमेहले मिर्गौलामा समेत असर गरिसकेका व्यक्ति, रगतमा खराब कोलेस्टेरोल बढी भएका व्यक्तिका आँखामा छिटो असर गर्छ।
मधुमेह भएपनि औषधि उपचार गरी सुगर नियन्त्रणमा रहेको अवस्थामा आँखामा असर गर्ने सम्भावना पनि कम हुन्छ। तर पनि केही वर्षपछि आँखामा केही न केही असर चाँहि देखिने हुन्छ। मधुमेह भएका व्यक्तिको आँखाको पर्दामा सामान्य समस्या चाँही रहिरहन सक्छ। सामान्य रगतका छिर्काहरू चाँही देखिएकै हुन्छ। अरु असर नभएपनि।
मधुमेह भएकाले आँखा कसरी बचाउने ?
मधुमेहबाट आँखालाई बिग्रिन नदिन समय-समयमा सुगर जाँच गराइरहनुपर्छ। मधुमेह देखिइसकेपछि ६-६ महिना वा बढीमा १ वर्षको फरकमा आँखा जाँच गराइरहनुपर्छ। जाँच गर्दा नेत्ररोग विशेषज्ञलाई नै देखाउँनुपर्छ।
मधुमेहले आँखामा पारेको असरलाई प्राय ३ तरिकाबाट उपचार हुन्छ। आँखाको पर्दामा सामान्य रक्तश्राव छ भने लेजर पद्धतिबाट उपचार गरी त्यसलाई हटाइन्छ।
अर्कोमा आँखाको भित्र सुईबाट औषधि पठाएर उपचार गर्न सकिन्छ। धेरै रगत जमेको छ भने भिट्रेक्टोमी अप्रेसन गरेर त्यसलाई हटाउनुपर्छ।
मधुमेह देखिएपछि केही भएको छैन भनेर ढुक्क भएर बस्नु हुँदैन। आँखा जाच गराइहाल्नुपर्छ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत सहप्राध्यापक दृष्टिरोग विशेषज्ञ डा.भट्टराईसँग गरिएको कुराकानीमा आधारित
डा.सञ्जीव भट्टराई
तपाईँको अभिमत