संसदमा खतराको घण्टी : सांसद यादव र उहाँको सम्पर्कमा आएकालाई के गर्ने ?
काठमाडौं । कोरोना त्रासका कारण करिब दुई महिनादेखि देश लकडाउनमा रहेका बेला अहिले संसदमा बजेट अधिवेशन चलिरहेको छ । यही बैखाश २६ गतेबाट बजेट अधिवेशन सुरु भएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमित बैठक भइरहेका छन् । बजेट अधिवेश सुरु हुनुअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य र संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो।
२५ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा २६ गते दिउँसो सबैको रिपोर्ट नेगेटिभ आएको थियो। सबैलाई कोरोना संक्रमण नभएको ठहर गरी सामाजिक दूरी कायम कायम गर्दै.निश्चित नियम पालनाकासाथ संसदको अधिवेशन शुरु गरिएको बताइएको छ । सावधानीका बाबजुद सांसद पनि कोरोना संक्रमणको उच्च जोखिममा परेको देखिएको छ। यसका मूल कारक बन्नुभएको छ, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव ।
यादव अधिवेशन सुरु हुने २ दिनअघि मात्रै कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेको पुष्टि भएको छ । उहाँले यही बैखाश २४ गते बीरगन्जको घण्टाघरमा करिब ५० जना सञ्चारकर्मीहरुलाई बोलाएर स्वास्थ्य सामाग्री वितरण गर्नुभएको थियो। त्यसको ६ दिनपछि मंगलबार त्यो स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा सहभागी दुई सञ्चारकर्मीलाई कोरोना संक्रमण रहेको पुष्टि भयो । हेल्थपाटीलाई प्राप्त जानकारीअनुसार त्यस कार्यक्रममा सांसद यादवले संक्रमण देखिएका पत्रकारसँगै कुम जोडेर बसी भाषण गर्नुभएको थियो।
यो पढ्नुहोस् : बीरगञ्जमा प्रशासनबाट किन भइरहन्छ लापारबाही ?हेर्नुहोस् यो भीड
कोरोना संक्रमण देखिएका व्यक्तिसँग संसर्ग गरेको भोलिपल्ट कोरोना परीक्षणका लागि सांसद यावदको स्वाब संकलन गरिएको थियो । त्यसैका आधारमा उहाँमा संक्रमण नरहेको पुष्टि गर्न अहिले नै नसकिने चिकित्सकहरुको भनाइ छ । शरीरमा भाइरस प्रवेश गरेपछि १४ दिन सम्मलाई इंक्युबेसन पिरियड(संक्रमण पूर्वको अवस्था) मानिने भएकाले सांसद यादव पूर्णरुपमा शंकाको घेरामा रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारी बताउनुहुन्छ । ‘अहिले तुरुन्तै संक्रमण नदेखिन पनि सक्छ, इंक्युवेसन पिरियड १४ दिन हुन्छ’ डाक्टर राजभण्डारी भन्नुहुन्छ, ‘नेपालमा त ४२ दिनपछि पनि संक्रमण देखिएको छ, उहाँलाई परीक्षण दोहोर्याउनु आवश्यक छ ।’
सांसद यादवले एक साताअघि मात्रै संक्रमितलाई भेटेको भए तुरुन्त क्वारेन्टाइन वा आइसोलेसनमा राख्नुपर्ने डाक्टर राजभण्डारी बताउनुहुन्छ । उहाँलाई मात्रै नभएर पछिल्ला दिनमा उहाँको सम्पर्कमा रहेकाहरुलाई पनि क्वारेन्टाइन वा आइसोलेसनमा राखी परीक्षणको दायरामा ल्याउन आवश्यक रहेको डाक्टर राजभण्डारीको भनाइ छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद यादवले प्री बजेट छलफलका क्रममा १४ मिनेट लामो भाषण समेत गर्नुभएको थियो। कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसँगै रहेका सांसद त्यसको दुई दिनपछि नै संसद बैठकमा सहभागी हुनुले सांसदमा पनि खतराको घण्टी बजिसकेको देखिन्छ। संदसमा कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिम देखिन्छ। नेपालमा कोरोना संक्रमणको गति तीब्र भइरहेका बेला यस विषयलाई संसद सचिवालयले कुन रुपले हेर्ला भन्ने कुरा हेर्न बाँकी छ।
सांसद प्रदीप यादव एक महिना अगाडी दुई पत्रकारसहित जम्बो टोली लिएर भारतीय क्वारेन्टाइन पुग्नुभएको थियो। सीमापारि भारतमा रोकिएका नेपालीको अवस्था बुझ्न भन्दै उहाँ भारतमा नेपाली राखिएको क्वारेन्टाइन जानु भएको थियो।
यादवले यसरी भारतीय क्षेत्रमा पुगी क्वारेन्टाइनमा राखिएकालाई भेटेपछि उनीबाट संक्रमणको जोखिम हुने भन्दै उहाँ पनि क्वारेन्टाइनमा बस्नुपर्ने आवाज उठ्यो। त्यसपछि गृहमन्त्रालयले सांदस यादवलाई क्वारेन्टाइन बस्न निर्देशन दिएपछि बस्ने सहमति गरेपनि उहाँले त्यसलाई पालना गर्नुभएन।
यो पढ्नुहोस् : कसरी पुगे नेपाली सांसद भारतीय क्वारेन्टाइनमा ? वीरगञ्ज त्रासमा
यो पढ्नुहोस् : सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन
जगन्नाथ ढकाल
तपाईँको अभिमत