अंग प्रत्यारोपण सेवा स्थापित गरेर गरिबका डाक्टर बन्नुभएका डा.पुकारचन्द्र श्रेष्ठ
बाग्लुङमा जन्मनुभएका डा.पुकारचन्द्र श्रेष्ठ अहिले नेपालको एक अब्बल ट्रान्सप्लान्ट सर्जनका रुपमा परिचित हुनुहुन्छ। उहाँ हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक हुनुहुन्छ।
साथै अंग प्रत्यारोपण समितिका अध्यक्षसमेत हुनुहुन्छ । अहिले उहाँको दैनिकी अपरेशन थियटरमै बित्ने गरेको छ । आफूले जानेको सीप र ज्ञानको उपयोग गरी धेरैभन्दा धेरै गरिब बिरामीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ भन्ने मान्यतामा उहाँ दृढ हुनुहुन्छ।
नेपालमा अंग प्रत्यारोपण सेवालाई स्थापित र विस्तार गर्न उहाँको ठूलो योगदान रहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लाई स्थापना कालमा मानवअंग प्रत्यारोण केन्द्रले नामाकरण गरिएको थियो । यो संस्था स्थापनामा उहाँले धेरै मेहनत गर्नुभयो।
जनरल सर्जनका रुपमा बुटवलमा रहेर सेवा गरिरहँदा २०-३० वर्षका युवाहरु मिर्गौला र कलेजो बिग्रिएर भर्ना भएको देख्नुहुन्थ्यो ।
त्यतिबेला नेपालमा प्रत्यारोपण सेवासम्बन्धी कानुन थिएन । न प्रत्यारोपण गर्ने डाक्टरको उत्पादन नै थियो । प्रत्यारोपण सेवा नपाएर बिरामीले अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यताको साक्षी भएर बस्नुपर्दाको पीडाले डा.श्रेष्ठलाई प्रत्यारोपण सर्जन बनायो।
बेलायतमा प्रत्यारोपणसम्बन्धी ६ वर्षको तालिम लिनुभयो । बेलायतमै प्याङक्रियाज, कलेजो र मिर्गाैला प्रत्यारोपणमा दखलता हासिल गर्नुभयो । कलेजो प्रत्यारोापण गरी उहाँले प्रत्यारोपण सेवाको सुरुवात गर्नुभएको थियो । प्रत्यारोपणमा कलेजो प्रत्यारोपणलाई सबैभन्दा जटिल र जोखिमपूर्ण मानिन्छ । जब उहाँले प्रत्यारोपणमा दक्षता हासिल गर्नुभयो, त्यसपछि नेपाल फर्कने सोच बनाउनुभयो।
बेलायत गएर प्रत्यारोपण सम्बन्धि तालिम लिनुको प्रमुख उद्देश्य नै नेपालमा फर्किएर प्रत्यारोपण सेवालाई स्थापित र विस्तार गर्नुथियो । सोही लक्ष्य अनुरुप उहाँ नेपाल फर्कनुभयो।
उहाँ फर्कदा नेपालमा प्रत्यारोपण सेवा सुरु त भएको थियो तर गति लिएको थिएन । डा.पुकारचन्द्र श्रेष्ठलाई कछुवा गतिमा रहेको प्रत्यारोपण सेवालाई धेरैभन्दा धेरै बिरामीमाझ पुर्याउनु थियो । नेपालमा प्रत्यारोपणको सेवाको इतिहास हेर्दा निजी अस्पतालमा सन् १९९८ भएको देखिन्छ । २००४ मा वीर र २००८ मा शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण भएको थियो । प्रत्यारोपण सेवा ओझेलमा परेको थियो । बेलायतबाट नेपाल फर्किएपछि उहाँले वीर अस्पतालमा प्रत्यारोपण सर्जनका रुपमा काम गर्नुभयो । त्यतिबेला वीरमा प्रत्यारोपणका लागि पूर्वाधार, स्रोत, साधन, जनशक्ति नहुँदा प्रत्यारोपण सेवा कछुवा गतिमा थियो । ।
वीरमा प्रत्यारोपणका लागि आफ्नै अपरेशन थियटर थिएन । न्यूरो सर्जरीको थियटर मागेर हप्तामा एउटा मिर्गाैला प्रत्यारोपण गर्न थालियो।
डा.श्रेष्ठले वीरमा प्रत्यारोपण सेवा सुरु गर्दाको समयमा विश्व स्वास्थ्य संगठनले नेपालमा मिर्गाैला फेल भएका बिरामीका सम्बन्धमा एउटा तथ्यांक सार्वजनिक गरेको थियो । उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको त्यो तथ्यांकले नेपालमा मिर्गाैला फेल भएकामध्ये ९० प्रतिशत बिरामीको मृत्यु हुने गरेको देखायो । जुन तथ्यांक कहालीलाग्दो थियो । त्यसपछि डा.श्रेष्ठले प्रत्यारोपण सेवालाई विशिष्ठकृत अस्पतालबाटै दिनुपर्ने आवश्यकता रहेको महसुस गर्नुभयो।
निरन्तर प्रयासबाट भक्तपुर अस्पतालको खाली जग्गामा सन् २०१२ मा अंग प्रत्यारोपण केन्द्रको स्थापना भयो । केन्द्रको पहिलो कार्यकारी निर्देशकका रुपमा उहाँ नै नियुक्त हुनुभयो।
केन्द्रको भवन त बन्यो, तर वीर अस्पतालमा झैं जनशक्ति, स्रोत साधनको चुनौती थियो । ढुलमुलढुल गर्दै केन्द्रले सेवा सञ्चालनमा ल्यायो । केन्द्र स्थापना भएको झण्डै १२ वर्षमा १२०० जनाको मिर्गाैला प्रत्यारोपण भएको छ । १४ जनाको कलेजो प्रत्यारोपण भएको छ।
अहिले वार्षिक ३० हजार सेसन डाइलाइसिस चलिरहेको छ ।
डा.पुकारले अस्पतालमा अंग प्रत्यारोपण सेवालाई मात्रै नभई जनतालाई सहज हुने गरी अंग प्रत्यारोपण ऐन संशोधनमा पनि भूमिका खेल्नुभयो । ऐन संशोधन पश्चात अंगदाताहरुको दायरालाई फराकिलो बनाइयो । डाइलाइसिस र प्रत्यारोपण सेवालाई निशुल्क बनाइयो।
सुरुमा डाइलाइसिस सेवा मात्र नि:शुल्क थियो । यो सुविधाले बिरामीले प्रत्यारोपणलाई नरोजेपछि प्रत्यारोपण सेवालाई नै निशुल्क बनाउनपर्छ भनेर डा.श्रेष्ठ लाग्नुभयो। बिरामीेको गुणस्तरीय जीवनयापन गर्न पाउने कुरालाई मध्यनजर गरी प्रत्यारोपण सेवालाई नि:शुल्क बनाइयो । बिरामी एवं आफन्त डाइलाइसिसमा केन्द्रित हुँदा बिरामीले प्रत्येक हप्ता दुखाइ व्यहोर्नुपर्ने र परिवारका सदस्य काममा जान अवरोध आएको दृष्टान्तलाई ध्यानमा राखी सरकारले प्रत्पारोपण सेवालाई नि:शुल्क बनायो।
देशभर हालसम्म झण्डै २५०० जनाको मिर्गाैला प्रत्यारोपण हुँदा आधा भन्दा बढी डा.श्रेष्ठको हातले नै प्रत्यारोपण गरेको छ । साथै ३२ वटा कलेजो प्रत्यारोपणमा १४ जनाको प्रत्यारोपण डा.श्रेष्ठले गर्नुभएको छ ।
डा.श्रेष्ठ केन्द्रमा अब कलेजो प्रत्यारोपणलाई विस्तार गर्नेतर्फ लागिरहेको बताउनुहुन्छ । वर्षेनी ३ हजार जनाको मिर्गाैला फेल हुने गरेको नेपालमा अहिले जति संख्यामा प्रत्यारोपण भइरहेको छ त्यो संख्या कम नै हो तर शून्य जस्तै अवस्थामा रहेको प्रत्यारोपण सेवा अहिलेको स्थानसम्म आउनु नै ठूलो उपलब्धि रहेको डा.श्रेष्ठको बुझाइ छ।
प्रत्यारोपण सेवा यो स्थितिसम्म आउनमा राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, राजनीतिज्ञ,सांसद,चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एवं अस्पतालका सबै कर्मचारीको देन रहेको उहाँ बताउनुहुन्छ।

अंग प्रत्यारोपण सेवालाई अझै बिस्तार गर्न ब्रेनडेथ भएका व्यक्तिहरुको अंगदानबारे सचेतना अभियान चलाउनु पर्ने उहाँ बताउनुहुन्छ । ब्रेनडेथ भएका व्यक्तिको ८ वटा अंग जतिसक्यो छिटो अर्का जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएकाले खरानी भएर जाने अंगले अरु सयौँ जीवित व्यक्तिलाई अकाल मृत्युबाट जोगाउन सकिने उहाँको भनाइ छ।
हाम्रो अस्पतालको हालसम्म आफ्नो भवन पनि छैन । साँघुरो ठाउँमा बसेर सेवा दिनु परिरहेको छ’, उहाँले भन्नुभयो, ‘सरकारको निर्णयअनुसार ९९ रोपनी जग्गा प्राप्त भए अहिले दिँदै आएको भन्दा धेरै गुणा बढी सेवा दिन सकिन्छ । केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गरि प्रत्यारोपण सर्जनको उत्पादन गर्नेतर्फ उहाँको जोड छ । हाल १० जना विदेशीसहित ७० जना सर्जनले अंग प्रत्यारोपणको अनुमति लिएका छन् ।
डा. पुकारचन्द्र श्रेष्ठको बाल्यकाल
सम्पन्न परिवारका जन्मुभएका डा.श्रेष्ठलाई बुबाले व्यापारी बन्न दिएको सुझावदिनुभएको थियो। कक्षा ६ मा कम अंक आएको देखेर बुबाले व्यापारी बन्न भन्नुभएको थियो।
बुबाको त्यो वचनले डा.श्रेष्ठलाई पढाइको थप महत्व दर्सायो । त्यसपछि कडा परीश्रक गरी उहाँ तेस्रो, दोस्रो हुँदै पहिलो स्थानमा आउनुभयो।
तर उहाँलाई कहिल्यै डाक्टरी पढ्ने चाहना भएन । कक्षा ९ मा पढ्दै गर्दा आमा ज्वरोले थलिनुभयो । पोखराबाट बाग्लुङ पुग्न २ दिन लाग्थ्यो। आमालाई बल्लतल्ल स्वास्थ्यसंस्था पुर्याइयो तर डाक्टर भेटिँदैनथ्यो।
सामान्य स्वास्थ्यकर्मीको भरमा स्वास्थ्य संस्था चल्ने गर्थ्यो त्यो बेला । बुबाले निकै जोखिम मोलेर काठमाडौं ल्याउनुभयो र डाक्टरले आमालाई बचाउनुभयो।
डाक्टरकै कारण आफ्नो आमाको जीवन जागिएको देख्नुभएका उहाँलाई त्यसपछि आफू पनि डाक्टर बनेर आमा जस्तै धेरै बिरामी जोगाउने प्रण गर्नुभयो ।
एसएलसीपछि उहाँले बंगालादेशबाट एमबीबीएस गर्नुभयो । बंगलादेशबाट एमबीबीएस पूरा गरेर नेपाल फर्किएपछि लोक सेवा आयोगको परीक्षामार्फत सरकारी सेवामा प्रवेश गर्नुभयो । त्यतिबेला लुम्बिनी अञ्चल अस्पतालमा मेडिकल अफिसरका रुपमा नियुक्त हुनुभएका डा.श्रेष्ठले त्यहाँ पुगेपछि फेरि अर्को डरलाग्दो दृश्य देख्नुभयो ।
सर्जन निकै कम हुने र आफ्ना अग्रजहरुले बिरामीको चिरफार गरेको देख्दा उहाँलाई सर्जन बन्ने इच्छा जागेको थियो । सर्जरी विधा चामत्कारिक झैं लाग्थ्यो उहाँलाई । सर्जरी गर्ने बित्तिकै बिरामीको स्वास्थ्य अवस्थामा धेरै परिवर्तन देख्नुहुन्थ्यो, त्यसैले चमत्कार भएझैं लाग्थ्यो उहाँलाई।
सर्जरी विधामा एमडी गर्नुभयो । त्यसपछि फेरि उहाँ बुटवल नै जानुभयो । जनरल सर्जनका रुपमा बिरामीको उपचार गरिरहँदा उहाँले युवावस्थामै मिर्गाैला, कलेजो बिग्रिएर भर्ना भएका बिरामीसँग भेट्नुहुन्थयो । तर अंग प्रत्यारोपण सम्बन्धी ऐन नहुँदा अंग नपाएर अर्कालै मृत्यु भएको देख्नुपर्थ्यो।
श्रेष्ठलाई बेलायत सरकारको छात्रबृत्तिमा कलेजो प्रत्यारोपण सम्बन्धी अध्ययनको मौका मिल्यो । सन् २००० मा बेलायत जानुभएका उहाँले ८ वर्षमा आफ्नो जीवन लक्ष्यलाई साकार पार्ने मौका पाउनुभयो । आत्मविश्वास, दृढता, र धैर्यताको गुणले डा.पुकारलाई दक्ष तथा प्रतिष्ठित अंग प्रत्यारोपण विज्ञ बनायो । उहाँ आफ्नो लक्ष्य प्राप्तीका लागि कहिल्यै विचलित हुनुभएन ।
अंग प्रत्यारोपण क्षेत्रमा एक अग्रज सर्जनका रुपमा कहलिनुभएका डा.श्रेष्ठको जीवन, संघर्षबारे हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानी भिडियो हेल्थपाटीको युट्युब च्यानलमा हेर्नसक्नुहुनेछ।

जगन्नाथ ढकाल
तपाईँको अभिमत