भक्तपुरमा भेटियो बर्डफ्लू
भक्तपुरको ३ वटा पोल्ट्री फार्ममा बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा रहेको पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो ।
पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू देखिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यहाँका कुखुराबाट लिएको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको शर्माले बताउनु भयो । जिल्लामा बर्डफ्लू भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्डफ्लू भेटिएका फार्मका पक्षीं र पक्षींजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ।
समितिले सूर्यविनायक–१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्यांकी जाने बाटोको चार किलाभित्रको पक्षीं तथा पक्षींजन्य वस्तुहरु नष्ट गर्ने निर्णय गरेको छ ।
समितिले भक्तपुरलगायत काठमाडौँ उपत्यका भित्रिने नाकाका साथै स्थानीयस्तरमा पक्षी, पक्षीजन्य वस्तुहरू ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।
तपाईँको अभिमत