काउन्सिलसँगै छैन डाक्टरको यथेष्ट विवरण,बल्ल अध्यावधिक गर्दै
विवरण भद्रगोल रहेको महसुस भएपछि व्यवस्थित बनाउन लागिरहेको छु ।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० अन्तर्गत जन्मिएको काउन्सिल स्थापनाकालको बीचमा काउन्सिलमा २८ हजार ४७७ जना चिकित्सक दर्ता भएका छन् । जसमा १७ हजार ९९५ पुरुष र १० हजार ४८२ महिला चिकित्सक छन् ।
६७ वटा विभिन्न विधामा विशेषज्ञता हासिल गरेका ८ हजार ३१५ जना चिकित्सक काउन्सिलमा दर्ता छन् । तर को चिकित्सक कुन विधाको भन्ने यथेष्ट विवरण काउन्सिलसँग छैन । दर्तावाल चिकित्सकको नाम, ठेगाना छ तर उनीहरु कुन विधाको विशेषज्ञ हुन् भन्ने एकीन विवरण काउन्सिलसँग छैन । जसका कारण चिकित्सकको परिचालन तथा व्यवस्थापनका लागि सरकारी निकायलाई योजना बनाउन हम्मे हम्मे परेपछि काउन्सिल अहिले ५८ वर्षपछि बल्ल सम्पूर्ण चिकित्सकको अध्यावधिकमा जुटेको छ । यसै सन्दर्भमा हामीले रजिष्टार डा.कृष्णप्रसाद अधिकारीलाई पहिलो प्रश्न सोधेका थियौं चिकित्सकको विवरण राख्ने काम काउन्सिलको होइन ?
डा.अधिकारीको जवाफ : हो । सबै चिकित्सकहरुको विवरण राख्ने काम काउन्सिलकै हो । अहिले हामी त्यही विवरण भेरिफाइ गर्दै चिकित्सक दर्ता अभिलेख अध्यावधिकमा छौं ।
२०२० मा स्थापित काउन्सिलसँग चिकित्सकको विवरण यथेष्ठ नहुनु लज्जास्पद होइन ?
काउन्सिलमा म रजिष्टार भएर आउनु अगाडि के-के भयो त्यो मलाई थाहा भएन । विवरण भद्रगोल रहेको महसुस भएपछि व्यवस्थित बनाउन लागिरहेको छु । त्यसका लागि मैले दर्ता अभिलेख अध्यावधिकको लागि एक महिना अगाडि नै सूचना निकालेर सोही अनुसार काम अगाडि बढाएको अवस्था हो ।
काउन्सिलले अध्यावधिक गर्न आवश्यक नठानेको कि चिकित्सकले नै विवरण दिएनन् ?
देशभरको चिकित्सकहरुको योग्यतालाई व्यवस्थित गर्न र आधुनिक औषधिको वैज्ञानिक ढंगले प्रयोग गर्न आधुनिक औषधिमा योग्यता पुगेका चिकित्सकहरुको रजिष्ट्रेशन गर्ननै यो ऐन बनाइएको हो । जसमा मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत स्नातक गरेको तथा स्नातकोत्तर उपाधि डिग्री, डिप्लोमा प्राप्त गरेको एवं तोकिए बमोजिमको विशेषज्ञ तालिम प्राप्त गरि सो सम्बन्धी व्यवसायमा लागेका चिकित्सकहरुको दर्ता किताबमा दर्ता गर्नुपर्छ भनिएको छ । सोही अनुसार योग्यता पुगेका चिकित्सकहरुको दर्ता प्रमाणपत्र परिक्षा लिई दर्ता प्रमाणपत्र दिनुपर्छ काउन्सिलले । र, यो काम रजिष्टारले गर्दछ ।
यसको जवाफ अहिले ठ्याक्कै दिन सक्ने अवस्था छैन । किनभने दर्तावाल चिकित्सकको यथार्थ जानकारी काउन्सिलमा दुरुस्त छैन ।
नाम दर्ता गराउँदै चिकित्सकहरुले काउन्सिलले तोकेको उपाधी, शैक्षिक योग्यताको प्रमाणपत्र तथा कागजातहरु पेश गर्नुपर्ने हुन्छ । साथै, विदेशको कुनै मेडिकल काउन्सिल वा परिषद् वा सो सरहको संस्थाको दर्ता किताबमा निजको नाम दर्ता भएको छ भने सो दर्ता किताबमा दर्ता भएको चिकित्सकको योग्यता वा उपाधि, दर्ता नम्बर र मितिसमेत खोली त्यसको विवरणसम्म बुझाउनुपर्छ । तर केही चिकित्सकहरुले आफ्नो विवरण दिन आनाकानी गरिरहनु भएको छ ।
अहिले काउन्सिलमा दर्ता भएकामध्ये कति चिकित्सक सक्रिय छन् ?
यसको जवाफ अहिले ठ्याक्कै दिन सक्ने अवस्था छैन । किनभने दर्तावाल चिकित्सकको यथार्थ जानकारी काउन्सिलमा दुरुस्त छैन । दर्ता भएका केही चिकित्सकहरु दिवंगत हुनुभएको छ, केही देश बाहिर पनि हुनुहुन्छ होला । कोरोना महामारीमा नेपाल टेलिकमले दिएको निशुल्क भ्वाइस प्याक मोबाइल सेवाको सुविधा लिएका चिकित्सकहरुको तथ्यांक हेर्दा ११ हजार चिकित्सक सम्पर्कमा नआएको देखियो ।

वर्षौदेखि अध्यावधिक नहुँदा कस्ता समस्या आइलागे ?
अध्यावधिक महत्वपूर्ण छ । काउन्सिलको ऐन २०२० को दफा १३ को व्यवस्थाअनुसार समय समयमा दर्ता किताब दुरुस्त राख्नुपर्छ र यसका लागि दर्तावाल चिकित्सकको नाम,ठेगाना र योग्यतासहित दर्ता किताबमा दर्ता गर्ने काम रजिष्टारले गर्नुपर्छ । दिवंगत वा सदस्यताबाट नाम हटाउन पर्ने चिकित्सकहरुको नाम हटाउनुका साथै कुनै दर्तावाल चिकित्सकले आफ्नो व्यवसाय छाडे वा आफ्नो ठेगाना परिवर्तन गरेको हकमा स्वयम्ले एक महिनाभित्र रजिष्टारलाई जानकारी गराउनुपर्छ ।
चिकित्सकहरुको विवरण यथेष्ट नहुँदा सरकारी निकायलाई योजना बनाउन कठिनाई भइरहेको छ । यतिमात्र होइन विवरण नहुँदा काउन्सिलबाट प्रदान गरिने सेवा सुविधा तथा सर्तहरु जस्तै प्रारम्भिक दर्ता, स्थायी दर्ता, विशेषज्ञ दर्ता, फेलोसिप दर्ता, लाइसेन्स परिक्षा, विशेष परिक्षा, दर्ता प्रमाणपत्र, परिचय पत्र, असल चारित्रिक प्रमाणपत्र, प्रमाणपत्र रुजू अनलाइन मार्फत्नै गर्न सकिने हुँदापनि कुनै पनि आवेदनको लागि प्रमाणपत्र तथा फोटो पटकैपिच्छे अपलोड गर्नुपर्ने अवस्था छ जसले समय खेर जानुका साथै काम छरितो गर्न समस्या भइरहेको छ त्यसैले हामी सम्पूर्ण चिकित्सकहरुलाई भनिरहेका छौं अध्यावधिकमा सहयोग गर्नुहोस् ।
अर्को ३ महिनासम्म पनि केही सूचना नआए रजिष्टारले त्यस्ता चिकित्सकको नाम दर्ता किताबबाट हटाउँछ ।
कतिपय चिकित्सकहरु आफ्नो व्यवसाय वा ठेगाना बदलेर बसेको पनि पाइन्छ नी ?
त्यस्ता चिकित्सकहरुले रजिष्टारलाई एक महिनाभित्र आफुले व्यवसाय वा ठेगाना बद्लेको जानकारी गराउनुपर्छ । यदि यस्तो काम गरेको शंका लागेमा पनि रजिष्टारले दर्तावाल चिकित्सकको पुरानो ठेगानामा पत्र पठाउँछ । सो पत्र पुगेको ३ महिनासम्म पनि जवाफ नआए फेरि पनि रजिष्टारले त्यस्ता चिकित्सकको नाम प्रमुख समाचारपत्रद्वारा सूचित गराइ र अर्को ३ महिनासम्म पनि केही सूचना नआए रजिष्टारले त्यस्ता चिकित्सकको नाम दर्ता किताबबाट हटाउँछ ।
अनि विदेशमा बस्ने नेपाली डाक्टरकाे हकमा के हुन्छ ?
काउन्सिलमा दर्ता हुन नेपाली डाक्टर र विदेशी डाक्टरका लागि छुट्टा छुट्टै प्रावधान छन् । सबै विवरण आइसकेपछि हामी छानवीन गर्छाै । यदि छानविनका क्रममा नेपाली नागरिकता त्यागि विदेशमा वस्नु भएका डाक्टरहरुलाई नेपाली डाक्टरको नामबाट हटाउँछौ,उहाँहरुले चाहेमा फेरि विदेशी डाक्टरको प्रावधानसहित काउन्सिलमा दर्ता हुन सक्नुहुन्छ तर उहाँहरुको नाम विदेशी डाक्टरको सूचीमा दर्ता हुन्छ ।
काउन्सिलले अब कहिलेसम्म अध्यावधिकको काम सकाउँछ ?
काउन्सिलको वेवसाइटमा राखिएको दर्ता अभिलेख अध्यावधिक फारम साउन ४ गतेभित्र भर्न सबै चिकित्सकहरुलाई अनुरोध गरिएको छ । त्यसको एक महिनाभित्र सबै विवरण व्यवस्थित बनाउने गरि काम भइरहेको छ । काउन्सिलले यसरी दर्ता अभिलेख अध्यावधिक भएका चिकित्सकलाई सबै विवरण उल्लेख भएको नयाँ प्रमाणपत्र तथा दर्ता परिचयपत्र निशुल्क प्रदान गर्नेछ ।
तुलसा घिमिरे
तपाईँको अभिमत