फुटबल खेल्ने बेला भविष्यमा खेलाडी बन्छु जस्तो लाग्थ्यो, गीत गाउँदा गायक
बैतडीमा जन्मिनुभएका प्रा. डा.रमेशसिंह भण्डारीलाई ४ वर्ष उमेरमा आमाले आफन्तको साथ लगाएर पढ्न काठमाडौं पठाउनुभएको थियो।
त्यो समय उहाँको गाउँबाट गाडी चढ्न एक दिन पूरै हिँडेर जुलाघाट आउनुपर्थ्यो ।
आमाले पिठ्यूँमा बोकेर ल्याएको डा.रमेशलाई राम्रो याद छ । आफन्तको साथ छाडेर घर फर्कने बेला आमा परपुग्दासम्म रोइरहनुभएको थियो। आफू बुबा बनिसकेपछि रमेशलाई अनुभूति भयो, त्यो बेला आमाको मनमा कति पीडा थियो । ‘त्यति सानो छोरालाई आमाले यति टाढा कसरी पठाउन सक्नुभयो होला ? अहिले एकछिन बाबुलाई नदेख्दा हामीलाई छटपटी हुन्छ’ डा.रमेश भन्नुहुन्छ।
त्यो २०३७–०३८ सालतिरको कुरा थियो।
बुबा भारतमा रोजगारी गर्नुहुन्थ्यो। आमाले घर धान्नुभएको थियो। ५ सन्तानमा रमेश दोस्रो, उहाँमाथि दिदी हुनुहुन्थ्यो । आफन्तसँग बसेर उहाँले भिएस निकेतन स्कुलमा १० कक्षासम्म पढ्नुभयो।
डाक्टर बन्छु भन्ने थिएन
स्कुल पढ्दा उहाँलाई गाउन निकै रुची लाग्थ्यो । स्कुलमा मौका पाएका बेला गाउने गर्नुहुन्थ्यो । ४–५ कक्षामा पढ्दा होला नेपालमा प्रतिभाको डबली भन्ने रियालिटी सो सुरु भएको थियो।
राष्ट्रिय सभागृहमा त्यो कार्यक्रम हुन्थ्यो।
रमेश गाउनमा धेरै रुची राख्ने भएकाले म्युजिक शिक्षकले रमेशलाई प्रतिभाको डबलीमा पठाउन तयारी गराउनुभएको थियो। लिएर जान्छु भन्नुभएको थियो।
यसका लागि झण्डै एक महिना अभ्यास गराएको डा.रमेशलाई याद छ । अभ्यास गरिएको गीत पनि सम्झिरहनुभएको छ–जीवन हाम्रो.... बोलको गीत थियो ।
तर जान पाइएन, उहाँलाई त्यहाँ भाग लिन लगिएन । किन जान पाइएन रमेशलाई थाहा छैन। स्कुलले नलगेको होकि ? पढाइ बिग्रिन्छ भनेर अभिभावक कसैले नलैजा भनेका हुन् कि केही भेउ पाउनुभएन ।
‘मन चाँही निकै चसस्क भएको थियो’ डा.रमेश भन्नुहुन्छ, ‘त्यहाँ गएको भए सायद गायक नै हुन्थेँ कि ।’
स्कुल पढ्दा डाक्टर नै बन्छु भन्ने कुनै लक्ष्य रमेशको थिएन । परिस्थित अनुसार चाहना फेरिइरहन्थ्यो।
‘सानोमा जे गर्यो त्यही बन्छु जस्तो लाग्थ्यो । म राम्रो फुटबल खेल्थेँ । साथी भाइले यो फुटबल खेलाडी बन्छ भन्थे । खेलाडी बनुँ जस्तो लाग्थ्यो । गीत गाइरहँदा गायक बन्छु जस्तो लाग्थ्यो । कहिले शिक्षक बन्छु जस्तो लाग्थ्यो’ रमेश त्यो बेलाको अनुभूति सुनाउनुहुन्छ।
माथिल्लो कक्षा पुग्दै गर्दा रमेशको पढाइ राम्रो हुँदै गयो । पढाइमा राम्रो भएपछि कि डाक्टर कि इन्जिनियर भन्ने प्रचलन छँदैथियो ।
‘९–१० कक्षा पुगेपछि चाँही के मनमा बस्यो भने म जत्तिको पढाइमा राम्रो भएकाले डाक्टर नै बन्नुपर्ने रहेछ’ रमेश भन्नुहुन्छ।
एसएलसी सकेपछि वीरेन्द्र सैनिक आवासीय कलेजमा आइएसी भर्ना हुनुभयो । डाक्टर बन्ने योजनाअनुसार नै बायोलोजी लिएर पढ्नुभयो।
आइएसी पढ्दा डाक्टर पढ्न जसरी पनि नाम निकाल्नुपर्छ भन्ने ध्याउन्नले बेस्सरी मेहनत गर्नुभयो । त्यो बेला टिचिङमा मात्रै एमबीबीएस पढ्न पाइन्थ्यो । प्रतिस्पर्धा धेरै थियो । रमेशले आइएसी सक्काउने बेलासम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पनि थपियो । रमेशले धरानमै एमबीसीएस पढ्न नाम निकाल्नुभयो ।
परिस्थितिले सर्जन बनायो
एमबीबीएस सक्काएपछि २ वर्ष काम गरेको अनुभव नभई थप पढ्न पाइँदैनथ्यो।
एक वर्ष काठमाडौं मेडिकल कलेजमा र एक वर्ष धरानमै पेडियाट्रिक(बाल स्वास्थ्य) विभागमा मेडिकल अफिसरका रुपमा काम गर्नुभयो।
२ वर्ष बाल उपचारमा काम गरेपछि पेडियाट्रिसियन(बालरोग विशेषज्ञ) नै बन्छु भन्ने अठोट उहाँको मनमा आयो ।
स्नातकोत्तर तहको प्रवेश परीक्षा दिँदा योग्ताक्रम अनुसार उहाँले पेडियाट्रिक रोज्न पाउनुभएन । सर्जरी छान्नुपर्ने परिस्थिति आयो। सर्जन बन्ने खासै सौख थिएन।
पेडियाट्रिक आफूले हाउस अफिसर भएर सिकेको र रमाइलो लागिरहेको विषय थियो । तर जनरल सर्जन पढ्नुपर्यो ।
त्रिवि शिक्षण अस्तपालबाट एमएस सक्काएपछि त्यहीँ काम गर्ने अवसर मिल्यो ।
काम गर्दै जाँदा पेट सम्बन्धी रुची भयो । टिचिङमै एमसीएच गरी पेट सम्बन्धि थप विशेषज्ञता हासिल गर्नुभयो डा. रमेशले ।
अस्ट्रेलियामा रहेको रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्समा फेलोसिप गर्ने अवसर रमेशले प्राप्त गर्नुभयो।
त्यहाँ एसियाबाट आवेदन दिन पाइन्थ्यो । रमेशले आवेदन दिएर २ वर्षे फेलोसिपका लागि नाम निकाल्नुभएको थियो ।
२०१० देखि १०११ सम्म त्यहाँ गएर लिभर सर्जरीको बारेमा सिकेर आउनुभयो ।
त्यहाँ फेलोसिप दिनेबेला रमेशलाई सोधिएको थियो–तिमीलाई हामीले किन छात्रवृत्ति दिने?
‘मैले अहिले लिभर सर्जरी पढ्छु पछि नेपाल फर्किएर हाम्रो अस्तपालमा कलेजो प्रत्यारोपण सुरु गर्छु भनेको थिएँ’ डा.रमेश भन्नुहुन्छ।
कलेजो प्रत्यारोपण सुरू गर्न संघर्ष
अस्ट्रेलियाबाट नेपाल फर्किएपछि डा.रमेशले कलेजो प्रत्यारोपण टिचिङमा गर्न सकिन्छ कि सकिक्दैन ? भनेर अध्ययनमा लाग्नुभयो। निकै कठिन छ तर बल लगायो भने गर्न सकिन्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो।
यसबारे उहाँले धेरै जनासँग कुरा गर्नुभयो । कहाँ नेपालमा सकिन्छ ? कठिन छ । हुन सक्दैन भन्ने धारणा नै आयो सबैबाट।
‘त्यसपछि कलेजो प्रत्यारोपण सम्बन्धि तालिम लिन्छु भनेर फेरि अस्ट्रेलिया नै गएँ’ डा. रमेश सुनाउनुहुन्छ।
अस्ट्रेलियाको अस्टिन हस्पिटलमा गएर डा.रमेशले एक वर्ष कलेजो प्रत्यारोपणबारे तालिम लिनुभयो।
'तालिममा मैले हेरेँ के–के चाहिने रहेछ । कसरी हुने रहेछ सबै बुझेँ’ डा.रमेश भन्नुहुन्छ, ‘त्यहाँ गएर हेर्दा यो त निकै गाह्रो रहेछ । सकिँदैन कि क्या हो । बेक्कार आएछु भन्ने पनि लाग्यो । तर प्रयास गरेर हेरौँ भन्ने भवानाले काम गरिरह्यो।’
२०१४ मा जानुभएका रमेश २०१५ जनवरीमा फर्किनुभयो नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्ने अठोटका साथ ।
कलेजोबारे अध्ययन गर्ने टिचिङमा उहाँ मात्रै हुनुहुन्थ्यो। पहिला टिम बनाउनु पर्यो। सेटअफ पनि गर्नुपर्यो। आफूलाई चाहिने जनशक्तिलाई अस्ट्रेलिया, भारत, अमेरिका लगायतका ठाउँमा विभिन्न तरिकाबाट सहयोग लिएर डा.रमेशले तालिमका लागि पठाउनुभयो।
तालिममै २–३ वर्ष लाग्यो। अब छुट्टै आइसीयू चाहियो, सामान चाहियो, एनेस्थेसियाको सामान चाहियो। करिब १०–१२ करोड बजेट चाहियो।
त्यसका लागि त सरकारलाई नै गुहार्नु पर्यो। नेपालमा कलेजो प्रत्यारोण सुरु गर्न सकिन्छ भनेर सरोकारवाला व्यक्ति, निकालयलाई मनाउन डा.रमेशलाई निकै हम्मे भयो ।
धेरैले गाह्रो छ । यसमा समय खर्च नगरेकै बेस भन्ने खालको उत्तर पनि आएका थिए ।
‘हो गाह्रो छ तर यसबारे कसैले त सुरु गर्न सोच्नु पर्यो नि भनेर म लागिरहेँ’ डा.रमेश भन्नुहुन्छ ।
सिंहदरबारदेखि विभिन्न निकाय उहाँ निकै धाउनुभयो । बजेट आउने वातावरण बनेन।
२०७३ मा गगन थापा स्वास्थ्य मन्त्री बनेपछि पुरानो चिनजान समेत रहेकाले बल्लबल्ल रमेशले नेपालमा कलेजो प्रत्यारोपण सम्भव छ भनेर कन्भेन्स गर्न सफल हुनुभयो।अनि बजेट आयो।
बजेट पाएपछि एक वर्षमा सबै तयारी भयो । आईसीयू बनाउने, सर्जरीको सामान किनियो। टिम पनि भयो ।
कलेजो प्रत्यारोपण गर्न लाइसेन्सको लागि ३ पटक आवेदन दिएपछि बल्ल मिल्यो ।
त्यसपछि प्रत्यारोपण सुरुका लागि तयारी हुनथाल्यो ।
सुरुमा त प्रत्यारोपण गरिरहेको अनुभवी टिम चाहियो । त्यो नेपालमा थिएन। आफूले अस्ट्रेलियामा पढेको । त्यहाँ डा.रमेशले चिनेका साथीहरू नेपाल आएर कलेजो प्रत्यारोपणमा सहयोग गर्न त तयार भए। तर उहाँबाट भिसा लगाएर आउनुपर्ने । आउन–जान, बस्न सबै अप्ठेरो । उनीहरुबाट यहाँ सहयोग लिन असम्भव देखियो।
अब नयाँ उपायका लागि डा.रमेश भारतमा हुने कलेजो प्रत्यारोपण सम्बन्धि कार्यक्रम, सम्मेलनहरुमा जान थाल्नुभयो । त्यहाँका विज्ञसँग सम्बन्ध बनाउन लागिपर्नुभयो ।
कसले मलाई सहयोग गर्छ ? म नेपालमा सरकारी अस्पताल टिचिङमा यस्तो-यस्तो गर्दैछु भनेर धेरै जनासमक्ष कुरा राख्नुभयो। यसमध्ये केहीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
सहयोग गर्ने मान्छे पनि भेटियो । कलेजो प्रत्यारोपण गर्न पूरै तयारी भयो।
अब प्रत्यारोपण त गर्ने तर कस्को गर्ने ? प्रत्यारोपणका लागि कोही आएन। कसैलाई कन्भिन्स नै गराउन सकिएन।
पूरै तयारी भइसकेपछि पनि करिब ६ महिना त्यत्तिकै बित्यो ।
बल्लतल्ल काठमाडौंकै बुबा र छोरी कलेजो प्रत्यारोपणका लागि तयार हुनुभयो।
‘उहाँहरुलाई सबै कुरा बुझाइयो। यो पहिलो पटक हो । हामी तयार छौँ । हामीलाई सहयोग गर्न बाहिरबाट टिम आउनुहुन्छ । सबै कुरा बुझाएपछि प्रत्यारोपण गर्न तयार हुनुभयो’ डा.रमेश सुनाउनुहुन्छ।
३ हप्ता जतिको तयारी भयो । पहिलो पटक भएकाले डा.रमेशलाई निकै डर पनि लागिरहेको थियो।
प्रत्यारोपणमा सहयोगका लागि भारतको एपोलो अस्तपालको टिम आयो । एपोलोबाट ७ जनाको टिम आएको थियो। २०७६ जेठ १८ को दिन बिहान ५ बजे अप्रेसनमा लिएर गएको राति १२ बजेतिर अप्रेसन सकियो।
अप्रेसन सकिएपछि डा. रमेशलाई निकै अचम्म लाग्यो । डा.रमेश त्यो क्षणको सम्झना गर्नुहुन्छ, 'ओहो ! यति त भयो । सुरु नै हुँदैन भन्ने थियो भोलिको दिन जे होला तर १० वर्षदेखि लागेर गरेर त देखाइयो भन्ने सुन्तुष्टि भयो।'
अप्रेसन सफल भयो । अब बिरामी के हुने हो भन्ने चिन्ता थियो। दुई–चार दिन निकै डर लाग्यो । तर सबै राम्रो भयो ।
त्यसपछि पहिलो भइसकेपछि हामीले गरिसकेका छौँ भनेर बिरामीलाई भन्न सजिलो भयो ।
साढे २ महिनापछि फेरि अर्को प्रत्यारोपण भयो। विभिन्न व्यवधानबीच अहिले डा.रमेशको टिमले त्रिवि शिक्षण अस्पतालमा १०औँ कलेजो प्रत्यारोपण गरिसकेको छ ।
बिरामीको उपचारसँगै गायनतिर
डा.रमेशले डाक्टरी पेशाको अलवा सानैदेखिको गीत गाउने रहरलाई पनि मर्न दिनुभएन।
आइएसी पढ्दा होस या एमबीबीएस कलेजको हरेक कार्यक्रममा रमेश गीत गाउन अघि सर्नुहुन्थ्यो । यस्ता कार्यक्रममा गाउन कहिल्यै छुट्नुभएन । होस्टेलमा, घरमा हुँदा पनि गाउने बजाउने गरिरहनुहुन्थ्यो।
मास्टर डिग्री गर्दैगर्दा र त्यसका केही वर्ष निकै व्यस्त भएकाले डा.रमेशले गायनमा खासै ध्यान दिन पाउनुभएन ।
पछि फुर्दस हुन थालेपछि गाउने क्रम फेरि सुरुभयो
प्राध्यापकसमेत भइसकेपछि उउहाँले फेरि गाउन सुरु गर्नुभयो । आफूलाई मन परेका गीतको कभर गाउने, मोबाइलमा रेकर्ड गरेर राख्ने भने गर्नुहुन्थ्यो ।
गीत नै रेकर्ड नै गर्नु भने भएको थिएन । २०७६ मा डा.रमेशले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसको अप्रेसन गर्नुभएको थियो । अप्रेसनपछि आइसीयूमा रहँदा रमेशले आफूले गाएर मोबाइलमा रेकर्ड गरेको गीत उहाँलाई सुनाउनुभयो ।
उहाँले ओहो ! तपाई त राम्रो गाउनु हुँदोरहेछ । अलि अभ्यास गरेर नियमित गाउनुस् भन्नुभयो । ‘प्रधानमन्त्रीले नै त्यति किन ट्राइ नगर्ने भन्ने लाग्यो’ डा.रमेश भन्नुहुन्छ, ‘गाउनमा अझै हौसला मिल्यो ।’ प्रधानमन्त्री ओलीले नै लेखेर पत्रिकामा छपाएको एउटा गीत रेकर्ड गराउनुभयो ।
धेरैले यसमा राम्रो प्रतिक्रिया दिए । अनि रमेशले गाउन निरन्तरता दिनुभयो । प्राय रमेश आफैँ गीत लेख्ने, आफैँ संगीत भर्ने आफैँ गाउने र आफैँ मोडलिङ समेत गर्नुहुन्छ ।
अहिलेसम्म ७ वटा गीत रेकर्ड गराएको उहाँले सुनाउनुभयो।
केही बिरामीहरुले समेत तपाईको गीत सुनेको छु राम्रो लाग्यो भन्नछन् । यस्तो सुन्दा उहाँलाई निकै खुसी लाग्छ ।
‘अब गीत गाएर ठूलै केही गर्छु, खतरै गायक बनिहाल्छु भन्ने त होइन जे भएपनि सानो बेलादेखिको रहरलाई मेटिरहेको छु’ डा.रमेश भन्नुहुन्छ।
रमशेले फुटबलप्रतिको आफ्नो रुचीलाई पनि छाड्नुभएको छैन । अहिले पनि उहाँ नवजवान जत्तिकै फुटबल खेल्नुहुन्छ । फुटबल खेल्ने साथीहरु हुन्छन् आफ्नै विद्यार्थी।
हरेक साता म्याच हुन्छ । डा.रमेश त्यसमा मुख्य खेलाडीकै रुपमा सहभागी हुनुहुन्छ। 'स्कुल, कलेजमा जत्तिकै खेल्न सकिरहेको छु । मेरा विद्यार्थीहरू मसँग फुटबल खेल्न सक्दैनन्’ डा.रमेशको दावी छ।
केदार गौतम

तपाईँको अभिमत