पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु रोक्न ‘एचपीभी’ खोप भित्र्याइँदै(भिडियो)
सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरबाट हुने महिलाको मृत्युलाई रोक्न ‘एचपीभी’ (ह्युमन प्याथोलोमा भाइरस विरुद्ध) उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव स्वीकार गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार गाभीले खोप उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेपनि कति परिणाममा कहिले कसरी पठाउने भन्ने सम्बन्धमा गाभीले खुलाएको छैन।
अन्य कतिपय देशहरूले पनि गाभीलाई एचपिची खोप उपलब्ध गराउन भनेका रहेछन् तर उनीहरु लाइनमै छन्। तर नेपालमा नियमित खोपको अवस्था पनि राम्रो रहेको अनि पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरुको मृत्यु भइरहेको तथ्यलाई मध्यनजर गरेर गाभीले नेपाललाई प्रागमिकतामा राखेर प्रस्तावलाई स्वीकारेको छ, गौतमले भन्नुभयो।
एचपीभी खोप लगाउनपर्ने उमेर समूहका सबै जनसंख्या (१० देखि १४ वर्ष उमेर समूहका किशोरी) लाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि खोप माग गरिएको गौतमले जानकारी दिनुभयो।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीसबैको गाइडमा गाभीले खोप उपलब्ध गराउन सकारात्मक रहेको उहाँले बताउनुभयो। १० देखि १४ वर्षका किशोरीका लागि करीब १७ लाख मात्रा ‘एचपीभी’ खोप आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ अन्तिम साता करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाएको थियो। सोही कार्यक्रम सञ्चालनको तयारी गर्दा सरकारले १० देखि १४ वर्ष उमेर समूहका झण्डै साढे १६ लाख किशोरीहरुलाई यो खोप दिने योजना बनाएको बनाएको थियो।
यद्यपी एचपीभी खोप सबैभन्दा महँगो र कम उत्पादन हुने खोप रहेकाले कहिले आउँछ भन्ने निधो नरहेको उहाँले बताउनुभयो।
ह्युमन प्याथोलोमा भाइरसले संक्रामक रोग लगाउँछ। यौनसम्पर्कको माध्यमबाट पुरुषबाट महिलामा संक्रमण हुन्छ। संक्रमण भइसकेपछि पाठेघरको मुखको क्यान्सरसम्म गराउँछ।
उहाँका अनुसार नेपालमा २०२० मा गरिएको एक अध्ययनले २२४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पुष्टि भएको थियो। जसमध्ये ६६ प्रतिशतको मृत्यु भयो। पाठेघरको मुखको क्यान्सर भएका ३ जना महिलामध्ये २ जनाको मृत्यु भएको उक्त तथ्यले देखाउँछ।
‘एचपीभी संक्रमण पुरुषले बोक्ने र महिलामा सार्छ। संक्रमणबाट पुरुषमा पनि क्यान्सर हुनसक्छ तर महिला बढी जोखिममा रहन्छन्, गौतमले भन्नुभयो, पाठेघरको मुखको क्यान्सरलाई रोक्न एचपीभी खोप आवश्यक छ।’ नेपालमा महिलाहरुको मृत्युको प्रमुख कारणमा एचपीभी भाइरसको संक्रमणको कारण भएको पाइएको छ। किशोरावस्थामै खोप लगाउन सके महिलालाई क्यान्सरबाट जोगाउन सकिन्छ।
एचपीभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउँछ। नेपालमा महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्वरमा पर्दछ।
विभिन्न देशहरूमा गरिएको अध्ययन पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढि क्यान्सर एचपीभीले गराउँछ।
यसमध्ये पनि १६ र १८ प्रजाती प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाती १६ र १८ बाट भएको देखिन्छ। यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ।
खोप २ मात्रा पुरा गरेमा संक्रमणबाट ९५ प्रतिशत सम्म सुरक्षा प्रदान गर्छ। यो खोपबाट मुख, यौनांगमा आउने मुसा एवं यौनांगको क्यान्सरबाट जोगाउन सकिनेछ।
असुरक्षित यौनसम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ।
हेल्थपाटी 
तपाईँको अभिमत