ब्रेनडेथ भएका व्यक्तिको अङ्ग लिन बुझाउँदा-बुझाउँदै हैरान
अस्पतालले दिँदै दिँदैनन् ब्रेनडेथको जानकारी
मानव शरीरको अंग प्रत्यारोपणको (नियमित तथा निषेध) ऐन २०५५ पहिलो संशोधनपछि, अंगदाताको दायरा फराकिलो मात्रै भएन मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने नयाँ व्यवस्था आयो ।
अंग अभावमा प्रत्यारोपण गर्न नसकिरहेका बिरामीलाई ऐन संशोधनपछि ठूलो राहत मिल्याे । ऐनको सुरुको व्यवस्थामा परिवारका १८ सदस्य मात्रै अंगदातामा पर्दथे । संशोधनपछि दाताको दायरा बढेर ५१ पुग्याे।
ब्रेनडेथपछि अंग अर्काे व्यक्तिमा प्रत्यारोपण गर्न सकिने व्यवस्था नेपाल जस्तो दुर्घटना धेरै हुने देशका लागि अतिआवश्यक र उपयोगी थियो । मस्तिष्क मृत्यु सम्बन्धी कानून बनेको ६ वर्ष बितिसक्दा अहिलेसम्म जम्मा ५ जना ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग गर्न सकिएको छ ।
ब्रेनडेथ भएका ५ जना व्यक्तिको अंगबाट १० जनाको मिर्गाैला र ३ जनाको कलेजो प्रत्यारोपण भएको छ । यो संख्या नेपालमा हुने ब्रेन डेथको तथ्यांकको अनुपातमा नगन्य हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका अनुसार ब्रेनडेथ भएका ५ जना व्यक्तिको अंगबाट १० जनाको मिर्गाैला र ३ जनाको कलेजो प्रत्यारोपण भएको छ । यो संख्या नेपालमा हुने ब्रेन डेथको तथ्यांकको अनुपातमा नगन्य हो ।
दुर्घटना, मस्तिष्क पक्षघात वा अन्य कुनै रोगका कारण नेपालमा वर्षेनी २ हजार भन्दा बढीको ब्रेन डेथ हुने गरेको आँकलन छ। काठमाडौं उपत्यकामा मात्रै १ हजारभन्दा बढीको ब्रेन डेथ हुने गर्छ ।
मस्तिष्क मृत्यु भन्नाले (मस्तिष्क स्टेम)को मृत्यु अर्थात् मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा अप्रत्यावर्तनीय क्षति भएको अवस्थालाई बुझाउँछ ।
मस्तिष्क मृत्यु भएपछि मस्तिष्कको क्रियाकलाप पुनः काममा आउन नसक्ने गरी पूर्णरुपमा क्षति हुन्छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ब्रेन डेथ भएका व्यक्ति कुनैपनि हालतमा फर्कन सक्दैनन् । त्यस्ता व्यक्तिहरूको अंग अन्य व्यक्तिमा प्रयोग गर्नसके हजारौं नेपालीले नयाँ जीवन पाउने डा.पुकार बताउनुहुन्छ ।
ब्रेन डेथ भएका सबैको अंग प्रत्यारोपण गर्न मिल्दैन । 'ब्रेन डेथ भएकामध्ये ५० प्रतिशतको अंग उपयोग गर्नसके मात्रै पनि १ हजार जनाको अंगबाट २ हजार जनाको मिर्गाैला, ५०० जनाको कलेजो प्रत्यारोपण गर्न सकिने थियाे' कार्यकारी निर्देशक डा.श्रेष्ठ भन्नुहुन्छ, ' केहीको मुटु, आमाशय र सानो आन्द्राको प्रत्यारोपण गर्न सकिन्छ ।'
समन्वय इकाइ
ऐनमा बिरामीको मस्तिष्क मृत्युको घोषणा गरेपछि अस्पताल वा स्वास्थ्य केन्द्रले ब्रेनडेथबारे समन्वय इकाइलाई तुरुन्तै जानकारी गराउनुपर्ने व्यवस्था छ । मस्तिष्क मृत्युको घोषणा भएका व्यक्तिको अंग झिक्ने, झिकेका अंगलाई सुरक्षित रुपमा राख्ने, अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अंगलाई तोकिए बमोजिमको प्राथमिकताक्रम वितरण गर्ने व्यवस्था मिलाउन सरकारले राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई समन्वय इकाइ तोकेको छ ।
अस्पतालहरुले ब्रेनडेथ सम्बन्धमा इकाइलाई खासै जानकारी गराएका छैनन् । सरकारी अस्पतालले यसबारे चासो नदेखाएको पाइयो ।
६ वर्षमा इकाइलाई जम्मा २५ जनाको ब्रेन डेथ भएको जानकारी प्राप्त भएको छ ।
अस्पतालहरुले ब्रेनडेथ सम्बन्धमा इकाइलाई खासै जानकारी गराएका छैनन् । सरकारी अस्पतालले यसबारे चासो नदेखाएको पाइयो ।
६ वर्षमा इकाइलाई जम्मा २५ जनाको ब्रेन डेथ भएको जानकारी प्राप्त भएको छ । यसमध्ये ब्रेनडेथ भएका ५ जनाको अंग प्रत्यारोपण भएको हो ।
ब्रेनडेथको तथ्यांकलाई आधार मान्दा ६ वर्षको बीचमा १२ हजारजना भन्दा बढीको ब्रेन डेथ भएको छ । ब्रेनडेथका २५ केसको मात्रै इकाइमा जानकारी हुनुले ब्रेन डेथपछिको अंगदान अभियानमा अस्पतालहरु नै चुकेको देखिन्छ ।
केन्द्रका निर्देशक डा.श्रेष्ठका अनुसार इकाइमा प्राप्त ब्रेनडेथ केसमध्ये अधिकांशमा परिवारका सदस्यले अंगदान गर्न मानेनन् । केहीमा अस्पताल व्यवस्थापनले चासो देखाएनन् ।
हालसम्म काठमाडाै उपत्यकाका १३ वटा अस्पतालले आफ्नाे अस्पतालमा उपचाररत बिरामीकाे ब्रेन डेथ भएकाे जानकारी इकाइलाई गराएका छन् ।
शिक्षण अस्पताल महराजगञ्ज, न्यूराे हस्पिटल, नर्भिक इन्टरनेशनल लगायतका ठूला अस्पतालले ब्रेनडेथबारे जानकारी गराएका छैनन् ।
हालसम्म कोरियामैत्री अस्पताल, कान्तिपुर हस्पिटल, गणेशमान सिंह मेमोरियल अस्पताल, मध्यपुर हस्पिटल र अन्नपूर्ण न्यूरो हस्पिटलमा ब्रेन डेथ भएका व्यक्तिकाे अंग जीवित व्यक्तिमा प्रत्यारोपण गरिएको छ ।
काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, वीर अस्पताल, ट्रमा सेन्टर, निदान, पाटन अस्पताल, मेडिकेयर हस्पिटल, नेपाल मेडिसिटी हस्पिटलले ब्रेनडेथको सूचना दिएपनि अंग प्रत्यारोपण गर्न सकिएन ।
डा.श्रेष्ठ ब्रेनडेथ भएका व्यक्तिको अंग अपेक्षाकृत रुपमा उपयोग गर्न नसक्नुमा ३ वटा समस्या औंल्याउनुहुन्छ । पहिलो नम्बरमा मस्तिष्क मृत्यु भएपछि पनि अंगदान गर्न सकिन्छ भन्ने नै सर्वसाधरणलाई थाहा छैन ।
मस्तिष्क मृत्युपछि बिरामीको परिवारलाई अंगदानबारे बुझाउनै हम्मे पर्छ । दुःखको घडीमा अंग निकाल्ने कुरा गर्यो भन्ने मानसिकता बिरामीका आफन्तमा हुन्छ ।
उनीहरु अंगदानमा राजी भइहाले प्रक्रियागत व्यवस्थापनमा कठिनाइ हुने गरेकाे डा.पुकार बताउनुहुन्छ । बल्लबल्ल बिरामीका आफन्तलाई सम्झायो बुझायो प्रहरी, पोष्टमार्टम गर्ने डाक्टरलाई बुझाउनै फेरि घण्टौं बित्छ । ब्रेन डेथपछि अंगदानमा कानूनी र व्यवहारीक समस्या भइरहेको उहाँले बताउनुभयो ।
धेरैजसो मस्तिष्क मृत्यु सडक दुर्घटनामा परेकाहरू कै हुन्छ । सडक दुर्घटना हुँदा पुलिस केस हुन्छ, पोष्टमार्टम गर्नुपर्ने हुन्छ । ब्रेन डेथ भएका व्यक्तिको शरीरबाट अंग निकालेपछि पनि पोष्टमार्टम गर्न मिल्छ भन्नेमा पोष्टमार्टम गर्ने डाक्टर विस्वस्त हुनपर्छ ।
प्रहरी र पोष्टमार्टम गर्ने डाक्टरलाई ब्रेनडेथ केसबारे थाहै हुँदैन। उनीहरुलाई पटकैपिच्छे समन्वय एकाइले ऐन, नियमका कागजात देखाउन बुझाउनपर्ने अवस्था छ ।
त्यसैगरी अंग झिकेपछि अनुसन्धानमा फरक पर्दैन भन्नेमा प्रहरी विस्वस्त हुनपर्छ । तर प्रहरी र पोष्टमार्टम गर्ने डाक्टरलाई ब्रेनडेथ केसबारे थाहै हुँदैन। उनीहरुलाई पटकैपिच्छे समन्वय एकाइले ऐन, नियमका कागजात देखाउन बुझाउनपर्ने अवस्था छ ।
दुर्घटनाबाट मृतकको मस्तिष्क मृत्यु भएको कुरामा विश्वस्त हुन पोष्टमार्टम गर्नु पहिले अंग झिक्ने स्वीकृति दिन एक जाँचबुझ समिति गठन गर्नुपर्ने व्यवस्था मानव शरीरको अंग प्रत्यारोपण( नियमित तथा निषेध) नियमावली, २०७३ ले गरेको छ ।
उक्त समितिमा सम्बन्धित अस्पताल प्रमुखले तोकेको अधिकृतस्तरको कर्मचारी (संयोजक), समन्वय इकाइले तोकेको पोष्टमार्टम सम्बन्धी विशेषज्ञ चिकित्सक र जिल्ला प्रहरी कार्यालयले तोकेको अधिकृतस्तरको प्रहरी सदस्य रहन्छन् ।
प्रक्रियागत व्यवस्थापनमै घण्टौं समय बित्दा अंग निकाल्ने र प्रत्यारोपण गर्ने समय घर्किसक्छ । जति चाँडो अंग प्रत्यारोपण गर्नसक्यो उति नै नतिजा राम्रो आउछ । ब्रेनडेथ सम्बन्धमा भएका नियम तथा व्यवस्थाबारे प्रहरी, पोष्टमार्टम डाक्टरले बुझिदिए व्यवस्थापनमा धेरै समय खर्चन पर्दैन थियाे कि भन्ने डा. श्रेष्ठलाई लाग्छ।
मञ्जुरीनामा
कुनै व्यक्तिले मृत्युपश्चात अंगदानको घोषणा गरी मञ्जुरीनामा दिएको वा मृतकको मञ्जुरीनामा नभएको अवस्थामा परिवारको कुनै सदस्यले मृतकको शरीरको अंग झिक्न मञ्जुरी दिएको अवस्थामा मात्रै अंग प्रत्यारोपण गर्न सकिने मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ । केन्द्रका अनुसार अहिलेसम्म २१०० जनाले मात्रै मृत्युपश्चात अंगदानको मञ्जुरी दिएका छन् ।
ब्रेन डेथ भएका व्यक्तिको अंग वितरणको व्यवस्था
ब्रेन डेथ भएका व्यक्तिको अंग सबैले पाउँदैनन् । सर्वप्रथम ब्रेन डेथ भएका व्यक्तिको अंग आफ्नो अंगसँग म्याच भएमा आफू सो अंग लिन तयार रहेको भनी बिरामीले उपचाररत अस्पतालमा मञ्जुरीनामा दिनुपर्दछ ।
त्यसरी मञ्जुरीनामा दिएका व्यक्तिहरूमध्ये पनि सबैभन्दा बढी समय अंगको पर्खाइमा बसेको, डाइलाइसिस धेरै समयदेखि गरिरहेको व्यक्ति हुनपर्छ । साथै ब्रेन डेथ भएका व्यक्ति र लिने व्यक्तिको उमेर समान भएमा अंग लिने व्यक्ति र ब्रेन डेथ भएका व्यक्तिको अंगको म्याचिङ राम्रो भएमा र ब्रेन डेथ भएका व्यक्ति महिला वा पुरुष जो भएपनि महिला पहिलो प्राथमिकतामा पर्नेछ भनेर नियमावलीमा प्राथमिकता निर्धारण गरिएको छ ।
अहिलेसम्म नेपालमा भएका मिर्गाैला तथा कलेजो प्रत्यारोपणमा अंग दिने व्यक्तिहरू धेरै महिला रहेको तर महिलालाई अंग दिने संख्या न्यून रहेकाले उनीहरुको जीवन जोगाउन महिलालाई प्राथमिकतामा राखिएको श्रेष्ठ बताउनुहुन्छ ।
ब्रेन डेथ भएको कति समयसम्म अंग प्रयोग गर्न सकिन्छ ?
ब्रेनले काम नगर्ने भएपछि शरीरका अरु अंगहरूले पनि बिस्तारै काम गर्न छाड्छन् । चिकित्सकले बिरामीलाई ब्रेन डेथ भएको घोषणा गरेपछि जतिसक्दो छिटो त्यस्ता व्यक्तिको अंग निकालिहाल्नुपर्छ ।
अंग निकालेपछि आइस बक्समा राख्नुपर्छ । अंग निकालिसकेपछि मिर्गाैला २४ घण्टा, कलेजो र आमाशय १० देखि १२ घण्टा, मुटु तथा फोक्सो ४ देखि ६ घण्टाभित्र अर्काे जिवित शरीरमा प्रयोग गर्नुपर्छ ।
ब्रेन डेथ भएका व्यक्तिहरूको अन्य अंगहरूले केही समय (अत्यन्तै कम समय) काम गरिरहेका हुन्छन् । बिस्तारै–बिस्तारै अरु अंगको गुणस्तर खराब हुँदै जान्छ। ब्रेनले काम नगर्ने भएपछि शरीरका अरु अंगहरूले पनि बिस्तारै काम गर्न छाड्छन् । जतिसक्दो चाँडो अंग प्रत्यारोपण गर्नसक्यो उतिनै नतिजा राम्रो आउँछ।
एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट २ वटा मिर्गाैला, २ वटा फोक्सो, १ वटा कलेजो, १ वटा मुटु, १ वटा प्याङक्रियाज र १ सानो आन्द्रा गरी ८ वटा अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।
रकम उपलब्ध गराउन सक्ने
ऐनले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपणपछि मृत्युको घोषणा गर्ने अस्पताल वा स्वास्थ्य केन्द्र, अंग प्रत्यारोपण गर्ने स्वास्थ्य संस्था र मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको परिवारको सदस्यलाई सरकारले तोकिए बमोजिमको रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार राष्ट्रिय प्रत्यारोपण केन्द्रले संस्थालाई ५० हजार र बिरामीलाई मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको परिवारको सदस्यलाई १ लाख उपलब्ध गराइरहेको छ ।
नेपालमा अंग प्रत्यारोपण
नेपालमा मानव शरीरको अंग प्रत्यारोपणको (नियमित तथा निषेध) ऐन २०५५ लाई कार्यान्वयन गर्न ऐन जारी भएको ३ वर्षपछि मिर्गाैला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली जारी भयो ।
नियमावली जारी भएको ८ वर्षपछि २०६५ सालबाट मिर्गाैला प्रत्यारोपण सुरु भयो । कलेजो प्रत्यारोपण भने २०७३ मंसीरदेखि सुरु भयो ।
तपाईँको अभिमत