सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं, २७ चैत । गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।
समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानूनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो।
‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन। यससम्बन्धी निर्देशिका र नीति विपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइयो, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ । यसमा ठूलो वा सानो भन्ने हुँदैन । नियमअनुसार सबै क्वारेन्टाइनमा बस्नैपर्छ ।’ अधिकारीले बताउनुभयो।
कसरी पुगे नेपाली सांसद भारतीय क्वारेन्टाइनमा ? वीरगञ्ज त्रासमा शीर्षकको समाचार हेल्थपाटीले प्रशारण गरेपछि गृहमन्त्रालयले यस्तो निर्णय लिएको हो ।
नेपालीको अवस्था बुझ्न भन्दै पर्साका सांसद प्रदीप यादव जम्बो टोली लिएर भारतीय क्वारेन्टाइन पुग्नुभएको थियो । सिमापारि भारतमा रोकिएका नेपालीको अवस्था बुझ्न भनेर बुधबार सांसद यादव क्वारेन्टाइन पुग्नुभयो । उहाँले दुई जना पत्रकार सहित आफू निश्चित मापदण्ड अपनाएर क्वारेन्टाइन गएको बताउनुभए पनि भीड सहित क्वारेन्टाइनमा रहेका नेपालीलाई कोठा कोठामा पुगेर भेटेको फोटो सार्वजिनक भएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सांसद यादव भारतीय क्वारेन्टाइन गएको भन्ने जानकारी आफूलाई नरहेको भन्दै पन्छिन खोज्नुभयो । लकडाउनको समयमा जम्बो टोली बोकेर क्वारेन्टाइन पुग्दा समेत सुरक्षाकर्मीबाट कहीँकतै रोकतोक भएन । प्रशाशनको अनुमति बिना सांसद यादव कसरी पुग्नुभयो क्वारेन्टाइन ? भन्ने हेल्थपाटीको प्रश्नमा प्रजिअ कार्कीले यसको जवाफ सांसदसँग नै माग्न भन्दै पन्छिनुभयो । तपाइँसँग स्वीकृत लिएको हो भनेर प्रश्न गर्दा आफूलाई जानकारी नभएको र रक्सौल प्रशासनको स्विकृतिमा जानुभएको थाहा भएको बताउनुभयो । प्रजिअको जिम्मेवारी के हो भन्ने हेल्थपाटीको अर्काे प्रश्नमा आफूले यस घटनाको छानबिन गर्ने भन्दै फोन काट्नुभयो ।
क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई भेटेर आएपछि यादव सहित उहाँसँग गएका सबै जनालाई क्वारेन्टाइनमा राखी आफ्नो क्षेत्रलाई संक्रमणको जोखिमबाट बचाउन वीरगञ्जका स्थानिय बासिन्दाकाे माग थियो । वीरगञ्जका संविधान सभा सदस्य बिचारी यादबले क्वारेन्टाइनमा पुगेका सांसदसहित सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने र वीरगञ्जमा कोरोना भाइरस भित्रिएमा यसको जिम्मेवारी प्रजिअले लिनुपर्ने बताउनुभयो । उहाँले लकडाउनको समयमा प्रजिअबाट चरम लापर्वाही भएको भन्दै यस विषयमा गृह प्रशासनले छानबिन गरी प्रजिअलाई तुरुन्तै कार्वाही गर्न माग गर्नुभएकाे थियो ।
यस्तै नेकपा वीरगञ्ज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले सांसद यादव लकडाउनको उल्लंघन गर्दै भारतीय क्वारेन्टाइन गएको र फर्किएपछि क्वारेन्टाइनमा नबसेकाले स्थानिय बासिन्दा त्रसित भएको बताउनुभयो । उहाँले संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दै नागरिकलाई घरमा नै बस्न आग्रह गरिरहेकाे अवस्थामा न्युनतम सुरक्षा समेत नअपनाइकन कोरोना प्रभावित देशको क्वारेन्टाइनभित्र जानु गम्भीर गल्ति भएको बताउनुभएकाे थियो ।
हेल्थपाटी
तपाईँको अभिमत