स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल
स्वास्थ्य बीमा सुधारलाई प्राथमिकता दिने
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
नियुक्तिपश्चात् उहाँले आजै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदबहाली गर्नुभएको छ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट हुनुभएका डा. प्याकुरेल स्वास्थ्य बीमा कार्यक्रमको प्रारम्भदेखि नै यसको विस्तार, सुदृढीकरण तथा प्रभावकारी कार्यान्वयनका पक्षमा निरन्तर अध्ययन, अनुसन्धान, लेखन र नीतिगत वकालत गर्दै आउनुभएको व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
उहाँले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार, स्वास्थ्य बीमा प्रणालीलाई पारदर्शी, उत्तरदायी र दिगो बनाउने तथा सेवाग्राहीमैत्री व्यवस्थापनका विषयमा लामो समयदेखि आवाज उठाउँदै आउनुभएको छ। स्वास्थ्य क्षेत्र सुधारसँग सम्बन्धित विभिन्न नीतिगत बहस र अध्ययनमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ।
पदबहालीपछि अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने गरी सुधारका कामलाई अघि बढाइने बताउनुभयो। उहाँले स्वास्थ्य बीमा प्रणालीलाई थप प्रभावकारी, गुणस्तरीय, पारदर्शी र दिगो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने उल्लेख गर्नुभयो।
उहाँले बीमित नागरिकले सहज र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण, सेवा प्रवाहमा देखिएका समस्या समाधान, दाबी भुक्तानी प्रक्रियालाई थप व्यवस्थित बनाउने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थासँगको समन्वय सुदृढ गर्ने तथा स्वास्थ्य बीमा कार्यक्रमको दायरा र प्रभावकारिता विस्तार गर्न विशेष जोड दिइने बताउनुभयो ।
अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्दै नागरिकको विश्वास जित्ने गरी बोर्डले सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत