महिनामा एउटा प्रत्यारोपण गर्न तयार छौँ तर बिरामी आउँदैनन्
टिचिङमा पहिलो कलेजो प्रत्यारोपण सफल भएपछि सबैजना उत्साहित नै थियौँ । सबैभन्दा बढी लागिपरेको मान्छे म त झन् खुसी हुने नै भएँ।
अब निरिन्तरता दिन कति सकिन्छ भन्ने चिन्ता थियो। पहिलो प्रत्यरोपण भएपछि अर्काे गर्नका लागि बिरामीलाई बुझाउन सजिलो भयो । एउटा त गरिसक्यौँ नि भन्न पाइयो।
पहिलो प्रत्यारोपण गरेको साढे २ महिनामा दोस्रो प्रत्यारोपण गर्न सकियो । दोस्रो प्रत्यारोपणदेखि सहयोगका लागि भारतको फोर्टिस अस्तपालको टोली आउन थाल्यो ।
करिब १ वर्षभित्र ४ वटा कलेजो प्रत्यारोपण गरियो । त्यसपछि कोभिड महामारी सुरुभयो । कोभिडमा प्रत्यारोपण हुन सकेन । बीचमा कोभिड केही कम भएका बेलामा फेरि २ वटा गर्न सकियो । कोभिडको अर्काे लहर देखापर्यो । फेरि ७–८ महिना बन्द गर्नुपर्यो । त्यसपछि सातौँ प्रत्यारोपण भयो । कोभिड महामारी कायमै भएकाले सहयोगका लागि फोर्टिस अस्पतालको टोली आउन सकेन । यो सातौँ प्रत्यारोपण पूरै हाम्रै टोलीले गर्यो ।
त्यसपछि पनि केही समय बन्द भयो । यो वर्ष हामीले ८औँ, ९औँ र १०औँ गरिसकेका छौँ । अब चाहीँ बिरामी आए भने नियमित हुन्छ । रोक्नुपर्ने कुनै कारण छैन।
प्रत्यारोपण गर्न तयार बिरामी छैनन्
हामी अहिले महिनामा एउटा कलेजो प्रत्यारोपण सजिलै गर्न सक्ने अवस्थामा छौँ । तर त्यो अनुसार प्रत्यारोपण गराउने बिरामी आइरहेका छैनन् ।
हामीले आफ्नो क्षमताअनुसार प्रत्यरोपण गर्न पाएका छैनौँ ।
रिसर्च नै गरेको त छैन । तर हाम्रो अनुमानमा वर्षमा २०० देखि ३०० सम्म नेपालीको कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ती बिरामी कहाँ गए ? भन्ने हाम्रो प्रश्न हो ।
यसको मतलब कलेजोका बिरामी नै नआउने होइनन् । थुप्रै बिरामीहरू आइरहेका हुन्छन् । प्रत्यारोपणबाहेक कलेजोका अन्य अप्रेसन नियमित भइरहेका छन् ।
क्यान्सर भएका, सिस्ट भएका लागायत अन्य कलेजो रोगका बिरामीको अप्रेसन भइरहेको छ । प्रत्यारोपणका लागि तयार पारेको पूर्वाधार, जनशक्तिका कारण कलेजोका अन्य उपचारमा निकै सहज भएको छ । पहिले भन्दा शल्यक्रिया पनि धेरै हुनसकेको छ।
प्रत्यारोपण गर्ने बिरामी पनि आउँदै नआउने होइन् । प्रत्यारोपण गर्न थुप्रै जटिलताहरू छन् । धेरै कुरा मिल्नुपर्छ ।
कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीका लागि पहिलो कुरा त कलेजो दिने मान्छे नै पाइँदैन ।
कसैले दाता खोजेर ल्याउछन् । कानुनअनुसार नाता प्रमाणित नै हुँदैन। दिने व्यक्ति तयार हुन्छ रक्त समूह मिल्दैन ।
दिन तयार भएका कतिपय दाताको परीक्षण गरेर हेर्दा बाँड्न मिल्ने अवस्थाको कलेजो नै हुँदैन।
सबै मिलिरहेको हुन्छ तर अन्तिममा दिने मान्छे नै डराएर दिन्न भन्छ ।
कति मान्छे दिन तयार भयो । बिरामी धेरै सिकिस्त हुन्छ । धेरै सिकिस्त भएपछि अप्रेसन गर्न मिलेन।
सबै कुरा ठिक मिलायो अन्तिममा बिरामीले पैसा जोहो गर्नै सक्दैनन् ।
यति धेरै चुनौतीका बाबजुद छाटिँदा-छाटिँदा थोरैको मात्रै प्रत्यारोपण हुने अवस्था हुन्छ ।
प्रत्यारोपण गराउने बिरामी नै कम आएपछि त्यसमा पनि छाटिँदै गएर निकै थोरैको मात्रै प्रत्यारोपण हुन सकेको हो। जतिसक्यो धेरै बिरामी आयो भने त्यही अनुसार धेरै छान्न पाइन्छ।
कलेजो प्रत्यारोपण गराउने नेपाली नै नभएर यस्तो भएको जस्तो लाग्दैन । अझै पनि हुन्छ भन्ने थाहा नभएर हो वा हामीप्रति विश्वास नभएर धेरै जना विदेशमा गएर प्रत्यारोपण गराइरहेका छन् भन्ने हाम्रो निष्कर्ष हो ।
नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्ने बेलामा नै हामी भारतका मुख्य-मुख्य अस्पताल जाँदा त्यहाँ थुप्रै नेपालीले कलेजो प्रत्यारोपण गराएको पाउथ्यौँ । त्यो समय भारतमा मात्रै वर्षमा किरब ३०-४० जना नेपालीलै कलेजो प्रत्यारोपण गराउने गरेको मैले पाइएको थिएँ।
यी मध्ये ५० प्रतिशतलाई मात्रै पनि नेपालमा रोक्न सक्यो भने हामीलाई पुग्छ भन्ने लागेको थियो ।
अहिले त कलेजो झन प्रत्यारोपण गराउनेको संख्या पक्कै बढेको छ। अहिले पनि धेरै जना भारत जाने गरेको सुनिन्छ ।
बाहिर गएका बिरामीको धेरै रेकर्ड नै हुँदैन । सीमा छेउछाउका, पश्चिततिरका प्राय बिरामी हुँदा उपचार गर्न भारत नै जान्छन् ।
विदेशमा कजेलो प्रत्यारोपण यहाँ भन्दा निकै महंगो पर्छ । भारतकै मात्रै कुरा गर्दा पनि तेब्बर बढी खर्च लाग्छ । अस्पतालमा तिर्ने बिलको मात्रै हिसाब गरेर हुँदैन । महिनौँ बस्नुपर्यो । बिरामीसँग कुरुवा जानुपर्यो । एकजनाले मात्रै हुँदैन । सबैले खानु बस्नुपर्छ । प्रत्यारोपणपछि पनि फलोअपमा गइरहनुपर्छ । खर्च त कति हो ?
धेरैलाई अझै पनि यहाँ कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहै छैन । स्वास्थ्य क्षेत्रकै केही व्यक्तिले ए यहाँ पनि हुन्छ ? भनेर मसँगै प्रश्न गरेका उदाहरण पनि छन्।
कतिपयलाई चाँही यहाँको विश्वास नभएको पनि होला । उहाँ आएका पनि कतिपय पछि विदेशमै गएर प्रत्यारोपण गराएको घटना पनि छ।
हामीले १०-१० वटा गरिसक्यौँ, विश्वास दिलाउनका लागि यो भन्दा अरु के हुन सक्छर ?
कलेजो प्रत्यारोपण भन्दैमा सबै उस्तै पनि हुँदैनन् । हामीले गर्न सक्ने. सफल हुन्छ भनेर ढुक्क भएका केसमा मात्रै प्रत्यारोपणका लागि तयारी गर्छौँ । जो हामीले सक्दैनौँ । धेरै जटिल छ । त्यस्तो भएत हामीले नै विदेश जानुस् भनिहाल्छौँ नि। तर त्यो अवस्था एकदम कम हुन्छ । ९५ प्रतिशत त हामी आफैँ गर्न सक्छौँ । कतै जानु नै परेन ।
हामीले गरेका नवौँ र दशौँ दुवै प्रत्यारोपणका बिरामी भारत पुगेर फर्किनुभएको हो । भारतमा प्रत्यारोपण गर्ने तयारी गरिरहनुभएका उहाँहरुलाई यहीँ हुन्छ भन्ने जानकारी कसैले दिएपछि आउनुभएको थियो।
बिरामीका तर्फबाट पनि सबै तयारी समयमै भएको खण्डमा बिरामी आएको ३ देखि ४ हप्ताभित्रमा हामी प्रत्यारोपण गर्न सक्छौँ।
एउटाको तयारी हुँदैगर्छ। अर्काको प्रत्यारोपण गर्दै गर्न पाए हामीलाई सजिलो हुन्थ्यो । तर बिरामी छैनन् । मैले अरुलाई पनि भन्ने गरेको छु बिरामी खोज्नुपर्यो भनेर।
यहीँ भएको सेवा लिन धेरै खर्च गरेर विदेश किन जानु ? भन्ने मनन् गर्न जरुरी छ।
(कुराकानीमा आधारित)
प्रा.डा.रमेशसिंह भण्डारी
तपाईँको अभिमत