बर्डफ्लू मानिसमा कसरी सर्छ ?
मासु मज्जाले पकाएर खाऔ

काठमाडौं । नेपालमा पुनः बर्डफ्लु देखा परेको छ । केही दिनअघि देखा परेको बर्डफ्लु नियन्त्रण भएको बताइएको थियो । तर पहिलो पटक देखिएको एक सातामै हाँसमा बर्डफ्लु देखा परेको हो । कोरोना महामारीसँगै देखा परेको बर्डफ्लुले पंक्षी पालकमा चिन्ता थपिदिएको छ ।
खासमा बर्डफ्लुके हो ? यो मानिसमा कसरी सर्छ ? यहाँ बुझ्ने प्रयास गरिएको छ ।
के हो बर्डफ्लु ?
बर्डफ्लु एक भाइरल संक्रमण हो । यसलाई एभिएन इन्फ्लुएन्जा पनि भनिन्छ । यो संक्रमित एक पंक्षीबाट अर्को पंक्षीमा सजिलै फैलिन्छ भने अन्य जनावर तथा मानिसमा पनि सर्न सक्छ ।
यसको एचफाइभएनवान (H5N1) सबभन्दा बढी हुने भाइरस हो । यो संक्रणबाट पंक्षी मर्नेसम्म हुन्छ ।
यो मानिसमा कसरी सर्छ ?
संक्रमित पंक्षीको नजिक सम्पर्कमा आउँदा बर्डफ्लु मानिसमा सर्ने गर्छ । कतिपयलाई पालिएका पंक्षीको खोर सफा गर्दा भाइरस फैलिएको छ । कतिपयमा भने पंक्षी बेच्न राखिएको बजारबाट पनि सरेको देखिएको छ ।
यसैगरी संक्रमित पंक्षी बसेको पोखरी वा कुनै पनि स्थानमा बस्दा मानिसमा संक्रमण सर्ने गरेको पाइएको छ । पंक्षीका दाना वा पंक्षीजन्य सामग्रीबाट पनि संक्रमण सरेको पाइएको छ ।
पंक्षीको सुलीमा करिब १० दिनसम्म भाइरस जीवित हुने भएकाले यसको सम्पर्कमा आएका मानिसमा संक्रमण फैलिने गरेको पाइएको छ । सुरुमा पंछीमा लाग्ने बर्डफ्लु नियन्त्रणको प्रयास तुरुन्त भएन भने मानिसमा संक्रमण हुने संभावना रहन्छ ।
त्यसैले एक्कासि धेरै संख्यामा कुखुरा, हाँस तथा अरु पंछीहरु मरेमा सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिदै आएका छन् । यसैगरी हाँस, कुखुराका मासु राम्रोसँग पकाएर तथा अण्डालाई राम्ररी उमालेर खान विज्ञहरुले अनुरोध गर्दै आएका छन् । मासुलाई पकाउदा ७० डिग्री सेल्सियस तापक्रम हुनपर्ने विज्ञहरु बताउछन् ।
नेपालमा पनि बर्डफ्लु मानिसमा सरेको छ?
नेपालमा पहिलो पटक २०७५ साल चैत १५ गते बर्डफ्लुबाट मानिसको मृत्यु भएको थियो । उक्त घटना मानिसमा बर्डफ्लु संक्रमण भएको नै पहिलो थियो ।
बर्डफ्लुबाट मृत्यु भएका व्यक्ति काभ्रेका २१ वर्षका युवक हुनुहुन्थ्यो । चैत १० गते ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नुभएका ती युवाको अस्पताल भर्ना भएको ५ दिनपछि मृत्यु भएको थियो ।
मृत्यु पश्चात र्यालको नमुना संकलन गरि परीक्षणका लागि जापान पठाइएकोमा बैशाख १७ गते रिपोर्ट नेपाल आएको थियो र उक्त रिपोर्ट बर्डफ्लु पोजेटिभ थियो ।
नेपालमा कहिले बर्डफ्लु भित्रियो?
नेपालमा पहिलो पटक २०६५ सालमा झापामा बर्डफ्लुको संक्रमण देखिएको थियो । केही वर्षयता काठमाडौं उपत्यकासहित हेटौडा,कास्की लगायत विभिन्न स्थानमा पटक–पटक बर्डफ्लु पुष्टि हुँदै आएको छ ।
विश्वका करिब ७० भन्दा बढी देशमा बर्डफ्लु देखिसकेको छ । सन् १९९७ मा बर्डफ्लु एभिएन एन्फ्लुएन्जा एचफाइभएनवान ९ज्छल्ज्ञ० नामाकरण गरिएपछि सन् २०२० सम्ममा ४५५ जनाको मृत्यु बर्डफ्लुबाट भइसकेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ८६२ जनामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ ।
बर्डफ्लुका लक्षणहरु :
मानिसमा बर्डफ्लुको संक्रमण भएमा उच्च ज्वरो आउने, खोकी लाग्ने, मांशपेशी, घाँटी दुख्ने,पेट,छाती दुख्ने र पखालासमेत लाग्न सक्छ ।
तपाईँको अभिमत