'ब्रेनडेथ भएकाको अंगले वार्षिक ३ हजार जनाको ज्यान जोगिन्छ'
नेपालमा ब्रेनडेथ भएका व्यक्तिको अंग प्रयोग गर्न मिल्ने सम्बन्धमा नियमावली आएको ५ वर्ष भइसकेको छ । यसबीचमा ३ जना ब्रेनडेथ भएकाको मिर्गाैला र कलेजो गरी ६ जना व्यक्तिमा प्रत्यारोपण भएको छ। ब्रेनडेथ भइसकेको व्यक्तिको अंग जुन खेर जान्छ, ती अंगले हजारौंको ज्यान जोगाउन सक्ने चिकित्सकहरू बताउँछन् ।
जीवित व्यक्तिले सित्तैमा अंग प्राप्त गर्ने, स्वस्थ व्यक्तिबाट अंग झिक्दा हुने जोखिमको अन्त्य हुने लगायतका थुप्रै फाइदा छ । तर अंगदान कार्यक्रमलाई बढावा दिन नसकिएको चिकित्सकहरुकाे गुनासाे छ । हामीले ब्रेनडेथ र अंगदानबारे शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौँ ।
कुन अवस्थालाई बिरामीको मष्तिष्कको मृत्यु (ब्रेनडेथ) भएको भनिन्छ?
सडक दुर्घटना या मष्तिष्क पक्षघातका कारण ब्रेनडेथ हुन्छ । मष्तिष्कघात, उच्चरक्तचाप, मधुमेहका कारण पनि रगतको नसाहरु छुटेर मष्तिष्कघात हुनसक्छ। अनि मष्तिष्कघातको उपचार सफल भएन भने बिरामीको ब्रेनडेथ हुन्छ। मष्तिष्क र मेरुदण्ड जोड्ने बीचको भागलाई ब्रेन स्टीम भनिन्छ, ब्रेन स्टीम डेथ नै ब्रेनडेथ हो।
मष्तिष्कले ग्रहण गर्ने र प्रतिक्रिया दिने कार्यमा अपरिवर्तनीय क्षति भएमा ब्रेनडेथ भएको भनी बुझ्नुपर्छ। ब्रेनडेथ भएको निर्क्योल चिकित्सकहरूले गर्नुपर्छ। स्टीममा कुनै प्रतिक्रिया नभएको, बिरामीको शरीरमा प्राकृतिक रुपमा श्वासप्रश्वास नभएमा चिकित्सकले परीक्षण गरी ब्रेनडेथको घोषणा गर्न सक्छन् ।
ब्रेनडेथ भएको कति समयसम्म अन्य अंगले काम गर्छ ?
ब्रेनडेथ भएपछि पनि शरीरमा मुटु, फोक्सो, कलेजो, मिर्गाैला केहीसमयसम्म चलिरहन्छन् । किनभने शरीरमा रक्तसञ्चार भइरहेको हुन्छ । फोक्सोलाई भेन्लिेटरमा राखेर चलाइरहेको हुन्छ भने मुटुको चाललाई चलाउन औषधी दिइएको हुन्छ। मष्तिष्क मृत्यु भएपछि अरु अंगहरुमा बिस्तारै क्षति पुग्छ । त्यसैले जतिसक्दो चाँडो अंगदानको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । जति ढिला हुन्छ उत्तिनै अंगहरु खराब हुँदै जान्छन् ।
अंग निकालेपछि आइस बक्समा राख्नुपर्छ । समयमै निकालिएको अंगहरुमध्ये २४ घण्टाभित्र मिर्गाैला, १० देखि १२ घण्टाभित्र कलेजो र प्यांक्रियाज तथा ४ देखि ६ घण्टासम्म मुटु र फोक्सोको प्रत्यारोपण गरिसक्नु पर्छ।
नेपालमा ब्रेनडेथ पछिको अंग प्रयोगबारे कस्तो बुझाई छ ?
(ब्रेनडेथ)पछि गरिने अंगदान सम्बन्धी जनचेतना जनजनमा पुग्न सकेको छैन । ३/४ वर्ष अगाडि ब्रेनडेथ भएकाको अंगदानलाई प्रोत्साहित गर्न जुन लहर चलेको थियो अहिले निराशाजनक छ । यसबारे बुझ्ने, बुझाउने, सोधखोज गर्ने, ब्रेनडेथ भएका व्यक्तिहरुको अंग लिनका लागि नाम लेखाउने धेरै थिए तर अहिले जनचेतनाका कार्यक्रम ठप्प हुँदा यो व्यवस्था ओझेलमा परेको छ।
नेता, कलाकार, समाजसेवी, पत्रकार लगायतले ब्रेनडेथ भएपछि मेरो अंग दान गर्नेछु भनेर मञ्जुरी नामा दिन उत्सुक हुन्थे । अहिले त्यो रौनक छैन । यसो हुनुमा कोभिड त छँदैछ ब्रेनडेथ सम्बन्धमा बनेको प्रावधानमा राजनीतिले पनि ठूलो असर गर्यो ।
अहिलेसम्म अंगदानका लागि कतिजना इच्छुक देखिए ?
जतिबेला ब्रेनडेथको अंगदानलाई प्राथमिकतामा राखियो त्यतिबेला करिब २५ सयजनाले मञ्जुरीनामा दिनुभएको थियो । मञ्जुरीनामा दिनेहरुमा पूर्वस्वास्थ्य मन्त्री, नेता, पत्रकार, कलाकार, समाजसेवी लगायत हुनुहुन्छ । अहिले वर्तमान स्वास्थ्यमन्त्री, मुख्यसचिव लगायतले अंगदानको घोषणा गरिसक्नुभएको छ ।
हालसम्म ब्रेनडेथ भएका कति जनाको अंगको प्रयोग भएको छ ?
मैले अगाडि पनि भनिसकेँ, ३/४ वर्षदेखि अंगदानलाई प्रोत्साहित गर्न केही कार्यक्रम हुन सकेनन् । हालसम्म ३ जना व्यक्तिको ६ वटा मिर्गाैला र एउटा कलेजो प्रत्यारोपण गरेका छौं । ब्रेनडेथ सम्बन्धी प्रावधान आएको ५ वर्षमा जम्मा ३ जनाको मात्रै अंगदान हुनु भनेको निकै दुख:द् हो । हामीले ब्रेनडेथ भएकाको अंगदानलाई निकै अगाडि लैजान सक्थ्यौँ र त्यहो हुन्थ्यो पनि दुर्भाग्य त्यसो हुन सकेन ।
अंग प्रत्यारोपण सम्बन्धी ऐनमा ब्रेनडेथ सम्बन्धी प्रावधान संसोधनसहित २०७२ को माघमा जारी भयो । २०७३ पुषमा प्रावधान लागू गर्न नियमावली बन्यो । नियमावली आएको ३ महिनापछि ब्रेनडेथ भएका व्यक्तिको २ वटा मिर्गाैला जीवित व्यत्तिको शरीरमा राखेका थियौं ।
नेपालमा अंगदानको आवश्यक कति छ?
नेपालमा कलेजो तथा मिर्गाैला रोगका बिरामीको संख्या बढ्दो छ । अस्पतालहरुको तथ्यांक हेर्दा वर्षेनी झण्डै ३ हजार जनाको मिर्गाैला र १ हजारको कलेजो फेल हुने गरेको छ । अंग प्रत्यारोपण गर्न नमिल्ने रोग भएका केही व्यक्तिलाई बाहेक मिर्गाैला फेल भएका अधिकांशलाई प्रत्यारोपण गर्नैपर्ने हुन्छ । तर वर्षमा करिब २५० जनाको मिर्गाैला र ५ जनाको मात्रै कलेजो प्रत्यारोपण हुने गरेको छ ।
अंग प्रत्यारोपणको आवश्यकता र आपूर्तिबीचको ठूलो खाडल देखिन्छ । यसको मुख्य कारण अंगदाता नपाउनु नै हो । यो अवस्थामा हामीले अंगदानबारे बुझाएर यसलाई प्रोत्साहित गर्न सके प्रत्यारोपणको विकल्प नभएका बिरामीलाई अमृतसरह हुन्छ ।
त्यसैले नेपालजस्तो देशमा ब्रेनडेथबाट हुने अंग दानको महत्व धेरै छ । विकसित मुलुकमा हुने कुल प्रत्यारोपणको ८० प्रतिशत बढी अंग ब्रेनडेथ भएका व्यक्तिहरुबाट प्राप्त हुन्छ । सडक दुर्घटना त्यहाँ पनि हुन्छ तर यहाँ त्यहाँको तुलनामा अझ बढी हुन्छ । नेपालमा वर्षेनी दुर्घटना वा अन्य कुनै रोगका कारण २ हजार भन्दा बढीको ब्रेनडेथ हुने गरेको छ ।
एक जना ब्रेनडेथ भएको व्यक्तिको ८ वटा अंग जीवित शरीरमा प्रयोग गर्न सकिन्छ । खेर जाने ती अंगहरुबाट ८ जनाको जीवन बचाउन सकिन्छ । ब्रेथडेथ भएका व्यक्तिको २ वटा मिर्गाैला, २ वटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्याक्रियाज गरी ८ वटा अंग जीवित शरीरमा प्रत्यारोपण गर्न सकिन्छ ।
नेपालमा भने अहिले मिर्गाैला र कलेजो मात्रै प्रयोग गर्न सकिने अवस्था छ । १ हजार ब्रेनडेथ भएका व्यक्तिको २ हजार वटा मिर्गाैला र १ हजार कलेजो गरी मिर्गाैला र कलेजोका ३ हजार बिरामीको ज्यान जोगिने थियो ।
ब्रेनडेथ भएका व्यक्तिको अंग निकालेर जीवित शरीरमा राख्न कत्तिको जोखिम हुन्छ ?
स्वस्थ व्यक्तिको अंग निकालेर प्रत्यारोपण गर्नुभन्दा ब्रेनडेथ भएका व्यक्तिको अंग निकाल्नु चुनौती र जोखिमका हिसाबले निकै सहज हुन्छ।
कलेजो प्रत्यारोपण गर्दा कलेजोको आधा भाग काटेर अर्काे व्यक्तिको शरीरमा राख्नुपर्ने हुँदा मिर्गाैलाको तुलनामा कलेजो प्रत्यारोपण निकै जोखिमपूर्ण छ । त्यसैले कलेजो प्रत्यारोपणमा ब्रेनडेथ भएका व्यक्तिको अंग प्रयोग गर्नु सुरक्षित र लाभदायक हुन्छ ।
ब्रेनडेथ भएका व्यक्तिको अंग प्रयोग हुन सके स्वस्थ व्यक्तिको अंग निकाल्न नपर्ने, अंगदानका क्रममा हुने जोखिमको अन्त्य हुन्छ । ब्रेनडेथ व्यक्तिको खेर जाने अंगलाई बिना कुनै हानी उपयोग गर्न सकिन्छ । मृत्यु भइसकेका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिको शरीरमा बाँचिरहेको हुन्छ । यो जस्तो पुण्यको काम अरु के हुन सक्ला ? त्यसैले सबैले अंगदान गर्न प्रतिवद्धता जनाउनुपर्छ, अंगदान गर्ने चलन बसाल्नुपर्छ ।
अंगदान जति हुनपर्ने थियो, त्यति किन भइरहेको छैन ?
अंग अरु व्यक्तिलाई दिनका लागि पहिला नै अंगदानको घोषणा गरेको हुनुपर्छ या निजको नजिकको नातेदार वा आफन्तले बिरामीको ब्रेनडेथ भएपछि अंगदान गर्न मञ्जुरी दिएको हुनुपर्छ । यी दुईमध्ये एक अवस्थामा मात्रै ब्रेनडेथ व्यक्तिको अंग प्रयोग गर्न सकिन्छ ।
नेपालमा अंगदानबारे जनचेतना हुनसकेको छैन । अर्काे कुरा, चिकित्सकीय जनशक्तिमा पनि अंगदानबारे व्यवहारिक ज्ञानको कमी छ ।
ऐनले ब्रेनडेथ भएका व्यक्तिको अंग लिने सम्बन्धमा समन्वय गर्न शहीद धर्मभक्त अस्पताललाई समन्वय इकाइ तोकेको छ । यसलाई अझ यसरी स्पष्ट पारौं, मानौ कुनै अस्पतालमा उपचाररत बिरामीको ब्रेनडेथ भयो भने उक्त अस्पतालले समन्वय इकाइलाई यसबारे जानकारी गराउनुपर्ने हुन्छ ।
बिरामीको परिवारलाई परामर्श गर्ने, ब्रेनडेथ भएको व्यक्तिको अंग प्रयोग गर्न मिल्ने/नमिल्ने जाँच गर्ने जिम्मा बिरामी रहेको अस्पतालको हुन आउँछ ।
उक्त अस्पताल अंग निकाल्न सक्षम छ भने सोही अस्पतालले पनि अंग निकाल्न सक्छ । प्रत्यारोपणको सुविधा भएको अस्पतालमा बिरामीको ब्रेनडेथ भएको छ भने त्यही अस्पतालमा अंगप्रत्यारोपण गर्न हामी प्रोत्साहित गर्छाै । यदि सो अस्पतालमा हुन नसक्ने भए प्राविधिक टोली पठाउछौँ ।
अस्पताल तथा चिकित्सकलाई मेरो अनुरोध के छ भने-यदि बिरामीको ब्रेनडेथ भएमा निजको परिवारलाई अंगदानबारे सम्झाउनुहोला। बिना संकोच यसबारे समन्वय इकाइमा खबर गरिदिनुहोला । यहाँ पारदर्शी रुपमा काम हुन्छ । साथै अंग ग्रहणकर्ताले पनि आफू ब्रेनडेथ व्यक्तिको अंग लिन तयार रहेको भनी नाम टिपाउनुहोला ।
ब्रेनडेथ व्यक्तिको अंग निकाल्न अस्पतालमा कस्ता पूर्वाधार र जनशक्ति चाहिन्छ ?
सर्वप्रथम अंग प्रत्यारोपणका लागि इजाजतप्राप्त अस्पताल र जनशक्ति हुनपर्छ । जीवित व्यक्तिको अंग प्रत्यारोपण गरेको विशेषज्ञ या प्राविधिकलाई ब्रेनडेथ भएका व्यक्तिको अंग निकाल्ने अनुभव नहुन पनि सक्छ । त्यसैले उक्त कार्य गर्न सक्षम हुनपर्छ । त्यसैले जीवित व्यक्तिको अंग प्रत्यारोपण गर्ने अस्पताल र जनशक्तिले ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न तालिम लिन जरुरी छ ।
ब्रेनडेथ भएका व्यक्तिको अंग क - कसले पाउँछन् ?
ब्रेनडेथ भएका व्यक्तिको अंग सबैले पाउँदैनन् । सर्वप्रथम ब्रेनडेथ भएका व्यक्तिको अंग आफ्नो अंगसँग म्याच हुनुपर्यो । आफू सो अंग लिन तयार रहेको भनी बिरामीले उपचाररत अस्पतालमा मञ्जुरीनामा दिनुपर्दछ ।
त्यसरी मञ्जुरीनामा दिएका व्यक्तिहरूमध्ये पनि सबैभन्दा बढी समय अंगको पर्खाइमा बसेको, डाइलाइसिस धेरै समयदेखि गरिरहेको, ब्रेनडेथ भएका व्यक्ति र लिने व्यक्तिको उमेर समान भएमा अंग लिने व्यक्ति र ब्रेनडेथ भएका व्यक्तिको अंगको म्याचिङ राम्रो भएमा र ब्रेनडेथ भएका व्यक्ति महिला वा पुरुष जो भएपनि महिला पहिलो प्राथमिकतामा पर्नेछ भनेर नियमावलीमा प्राथमिकता निर्धारण गरिएको छ ।
अंग प्रत्यारोपणमा लैंगिक विभेदको अवस्था विकराल छ । अंगदानमा महिलाको प्रयोग गर्ने तर अंग ग्रहण गर्न पुरुषको बाहुल्यता धेरै छ ।
स्वस्थ व्यक्तिले दिने अंगदानमा ८० प्रतिशत दाता महिला हुन्छन् तर महिलालाई आवश्यक परे अंग दिइँदैन ।
यो अवस्थालाई मध्यनजर गरेर अंग प्रत्यारोपण सम्बन्धी ऐनमा ब्रेनडेथ भएका व्यक्तिको अंग प्राप्त गर्नेबारे महिलालाई प्राथमिकतामा राखिएको थियो ।
तर केही समय अगाडि उक्त नियमावली संसोधन गरी महिलाले पाउने अधिकारलाई कटौती गरी नयाँ नियमावली ल्याइएको छ । महिलाले अंग पाउन नसक्ने गरी नियमावली संसोधन गरिएको छ । ब्रेनडेथबाट पाएको अंग महिलालाई ३ गुणा बढी दिनसक्ने गरी नियमावली बनाइएको थियो । त्यसैले हामी फेरि उक्त नियमावली संसोधन गरी महिलालाई प्राथमिकतामा राख्ने कोसिस गरिरहेका छौँ ।
हेल्थपाटी 
तपाईँको अभिमत