मेडिकल काउन्सिलबाट १३९ जना चिकित्सकको नाम हट्यो (सूचीसहित)
नेपाल मेडिकल काउन्सिलले दर्ता भएकामध्ये १३९ जना डाक्टरको नाम हटाएको छ । काउन्सिलले नाम हटाइएका चिकित्सकहरुको विवरण आफ्नो वेवसाइटमा नाम प्रकाशित गरेको छ ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले नेपाल मेडिकल काउन्सिल ऐन २०२०को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता अभिलेख अध्यावधिक गर्ने क्रममा हालसम्म १३९ जनाको नाम हटाइएको जानकारी दिनुभयो । उहाँले अध्यावधिक प्रक्रृया निरन्तर चल्दै जाने भएकाले यो संख्या बढ्दै जाने बताउनुभयो ।
नाम हटाइएका चिकित्सकमध्ये १३७ जनाको मृत्यु भइसकेको र एक जना गलत कागजात पेश गरेको र अर्का एक जना निष्काशित डाक्टर रहेका छन् । समय समयमा नाम दर्ता भएका चिकित्सकहरुको नाम,ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाउनपर्ने चिकित्सकहरुको अध्यावधिक गर्नपर्ने व्यवस्था ऐनमा छ ।
सोही ऐनको व्यवस्था अनुसार काउन्सिलले गत असार ३ गते अध्यावधिकका लागि सूचना जारी गरेको थियो । सूचना निकालेको ४ महिनामा १८ हजारभन्दा बढीले आफ्नो विवरण पेश गरेका छन् । तर काउन्सिलमा करीब ३० हजार डाक्टरको दर्ता छन् । उक्त सूचना निकालेपछि अध्यावधिक चलिरहेको छ ।
सूचना निकालेको एक महिनाभित्र विवरण नबुझाए काउन्सिलले ती चिकित्सकहरुलाई सचेत गराउँदै फेरि ३ महिनाको म्याद दिएर विवरण वुझाउन पत्र काट्छ । त्यो ३ महिनामा पनि सम्पर्कमा नआए फेरि अर्को ३ महिनाको समय दिन्छ । दोस्रो पटकको थप गरिएको ३ महिनामा पनि कुनै जानकारी नआए रजिष्ट्रारले काउन्सिलको दर्ता किताबबाट त्यस्ता चिकित्सकहरुको नाम हटाउन सक्ने व्यवस्था ऐनमा छ । नाम हटाइएका चिकित्सकहरुको विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।
हेल्थपाटी 
तपाईँको अभिमत