प्रत्यारोपण गर्दा आधा काटेको कलेजो पलाउने होइन फुल्छ

हाम्रो शरीरमा कलेजोले जति धेरै काम सायद त्यति मस्तिष्कले मात्रै गर्छ होला । मतलत यसका धेरै काम छन् ।
हामीले खाएको खानामा भएको विष यही कलेजोको माध्यमबाट बाहिर जान्छ। हामीले खाने औषधिहरू लाई शरीरमा पठाउने, त्यसलाई पचाउने काम पनि कलेजोले नै गर्छ।
यसले शरीरलाई प्रोटिन बनाउछ । शरीरलाई रोगसँग लड्न चाहिन तत्व पनि यसले उत्पादन गर्छ । काटेका बेला रगत बग्न नदिएर रोक्ने तत्व पनि कलेजोले नै उत्पादन गर्छ ।
कलेजो फेल भएपछि शरीरका विभिन्न भागमा रक्तश्राव हुनेहुन्छ ।
हाम्रो शरीरलाई नचाहिने विकार तत्वहरू कलेजोले फाल्छ । जस्तो कलेजोले विकार फाल्न नसक्दा जण्डिस हुन्छ । रगत पुरानो भएको, मरेका रक्तकोषहरू कलेजोले पित्त नली हुँदै फाल्छ।
कलेजोको रोग लागेका बिरामीको शरीरमा पानी जम्मा हुन थाल्छ । किन पानी जम्मा हुन्छ भन्दा शरीरमा प्रोटिन उत्पादन बन्द हुन्छ ।
बलेजो बिग्रिएपछि नशाबाट कलेजोमा लाने रगत ब्लक हुन्छ । रगत बन्द हुँदा नशाहरू फुल्न थाल्छन् ।
अन्य नशाबाट रक्तश्राव हुन्छ । कतैबाट रक्तश्राव भए बन्द हुँदैन ।
शरीरमा उत्पन्न भएका विषहरू बाहिर फाल्न नपाएपछि मान्छे बेलाबेलामा बेहोस् हुन थाल्छ।
आँखा पँहेलो हुनथाल्छ। कलेजोले ग्लुकोज पनि बनाउँछ । त्यो बनाउन नसकेपछि ग्लुकोज कम भएर मान्छे बेहोस् हुनथाल्छ । रोगप्रतिरोधी क्षमता कम हुन्छ । संक्रमणहरू धेरै हुन थाल्छ।
यो शरीरको इन्जिन जस्तो हो । यो पूरै बिग्रिएपछि त सक्किहाल्यो । पूरै बिग्रिदै छ वा केही समयपछि पूरै बिग्रिने अवस्था भएपछि पूरै बिग्रिनु भन्दा पहिला नै नयाँ हाल्नका लागि प्रत्यारोपण गरिने हो।
कलेजो दिनेलाई कति जोखिम ?
प्रत्यारोपण गर्दा स्वस्थ व्यक्तिको कलेजोको केही भाग काटेर बिरामीकोमा प्रत्यारोपण गर्ने हो । दिने मान्छे १८ देखि ५०–५५ वर्षको स्वस्थ व्यक्ति छानिन्छ । धेरै लामो समय औाषधि नखाएको, पेटको अप्रेसन नगरेको, ठूला स्वास्थ्य समस्या नभएको व्यक्ति छनोट गरिन्छ ।
लामो समय रक्सी नखाने मान्छे छान्छौँ । बाहिर त रक्तसमूह नमिलेको मान्छेको पनि गर्छन् हामीले चाँहि रक्त समूह मिलेकाको मात्रै दिन्छौँ।
कलेजो दिन दाता तयार भएपछि उसको सिटी स्क्यान गरेर कलेजोको अवस्था हेरिन्छ । उसको कति भाग दिन मिल्छ । त्यो भागले पाउने मान्छेको शरीरमा काम गर्छ कि गर्दैन त्यो हेरिन्छ।
बाँकी भागले दिन मान्छेलाई पुग्छ कि पुग्दैन हिसाब गर्छौैँ । सबै ठिक भएपछि मात्रै प्रत्यारोपणको लागि तयारी हुन्छ ।
स्वस्थ मान्छेले शरीरको ६०–७० प्रतिशतसम्म कलेजो दिन सक्छ ।
नयाँ पलाउने होइन फुल्ने
काटेर दान दिएको कलेजो नयाँ पलाउँछ भन्ने बुझाइ धेरैको छ । नयाँ पलाउने होइन भएको कलेजो नै फुल्छ । त्यो फुलेर पहिलेकै आकारमा जान्छ । प्रायगरी ६ देखि ८ हप्तामा ९५ प्रतिशत फर्किइसकेको हुन्छ । पहिले जस्तै काम गर्छ ।
खासै समस्या हुँदैन ।
फर्किन्छ फर्किँदैन । पुग्छ, पुग्दैन , सबै पहिल्यै हिसाब हुने भएकाले डराउने पर्ने अवस्था रहँदैन।
६–८ हप्तासम्म त बाँकी भएको कलेजोले काम गर्नुपर्यो । त्यो नपुग्लाजस्तो लाग्यो भने हामी गर्दैनौँ।
दातालाई एक–दुई दिन आइसीयूमा राख्छौँ । ५–७ दिन वार्डमा लगेर राख्छौँ । ८ देखि १० दिनमा डिस्चार्ज हुन्छ । कलेजो दानदिने ८०–९० प्रतिशतमा हुने यही हो ।
घरमा गएर काम गर्न मिल्छ । सुरुमा धेरै गाह्रो, भारी उचाल्ने काम नगर्न भन्छौँ । त्यसपछि ६–८ हप्तापछि जे–जे मन लाग्छ गर्दा हुन्छ । दाताको कलेजो पहिलेकै अवस्थामा फर्किन्छ।
९९ प्रतिशतको चाँही यही हुन्छ । अप्रेसन हो । सबैलाई यही हुन्छ भन्ने चाँहि सक्दैनौँ। अब हामी ९९ प्रतिशत मान्छेलाई भएको हेरेर राम्रो हुन्छ भन्ने कि ? १ प्रतिशतलाई हेरेर जोखिम हुन्छ भन्ने भन्ने कुरा आउँछ । निश्चय पनि हामीले ९९ प्रतिशतलाई नै सही मान्नु पर्ने हुन्छ ।
हरेक कुरामा केही न केही जोखिम हुन्छ । केही घटना हुँदैन भन्ने होइन । नर्मल मान्छेलाई अप्रेसन गर्ने काम जोखिम हुन्छ न । प्रत्यारोपणमा कहिले कँही रक्तश्राव रोकिएन भने ज्यानै जाने खतरा हुन्छ । तर त्यो एकाध मात्रै हो ।
पाउने मान्छेको पनि ६–८ हप्तामा कलेजो ठूलो भएको हुन्छ ।
कलेजोको भाग काट्ने हो । प्रत्यारोपण गरिसकेपछि शरीरमा अर्काबाट लिएको कलेजोलाई अस्वीकार नगरोस् भनेर शरीरको इम्युनिटी घटाउन औषधि खानुपर्ने हुन्छ । औषधिहरू बिस्तारै घटाउँदै गइन्छ ।
सुरुको ६ महिना १ वर्ष धेरै औषधि हुन्छन् । पछि गएर त एउटा मात्रै खाए पुग्छ ।
तर प्रत्यारोपण गरेको व्यक्ति सतर्क भने भइरहनुपर्छ। सामान्य देखिए पनि सामान्य त हैन नि। अर्काबाट हालेको कलेजो हो । ल म ठिक भएँ भनेर फेरि जेपायो त्यही खाने, मदिरा खाने गर्यो भने त फेरि बिग्रिइहाल्छ नि।
(कुराकानीमा आधारित)
तपाईँको अभिमत