‘सामान्य जाँच गर्दा नै पाठेघरको मुखको क्यान्सरको जोखिम थाहा हुन्छ’(भिडियो)
नेपाली महिलाहरुमा सबैभन्दा धेरै हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर एक नम्बरमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक १ लाख महिलामध्ये १६ जना पाठेघरको मुखको क्यान्सरबाट प्रभावित हुन्छन् ।
स्त्रीरोग क्यान्सर विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार यो क्यान्सर लाग्ने कारण धेरै पहिल्यै थाहा हुन्छ, सहजै रोकथाम गर्न पनि सकिन्छ । यति हुँदाहुँदै महिलामा लाग्ने क्यान्सरमा यो एक नम्बरमा रहनु हाम्रो दुर्भाग्य रहेको डा.घिमिरे बताउनुहुन्छ।
हेल्थपाटीसँगको कुराकानीमा डाक्टर घिमिरेले रोकथाम र उपचार सहज हुँदाहुँदै पनि यो अवस्था हुनु भनेको रोकथाम र नियन्त्रणमा प्रयास नपुगेको भनाइ राख्नुभयो।
यौन सम्बन्ध राख्ने महिला, पुरुषमा जीवनमा कुनै न कुनै समयमा यो भाइरस शरीरमा प्रवेश गर्ने सम्भावना ८० प्रतिशत हुने पनि डा.घिमिरेले जानकारी दिनुभयो ।
शरीरका सबै अंगमा क्यान्सर हुनसक्ने भएपनि कारण थाहा हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर मात्रै रहेको डा.घिमिरेले बताउनुभयो
'नङ र रौँ बाहेक शरीरका कुनैपनि अंगमा क्यान्सर हुनसक्छ। अन्य क्यान्सरहरू के कारणले लाग्छ भन्ने थाहा हुँदैन' डा.घिमिरेले भन्नुभयो, ' पाठेघरको क्यान्सर मात्रै यस्तो क्यान्सर हो, जसमा के कारण लाग्छ भन्ने थाहा हुन्छ र बेलैमा सचेत भए पूर्णरुपमा रोक्न पनि सकिन्छ ।
आफू पछिल्ला दिनमा यो रोग लागेपछि कसरी उपचार गर्ने भन्दा पनि कसरी लाग्ने अवस्थासम्म पुर्याउने भन्ने अभियानमा लागेको पनि उहाँले बताउनुभयो
हेल्थपाटीसँगको कुराकानीमा डा.सरिता घिमिरेले पाठेघरको मुखको क्यान्सरबारे निम्न जानकारी दिनुभएको छ ।
कसरी लाग्छ पाठेघरको मुखको क्यान्सर ?
यो क्यान्सर लाग्नुको मुख्य कारण यौनसम्बन्ध नै हो । ह्युमन पापिलोमा भाइरसका कारण यो क्यान्सर हुने गर्छ। भाइरस पाठेघरको मुखमा पुग्ने भनेको एउटै मात्रै कारण शारीरिक सम्पर्क हो। पुरुषको लिंगको भित्री भागमा यो भाइरस हुन्छ। एक महिलाबाट अर्को महिलामा सार्ने काम पनि पुरुषले गर्छन्।
पुरुषमा यो छकि छैन भनेर जाँच गर्ने कुनै प्रविधि छैन । महिलामा सरेपछि मात्रै जाँच गर्न सकिन्छ । यो भाइरस शरीरमा प्रवेश गर्नेवित्तिकै क्यान्सर लागि हाल्ने होइन । शरीरमा प्रवेश गर्छ केही नगरीकन आफैँ बाहिर निस्कन्छ पनि । रोग प्रतिरोधि क्षमता कम भएका केहीलाई मात्रै क्यान्सर देखिने हुन्छ ।
यो भाइसरले पुरुषलाई असर गर्दै नगर्ने होइन तर एकदमै कम गर्छ । ज्यादै थोरै पुरुषमा यसले लिंगको क्यान्सर गराएको पाइन्छ । पुरुषमा हुने टंसिलको क्यान्सरमा अलिकति बढी यो भाइरसले भूमिका खेलेको देखिन्छ।
कस्ता लक्षण देखिन्छन् ?
शरीरमा भाइरस प्रवेश गर्दैमा कुनै लक्षण देखिने होइन । यो भाइरस शरीरमा प्रवेश गरेको १५–२० वर्षपछि मात्रै क्यान्सर हुने हुन्छ । पाठेघरको मुखको क्यान्सर भइसकेपछि हुने लक्षण भनेको यौनांगबाट रगत बग्ने हुन्छ, महिनावारीको बीच–बीचमा पनि रगत बग्ने, महिनावारी सुकिसकेका महिलालाई रगत बग्न शुरु हुने, शारीरिक सम्पर्कपछि रगतका टाटा देखा पर्ने हुन्छ।
रगत देखा नपरे पनि धेरै गन्हाउने पानी बगेको बग्यै गर्यो भने पनि यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुन्छ।
कस्ता व्यक्ति धेरै जोखिममा ?
प्रायगरी ४० देखि ६० समेर समूहमा महिलामा यो क्यान्सर धेरै देखिन्छ । त्यसमा पनि ४० वर्ष आसपासका महिलामा धेरै छ । ३० वर्ष मुनिका महिलालाई यो हुँदै हुँदैन भन्दा पनि हुन्छ ।
जसले धेरै जनासँग यौन सम्बन्ध हुन्छ, उहाँहरुमा अलिकति बढी हुनसक्ने सम्भावना हुन्छ। धेरै बच्चा जन्माएका महिला, सानै उमेरमा शारीरिक सम्पर्क गरेका महिलाहरुमा यसको जोखिम बढी हुन्छ ।
अब अहिले खोप पनि लगाउन थालिएको छ । यसो हुँदा खोप नलगाएका पनि जोखिममा हुन्छन् भन्न मिल्छ। १५ वर्ष भन्दा मुनिकालाई मात्रै यो खोपको प्रभाव हुन्छ ।
शारीरिक सम्पर्क गरेको महिला वा पुरुषको कुनै न कुनै भागमा यो भाइरसको संक्रमण हुनसक्ने सम्भावना ८० प्रतिशत हुन्छ भनिएको छ ।
राेकथाम, उपचार कसरी हुन्छ ?
क्यान्सर हुनुभन्दा धेरै पहिला नै यसको जोखिम पत्ता लाग्ने भएकाले रोकथाम सजिलो छ । तर त्यसका लागि महिलाले कम्तिमा ५–१० वर्षमा एकपटक जाँच गर्नुपर्यो ।
भित्र हुने भएकाले क्यान्सर छकि छैन आफैँले जाँच गर्न सकिँदैन । स्वास्थ्यकर्मीले सामान्य जाँच गरेर सजिलै पत्ता लगाउन सक्छन् । सानो औजार प्रयोग गरेर जाँच गर्न सकिन्छ। पानीको जाँच पनि हुन्छ। पछिल्लो समयमा त्यो ठाउँमा जीवाणु छकि छैन भनेर हेरिन्छ।
जीवाणु भन्ने थाहा भएपछि जीवाणुले असर गरेको छकि छैन भनेर खोज्न सजिलो हुनेभयो। फेरि यो जीवाणुले आज शरीरमा पसेर आज क्यान्सर गराउने होइन। यसले महिलाको शरीरमा प्रवेश गरेर कम्तिमा १५, २० वर्षपछि क्यान्सर गराउँछ। त्यो अवधिमा एक पटक मात्रै जाँच गराए पनि जीवाणु र जीवाणुको असर हेर्न मिल्छ।
उपचारको कुरा गर्नुपर्दा भाइरस मात्रै छ, कुनै असर गरेको छैन भने त्यसको कुनै उपचार हुँदैन । त्यसलाई हाम्रो शरीरले आफैँ निमूल पार्छ । रोग प्रतिरोधी बढाउन आहार र व्यायाममा ध्यान दिँदा भाइसरले क्यान्सर गराउने जोखिम कम हुन्छ।
तर भाइरसको असर छ भने असर गरेका आधारमा उपचार हुन्छ । भाइसरले सामान्य टाटा बनाएको छ भने त्यो भाग थोरै मेसिनले खुर्केर फालेर उपचार गरिन्छ । क्यान्सरको आशंका भयो वा क्यान्सर देखियो भन्दैमा पाठेघर नै फाल्नुपर्छ भन्ने लगत बुझाइ पनि रहेको छ । त्यो होइन । पाठेघर फाल्नु यसको उपचार हुँदै होइन।
पहिले नै स्क्रिनिङ गरेर जोखिम पत्ता लगाउनु नै रोकथामको मुख्य उपाय हो । धेरैलाई थाहा नभएर र थाहा हुने, ज्ञान हुनेले पनि त्यसमा ध्यान नपु¥याउँदा समस्या भइरहेको छ ।
पहिले नै स्क्रिनिङ गरेर जोखिम पत्ता लगाउनु नै रोकथामको मुख्य उपाय हो । धेरैलाई थाहा नभएर र थाहा हुने, ज्ञान हुनेले पनि त्यसमा ध्यान नपु¥याउँदा समस्या भइरहेको छ । रोग नलागीकन किन जचाउन जाने भन्ने कुराले समस्या छ। महिलाले आफूलाई एक नम्बरमा राख्दैनन्।पहिलो प्राथमिकता त श्रीमान् छोराछोरी हुन्छन् । चेतना आएका महिला पनि जचाउन नजाने समस्या छ ।
यसको जाँचको कुरा गर्दा सरकारी स्वास्थ्य संस्थामा आधारभूत सेवाको रुपमा पैसा नतिरीकन पनि यो सेवा उपलब्ध हुनुपर्छ भनिएको छ। सबैजसो जिल्लामा यो जाँच पुगिसकेको छ। कुनै न कुनै स्थानीय तहको आफ्नै अगुवाइमा क्याम्प आयोजना गरेर पनि जाँच गराएका छन् । तर पनि चाहे जति समिटिन सकेको छैन ।
सरकारी र निजीस्तरबाट धेरै कामहरु भइरहे पनि पर्याप्त छैन। सन २०३० सम्म विश्वभरी नै यो क्यान्सर उन्मुलन गर्ने लक्ष्य विश्व स्वास्थ्य संगठनले लिएको छ ।
भाइरसलाई पूरै रोक्न सकिँदैन । तर यसबाट जोगिन सकिन्छ। यसको जाँच निःशुल्क र निकै सस्तो छ । यो क्यान्सरबाट बचाउने हकमा यसमा लाग्ने खर्च एकदमै कम छ। क्यान्सर भइसकेपछि उपचार पद्धति झन्झटिलो छ। खर्चिलो पनि छ । एक पटक लागेपछि लगभग जिन्दगीभरी अस्पताल गइरहनुपर्छ।
स्त्रीरोग क्यान्सर विशेषज्ञ डा.सरिता घिमिरेसँग गरिएको कुराकानीको भिडियो हेल्थपाटीको युट्युव च्यानलमा पनि हेर्न सक्नुहुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत